
काठमाडौं । नेपालको व्यापार घाटा चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन–चैत)सम्ममा साढे १२ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत महिनासम्मको तथ्यांक अनुसार १४ खर्ब ९० अर्ब रुपैयाँको आयात हुँदा निर्यात २ खर्ब २२ अर्ब रुपैयाँको मात्रै छ ।
गत वर्षको तुलनामा आयात १३ प्रतिशतले बढ्दा निर्यात पनि १८ प्रतिशतले बढेको छ । तर आयातको तुलनामा निर्यातको हिस्सा न्यून हुँदा नेपालले नौ महिनामा १७ खर्ब १३ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार गर्दा व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ ।
गत वर्ष १३ अर्ब ९ अर्ब रुपैयाँको मात्रै आयात भएको थियो भने निर्यात १ खर्ब ८८ अर्ब रुपैयाँको थियो । चालू आवको नौ महिनासम्ममा नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७ प्रतिशत र निर्यातको हिस्सा १३ प्रतिशत मात्रै छ ।
यो अवधिमा नेपालमा आयात भएको वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा कृषि र इन्धनको पाइएको छ । ३ अर्ब १७ अर्ब रुपैयाँबराबरको कृषिजन्य वस्तु आयात हुँदा दोश्रोमा २ खर्ब ५० अर्ब रुपैयाँको विभिन्न प्रकारका पेट्रोलियम पदार्थ आयात भएको छ ।
इन्धनवापत वार्षिक रुपमा डिजेलमा मात्रै १ भन्दा बढी हुन्छ । पछिल्लो ९ महिनामा डिजेल १ खर्ब ३ अर्ब रुपैयाँको, सोयाविन आयल ७६ अर्ब रुपैयाँको, पेट्रोल ५० अर्ब रुपैयाँको र ग्यास ४१ अर्ब रुपैयाँको आएको छ ।
पछिल्लो ९ महिनामा स्मार्टफोन आयात पनि उत्कृष्ट पाँच वस्तुमा परेको छ । यो अवधिसम्ममा स्मार्टफोन आयात २५ अर्ब ६२ करोड रुपैयाँको भएको पनि उल्लेख छ।








प्रतिक्रिया