सातामा दुई दिन बिदा : ओपीडीमा थेगिनसक्नु बिरामी, सेवा झनै भद्रगोल

0
Shares

बिहान ६ बज्दा नबज्दै अस्पतालको मुख्य गेट वरिपरि मानिसको भिड देखिन्छ । कसैले झोलामा औषधिका पुराना पर्चा बोकेका छन्, कसैले रिपोर्ट । कतिपय बिरामी आफन्तको काँध समातेर विस्तारै लाइनतर्फ बढिरहेका छन् ।

सबैको एउटै गन्तव्य छ– ओपिडी टिकट । टिकट काउन्टरमा कोचाकोच छ । अस्पताल परिसरमा बिरामी र आफन्त लामबद्ध छन् । दुई दिनको बिदापछि सोमबार बिहान वीर अस्पतालको ओपीडीमा देखिएको दृश्य हो । शनिबार र आइतबार बन्द भएपछि उपचारका लागि आएका बिरामीहरूको चाप सोमबार एकैपटक अस्पतालमा खनिन्छ ।टिकट काउन्टर खुल्नुअघि नै लामो लाइन लागिसकेको हुन्छ । कतिपय बिरामी बिहान झिसमिसेमै अस्पताल पुगिसेकका हुन्छन् । जनकपुरबाट आएका ३७ वर्षीय प्रमोद मुखियाले पुरानो फाइल देखाउँदै भने, ‘शरीर दुखेर बेहोस हुन्छु जस्तो भइसक्यो । आइतबार बन्द भएकाले देखाउन पाइएन ।

आज पनि घन्टौं कुर्नुपरेको छ ।’ भुइँमै बसिरहेका मुखियाको हात–खुट्टा सुन्निएका छन् । ठूलो स्वरले बोल्न सक्दैनन् । उनको साथमा जेठान सुरेन्द्रकुमार मुखिया र श्रीमती छन् । मुखियालाई तीन हप्ताअघि एक्कासि स्वास्थ्यमा समस्या देखियो । रगत नै बान्ता गर्न थाले । शरीर सुन्नियो । उनी जनकपुरको एक निजी अस्पताल पुगे । केही दिन उपचार चल्यो । चिकित्सकले कलेजोमा समस्या देखिएको बताए । थप उपचारका लागि काठमाडौं जान सुझाव दिए । किसानी र ज्याला मजदुरी गर्दै आएका प्रमोदको जनकपुरमै १ लाख २० हजार सकियो ।

आफन्त र गाउँघरमा ऋणपान गरेर बिहीबार उनी रात्रि बसमा काठमाडौं आए । शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल आकस्मिक कक्षमा पुगेका प्रमोदलाई अस्पतालले सामान्य भन्दै भर्ना लिन मानेन । काठमाडौंमा चिनजानको कोही नभएकोले गौशालाको होटलमा बसे । शनिबार सबैतिर अस्पताल बन्द भयो । उनीहरू आइतबार बिहानै रत्नपार्कको गाडी समात्दै वीर अस्पताल पुगे । तर, ओपीडी टिकट काउन्टर बन्द थियो । सुरक्षाकर्मीले भने, ‘ओपीडी बन्द छ । भोलि आउनुहोला ।’ प्रमोद आलसतालस थिए । जेठान सुरेन्द्रले आकस्मिक कक्षमा देखाउन लगे । तर स्वास्थ्यकर्मीले सामान्य बिरामी भन्दै भर्ना लिन मानेनन् । कतै विकल्प नभएपछि प्रमोद निजी अस्पतालको गेटमा पुगे ।

आइतबार दिँउसो काठमाडौं मेडिकल कलेजमा पुगेका प्रमोदको विभिन्न परीक्षण र औषधिमै २० हजार सकियो । चिकित्सकले कलेजोको एक परीक्षण अन्य ठाउँमा नहुने भन्दै वीर र टिचिङमै गराउन सुझाव दिए । सुरेन्द्र पुनः सोमबार ज्वाईंलाई लिएर ओपीडीको लाइन कुरिरहेका थिए । ‘बिहान ७ बजे आइपुगेका थियौं । अब ७९५ जनापछि टिकट लिने पालो छ,’ निरास सुनिए, ‘आइतबार यही सेवा पाएको भए २० हजार सकिने थिएन । गरिबले जता पनि ठक्कर नै खान्छ ।’ ओपीडी भवन भित्रको दृश्य झन् व्यस्त देखिन्थयो । टिकट लिन लाइन, परीक्षणका लागि लाइन, चिकित्सक भेट्न अर्को लाइन । कतिपय बिरामीहरू भुइँमा बसिरहेका छन् । वृद्ध र बालबालिकालाई कुर्सी नपुग्दा आफन्तहरूले उभिएर पालो कुरिरहेका छन् । यसैबीच, अस्पतालको प्रांगणमा वृद्ध महिला ह्विलचियरमा देखिइन् ।

एक महिलाले टाउको समातेकी थिइन्, अर्कीले हात । ८० वर्षीय ती महिलालाई उच्च रक्तचापको समस्या छ । सतुंगल बस्दै आएका उनीहरू आइतबार पनि अस्पताल आएका थिए । तर चिकित्सक भेटेनन् । उनीहरू निरास हुँदै घर फर्किए । ‘फओअपमा हिजो आएका थियौं । तर डाक्टर भेट भएन । आमालाई साह्रै गाह्रो भएपछि आज आयौं,’ हेरचाहमा खटिएकी ती महिलाले भनिन् ।

Skip This