काठमाडौंमा नयाँ बसपार्कबाट सार्वजनिक सवारी सञ्चालक गर्न महानगरको अल्टिमेटम


काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी सञ्चालन भइरहेका यात्रुवाहक सवारीसाधनलाई व्यवस्थित गर्न कडा कदम चालेको छ।

महानगरले लामो तथा छोटो दूरीका सबै सवारीसाधनलाई नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न ३ दिनको अन्तिम समयसीमा (डेडलाइन) दिएको छ।

गएको चैत २५ गते नै सार्वजनिक सूचना जारी गरी बसपार्कभित्रबाट एकीकृत रूपमा सेवा सञ्चालन गर्न आग्रह गरिए पनि कतिपय यातायात कम्पनीले त्यसको अवज्ञा गरेका थिए।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सूचनाको अटेर गर्ने कम्पनीहरूलाई अबको तीन दिनभित्र अनिवार्य रूपमा एकीकृत प्रणालीमा आउन निर्देशन दिएकी छन्।

यातायात व्यवस्थापन र सहरी सुरक्षालाई प्रभावकारी बनाउन महानगरले नेपाल प्रहरीसँग समन्वय गरी संयुक्त टोली परिचालन गर्ने भएको छ।

कार्यवाहक प्रमुख डङ्गोलले महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई प्रहरीसँग मिलेर एकीकृत कार्यप्रणाली तयार पार्न र कडा अनुगमन गर्न निर्देशन दिएकी छन्।

बसपार्क व्यवस्थापनसँगै महानगरले अन्य सहरी समस्यामा पनि चासो देखाएको छ। ठमेललगायतका क्षेत्रमा रात्रिकालीन व्यवसायबाट हुने ध्वनि प्रदूषण, स्पा केन्द्रहरूमा हुने अवाञ्छित क्रियाकलाप र होस्टेल सञ्चालनमा देखिएका समस्याबारे उजुरी परेको डङ्गोलले बताइन्।

‘महानगर र नेपाल प्रहरीले आ(आफ्नो क्षेत्राधिकारभित्र रहेर संयुक्त रूपमा अनुगमन गर्नेछन्, जसबाट व्यवस्थापनमा ठोस नतिजा देखिनेछ,’ उनले भनिन्।

अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले सहरी सुरक्षाका लागि जनशक्तिभन्दा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए।

त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडक सङ्केत र अनुशासन पालना गराउन महानगर र ट्राफिक प्रहरीबीच निरन्तर समन्वय आवश्यक रहेको बताए।

प्रहरीको तथ्याङ्कअनुसार काठमाडौंबाट दैनिक औसत ७०० वटा सार्वजनिक यातायातका साधन बाहिरिने गरेका छन्।

तर, तीमध्ये झन्डै ५० प्रतिशत (करिब ३५० वटा) सवारीसाधनले बसपार्क बाहिरै पार्किङ गर्ने र यात्रु चढाउनेरओराल्ने गरेको पाइएको छ। हाल नयाँ बसपार्कबाट दैनिक करिब ३४० वटा गाडी मात्र औपचारिक रूपमा आउजाउ गर्छन्।

नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ, जहाँ एकैपटक ७५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिने क्षमता छ। महानगरले यसै क्षमताको पूर्ण उपयोग गर्दै सडकको चाप घटाउने लक्ष्य राखेको छ।