भटमासको तेल उत्पादन गर्ने मारुती आयल इन्डष्ट्रिजले ६ महिनामै गर्‍यो २ अर्बको व्यापार


काठमाडौं । मारुती आयल इन्डष्ट्रिजले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करिब २ अर्ब रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सो अवधिमा १ अर्ब ९७ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।

देवनारा र बाबा ग्रुपको संयुक्त लगानी रहेको यस कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८९ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२१ मा स्थापना भएको यस उद्योगले भटमासको तेल प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ ।

कम्पनीले सन् २०२४ को अन्त्यबाट व्यावसायिक कारोबार सुरु गरेको थियो । वार्षिक ७४ हजार ३ सय ८६ मेट्रिक टन उत्पादन क्षमता रहेको यस कम्पनीको अध्यक्ष राजेन्द्रप्रसाद मुन्डारा हुन् । कम्पनीले प्रशोधन गरेको तेल शतप्रतिशत भारतमा निर्यात गर्दै आएको छ ।

कम्पनीको आम्दानी र सञ्चालन मार्जिन गत आर्थिक वर्षमा सकारात्मक रहेको छ । यद्यपि, गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापारमा २५ प्रतिशतले कमी देखिएको छ । व्यापार घटे पनि सञ्चालन मार्जिनमा भने सुधार आएको छ ।

कम्पनीको गत वर्षको ६ महिनामा सञ्चालन मार्जिन ७.७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ८.२ प्रतिशत पुगेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब २४ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि १५ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ९ करोड रुपैयाँ छुट्याइएको छ ।