गुड कर्मा हस्पिटालिटीले बनाइरहेको कर्मा रेसिडेन्सेजको निर्माण लागत घट्यो, कतिमा बन्दैछ ?


काठमाडौं । गुड कर्मा हस्पिटालिटीले महाराजगञ्जमा बनाइरहेको ‘कर्मा रेसिडेन्सेज’ को लागत घटेको छ । निर्माणाधीन अपार्टमेन्टको लागत पहिलेको तुलनामा अहिले घटेको हो ।

गुड कर्मा हस्पिटालिटीले सुरुमा २ अर्ब रुपैयाँ लागतमा निर्माण गर्ने जनाएको थियो । तर, अहिले उक्त लागत घटेर १ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । कम्पनीले सो अपार्टमेन्ट निर्माणका लागि ७५:२५ को लागत अनुपात राखेको छ ।

सन् २०२४ मा स्थापना भएको यो कम्पनी गुड कर्मा ग्रुप अफ कम्पनीजको सहायक कम्पनी हो । कम्पनीले ५६ युनिटको अपार्टमेन्टको इन्टेरियर निर्माण कार्य तीव्र गतिमा बढाएको छ । कम्पनीले अपार्टमेन्टमा जिम तथा स्विमिङ पुलको व्यवस्था गर्ने जनाएको छ । कम्पनीले उक्त अपार्टमेन्टको नाम ‘कर्मा रेसिडेन्सेज’ राखेको छ ।

गुड कर्मा ग्रुप अफ कम्पनीजले १६२ वटा लक्जरियस अपार्टमेन्ट निर्माण गरिरहेको छ । त्यसमध्ये सिभिल कार्य सम्पन्न भइसकेपछि ५६ युनिट गुड कर्मा हस्पिटालिटीलाई इन्टेरियर कार्यका लागि हस्तान्तरण गर्ने जनाइएको छ । त्यसपछि, हस्पिटालिटीले सर्भिस्ड अपार्टमेन्टहरूको आन्तरिक सजावट (इन्टेरियर फिट आउट) र सञ्चालनमा ल्याउने काम गर्नेछ । अपार्टमेन्ट आगामी डिसेम्बरदेखि सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ ।

कम्पनीले कर्जा पनि घटाएको छ । कम्पनीले यसअघि गराएको रेटिङ अनुसार १ अर्ब ५० करोड रुपैयाँका लागि प्रक्रिया अगाडि बढाएको थियो । अहिले उक्त कर्जा घटाइएको हो । कम्पनीले अहिले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँ गरी कुल १ अर्ब ३२ करोड रुपैयाँका लागि रेटिङ गराएको छ ।

हालसम्म अपार्टमेन्टको वित्तीय प्रगति ६३ प्रतिशत छ भने भौतिक प्रगति ५२ प्रतिशत भइसकेको छ । कर्मा तेन्जिङको अधिकांश स्वामित्व रहेको कम्पनीको गत फेब्रुअरीसम्म ८३ प्रतिशत सिभिल स्ट्रक्चर सकिएको उल्लेख छ । त्यसैगरी, कम्पनीले बिक्रीका लागि अन्तर्राष्ट्रिय हस्पिटालिटी चेन ‘अपार्टमेन्ट बाई मेरियट बोनभोय’ सँग सम्झौता गरेको छ । कम्पनीले सन् २०२६ को डिसेम्बरसम्ममा निर्माण कार्य सम्पन्न हुने अनुमान गरेको छ ।