३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

1.1k
Shares

काठमाडौं । वेदालय ग्रुपले झापाको मेचीनगरमा पाँचतारे होटल बनाउने भएको छ । रोयल रिक्रिएसन नेपालले मेचीनगरमा ‘होटल सोल्टी झापा’ ब्रान्डको पाँचतारे होटल निर्माण गर्ने भएको हो ।

सन् २०२१ को अन्त्यमा दर्ता भएको कम्पनीले ६ लाख ६५ हजार ५ सय ७७ स्क्वायर फिट क्षेत्रफलमा होटल निर्माण गर्ने जनाएको छ । उक्त क्षेत्रफलमा १ सय ८० वटा कोठासहित पाँचतारे होटलको निर्माण कार्य अघि बढाइएको छ ।

कम्पनीले होटल निर्माणका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । रेटिङमार्फत् होटल निर्माण गर्न २ अर्ब ८४ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । लगानीको अनुपात ६९:३१ रहनेछ ।

हालसम्म होटल निर्माणका लागि १३ प्रतिशत वित्तीय प्रगति भएको छ भने इक्विटीको १४ प्रतिशत व्यवस्थापन भइसकेको छ । कम्पनीले निर्माण कार्य सम्पन्न गरी सन् २०२८ मा व्यवसायिक कारोबार सुरु गर्ने लक्ष्य राखेको छ ।

मित्तल परिवारद्वारा सञ्चालित कम्पनीले फ्रेन्चाइज मोडलमा होटल सञ्चालन गर्नेछ । कम्पनीले सोल्टी ब्रान्डसँगको सहकार्यमा होटल सञ्चालन गर्ने भएको हो । सोल्टी होटल एन्ड रिसोर्ट्सले ५७ वर्षको इतिहास बोकेको छ र नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रको पायोनियर मानिन्छ ।

कम्पनीले देशभर लक्जरियस आतिथ्य सेवा प्रदान गर्दै आएको छ । कम्पनीअन्तर्गत ‘द सोल्टी इटहरी’, ‘द सोल्टी वेस्टेन्ड इटहरी’, ‘द सोल्टी काठमाडौं’ र ‘द सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्ज’ सञ्चालनमा छन् ।

सोल्टी होटलमा ६० प्रतिशत स्वामित्व रहेको वेदालय ग्रुप होल्डिङ कम्पनीको उक्त कम्पनीमा ४० प्रतिशत स्वामित्व छ । होटल निर्माणका लागि कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जासहित १ अर्ब ७८ करोड रुपैयाँको रेटिङ गराएको छ ।

जसअन्तर्गत दीर्घकालीन कर्जाका लागि १ अर्ब ७३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गरिएको छ ।

Skip This