वसन्तयामको आरोहण सुरू: ७ नेपाली र ५ विदेशीले चुमे अन्नपूर्णको चुचुरो


म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वातारोही शनिबार अन्नपूर्णको चुचुरो चुमेका हुन् ।

सेभेन समिटका अनुसार आरोहण गर्नेहरूमा क्यानडाका चाल्र्स पेज, रुसका भालेरिय बाबानोभ, भ्लादिमिर अफानासेभ, युरी कुग्लोभ र अजरवैजानका इस्फार्ली असुर्ली रहेका छन् ।

नेपाली लाक्पासहित छेवाङ, दावा नर्बु, पासाङ दुङपा, छाङुबा, तारामान र पासाङ शेर्पाले पनि शनिबार नै अन्नपूर्णको सफल आरोहण गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, शनिबार विहान १०:१५ बजे नेदरल्यान्ड र अष्ट्रेलियाका दुई आरोहीसँगै एक शेर्पाले सफलतापूर्वक आरोहण गरेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए ।

‘अन्नपूर्ण हिमालमा यसपटकको पहिलो आरोही टोलीले सफलतापूर्वक आरोहण गरेका छन्’, उनले भने, ‘आरोहण टोलीसँगै बेसक्याम्पसम्म घुम्न जानेको चहलपहल सुरु भएको छ’, अभियान्ता गुरुङले भने ।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट चार समूहका २७ जनाले अनुमति लिएका छन् । उनीहरूबाट एक करोड २० लाख ४९ हजार १७५ राजस्व प्राप्त भएको विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताइन् । अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । गत वर्षको वसन्तयाममा अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए ।

अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकहरूको आधार शिविरमा चहलपहल छ । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ सालमा सरएडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।