समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरू, अम्बेका ३०८ जनाले पाए पैसा


विराटनगर । कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको २० हजार रुपैयाँसम्मको बचत फिर्ता दिन सुरू गरेको छ ।

त्यसक्रममा सुनसरीको इटहरीमा मुख्यालय रहेको अम्बे–कोशी बचत तथा ऋण सहकारीमा २० हजार रुपैयाँसम्म बचत गर्ने ३०८ जना साना बचतकर्तालाई बचत फिर्ता दिएको छ ।

प्रदेश सरकारले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेर २०८१ मंसिरमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको अध्यक्षतामा गठन गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साना बचतकर्ताको रकम फिर्ता दिएको हो ।

समितिका अध्यक्ष थापाका अनुसार साना बचतकर्तालाई पहिलो प्राथमिकतामा राखेर ३०८ जनाको जनही २० हजार रुपैयाँ फिर्ता गरिएको हो ।

यो सहकारीमा ९ हजार ५५९ जना सेयर सदस्य छन् । ४ करोड ४७ लाख रुपैयाँभन्दा बढी सेयर पूँजी रहेको छ । समितिका सदस्य जीवन काफ्लेका अनुसार कुल बचत दायित्व ४२ करोड ६० लाख ९८ हजार रुपैयाँ नाघे पनि हालसम्म १ हजार १७३ जनाले मात्र २४ करोड ८८ लाख रुपैयाँ बराबरको दाबी पेस गरेका छन् ।

काफ्लेका अनुसार यो सहकारीबाट ऋण लगेका ऋणी सदस्यहरूबाट उठेको रकम साना बचतकर्तालाई फिर्ता गरिएको हो । साना बचतकर्ता ३०८ जनालाई नगद रकम फिर्ता गरिएको हो । त्यसक्रममा केही सदस्यको बचत मिलान पनि गरिएको काफ्लेले जनाए ।

समितिले संस्थाका करिब २ हजार महत्त्वपूर्ण कागजात व्यवस्थित गर्दै सञ्चालक समिति र कर्मचारीको अधिकार निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा उक्त सहकारीका तत्कालीन अध्यक्ष फडिन्द्रबहादुर पूर्वछाने नै मुख्य ऋणीका रूपमा देखिएका छन् । उनले करिब २० करोड रुपैयाँ बराबरको ऋण लिएर दुरुपयोग गरेको पुष्टि भएको समितिका अध्यक्ष थापाले क्लिकमान्डुलाई बताए ।

यसैबीच सहकारीको नाममा रहेका ४२ वटा जग्गा रोक्का गरिसकिएको समितिको भनाइ छ । हालसम्म सहकारीको खातामा १ करोड ३८ लाख रुपैयाँ जम्मा भइसकेको छ भने समितिले बचत मिलानमार्फत १ करोड ९० लाख रुपैयाँ फिर्ता गरिसकेको छ ।

ऋणीहरूलाई ३५ दिने सूचना जारी गरी भुक्तानीका लागि ताकेता गरिएको र त्यसकै परिणामस्वरूप बचत फिर्ताको प्रक्रिया अघि बढेको थापाले बताए । उनका अनुसार ऋण नतिर्ने तीन जनाको जग्गा लिलामी प्रक्रियामा लैजाने तयारी गरिएको छ । समितिले दोस्रो चरणमा १ लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ ।

कोशी प्रदेशमा दर्ता भएका १ हजार ६३ सहकारीमध्ये झन्डै आधा मात्रै नियमित सम्पर्कमा रहेका छन् । तीमध्ये १२ वटा सहकारी संस्थाका सञ्चालकले सर्वसाधारणको बचत अपचलन गरेर फरार भएपछि सञ्चालक विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । त्यसमध्ये खोटाङको लालुपाते बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले सबै दायित्व तिरेर मिलापत्र भएको छ ।

धनकुटाको हिमाली बहुउद्देश्यीय सहकारी र विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको आंशिक मिलापत्र भएर दायित्व तिर्ने काम भइरहेको छ ।

प्रदेश सहकारी रजिस्ट्रार कार्यालय स्रोतका अनुसार धरानको बराह बचत तथा ऋण सहकारी, झापा कमल गाउँपालिकाको पूर्वनेपाल बहुउद्देश्यीय सहकारी, विराटनगरको तुलसी सहकारी, मोरङ कर्सियाको उमागौरी कृषि सहकारी, झापा शिवसतक्षीको उन्नति बचत तथा ऋण सहकारीसहित मोरङ, सुनसरी र झापाका थप एक दर्जन सहकारी संकटग्रस्त घोषणाको पाइपलाइनमा छन् ।

कोशी प्रदेशमा एक अर्बमाथि सम्पत्ति र दायित्व भएका सहकारी १२ वटा छन् । तीमध्ये ११ वटा झापामा सञ्चालित छन् । ५० करोडदेखि एक अर्बसम्म कारोबार गर्ने १३ वटा, २५ करोडदेखि ५० करोडसम्म कारोबार गर्ने ३१ वटा, ५ करोडदेखि २५ करोडसम्म कारोबार गर्ने सहकारीको संख्या ९७ वटा रहेको रजिस्ट्रार कार्यालयको अभिलेख छ । तीमध्ये अधिकांश सहकारीमा समस्या देखिएको छ ।

प्रदेशमा स्थानीय सरकार अन्तर्गत नियमन हुने सहकारी ३ हजार ६५१ र प्रदेश सरकार अन्तर्गत नियमन हुने १ हजार ६३ सहकारीमा मात्र १२ लाख १५ हजारभन्दा बढी सर्वसाधारणको १३ अर्ब २४ करोडभन्दा बढी शेयर पूँजी र ६५ अर्ब ५८ करोड ८७ लाखभन्दा बढी सर्वसाधारणको बचत रहेको तथ्यांक छ ।

संघीय संसदको सार्वजनिक लेखा समितिका पूर्वसभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला संलग्न रहेको मोरङ कर्सियाको उमागौरी कृषि सहकारीले ८००८ शेयर सदस्य र ऋणी सहित विभिन्न वित्तीय संस्थाको २२ करोड ४८ लाख रुपैयाँ अपचलन गरेको पुष्टि भएको छ ।

Skip This