
काठमडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५८ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा ५८ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले ४९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो जुन चालु आवको तुलनामा १९.३७ प्रतिशतले कम हो । बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न गएको देखिन्छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेर १ अर्ब ८१ करोड ८३ लाख रूपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशतले बढेर २४ करोड ६८ लाख रूपैयाँ पुगेको छ । यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत र सञ्चालन मुनाफा १८.३४ प्रतिशत बढेको छ ।
बैंकले गत आवको ९ महिनामा नोक्सानी व्यवस्थाका लागि ३१ करोड ७२ लाख रूपैयाँ छुट्याउँदा चालु आवको सोही अवधिमा २८ करोड ६२ लाख रूपैयाँ छुट्याएको छ ।
चालु आवको ९ महिनामा गरेको नाफा ५८ करोड ८७ लाख रूपैयाँमध्ये बैंकको वितरणयोग्य नाफा ३८ करोड ४३ लाख रूपैयाँ छ । गत आवबाट लाभांश बाँडेर बाँकी रहेको रकम समेत जोड्दा बैंकको कुल वितरणयोग्य नाफा (रिटेन्ड अर्निङ वा सञ्चित नाफा) ४१ करोड ७६ लाख रूपैयाँ छ । जसका आधारमा बैंकले १४.१५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।
चैत मसान्तसम्म बैंकको निष्क्रिय कर्जा भने ४.२७ प्रतिशतबाट बढेर ४.४ प्रतिशत पुगेको छ ।
यस अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५९ पैसाले बढेर २० रुपैयाँ ३२ पैसा पुगेको छ । ३५ करोड रुपैयाँको ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरसहित बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड रुपैयाँ कायम छ ।
९ महिनामा बैंकको निक्षेप २ अर्ब ११ करोड ६४ लाख रूपैयाँले बढेर ६४ अर्ब ९५ करोड ७ लाख रूपैयाँ पुगेको छ । यस अवधिमा बैंकले कर्जा ३ अर्ब ४६ करोड १२ लाखले बढाएर ५३ अर्ब ५३ करोड ८७ लाख रूपैयाँ पुर्याएको छ ।








प्रतिक्रिया