
काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा बैंकहरूमा अधिक तरलताको चाप छ । जसले गर्दा कोषको लागत घटाउन बैंकहरूले निरन्तर ब्याजदर घटाउँदै लगेका हुन् ।
नेपाल राष्ट्र बैंकले बचतको ब्याजदरमा एउटा न्यूनतम क्याप लगाएको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा उपलब्ध गराउँदै आएको छ । मौद्रिक नीतिमा निक्षेप संकलन दर २.७५ प्रतिशत तोकेको छ । बचतको न्यूनतम ब्याजदर निक्षेप संकलन दरभन्दा कम भएका बैंकहरूले स्थायी निक्षेप सुविधा नपाउने व्यवस्था छ ।
सोही कारण बैंकहरूले बचतको ब्याजदर घटाउन सकेका छैनन् । जसले गर्दा लागत कम गर्न मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै घटाएर ४ प्रतिशतसम्म झारेका हुन् । वैशाखका लागि २० मध्ये व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत रहेको एनएमबी बैंक मात्रै छ ।
बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि निक्षेपमा दिने ब्याजदर प्रकाशित गर्नुपर्छ । सोमबार वैशाखका लागि दिने निक्षेपको ब्याजदर सार्वजनिक गर्दा चैतको तुलनामा वैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.०९ प्रतिशतले घटाएका हुन् ।
चैतको तुलनामा वैशाखमा ८ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । १२ बैंकले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।
चैतमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४८ प्रतिशत रहेकोमा वैशाखमा ४.३९ प्रतिशतमा झरेको छ । वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा एनएमबी बैंकले सर्वाधिक ५ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले ४.७५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका हुन् । दुवै बैंकले चैतमा ५ प्रतिशत ब्याजदर दिएकोमा वैशाखमा ०.२५ प्रतिशत बिन्दुले घटाएका हुन् ।
चैतको तुलनामा वैशाखमा ब्याजदर घटाएका बैंकमा एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकसँगै एभरेस्ट, हिमालयन, कुमारी, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड छन् । त्यस्तै स्थिर राखेकामा कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल, एनएमबी, एसबीआई, प्राइम कमर्सियल, प्रभु र सानिमा छन् ।
बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशतभन्दा कम गर्न नसक्ने भएपछि लागत घटाउन मुद्दती निक्षेपको ब्याजदर पनि घटाउँदै लगेका हुन् । मुद्दती निक्षेपमा ३ वर्षदेखि १० वर्षका लागि बैंकहरूले ४ प्रतिशत वा सोभन्दा माथिको ब्याजदर प्रस्ताव गरेपछि छोटो अवधिको मुद्दती निक्षेपमा भने सबैजसो बैंकको ब्याजदर ४ प्रतिशतभन्दा तल छ ।
वैशाखमा सिद्धार्थ बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४ प्रतिशत मात्रै ब्याजदर प्रस्ताव गरेको छ । चैतमा ४.२५ प्रतिशत रहेकोमा वैशाखमा ०.२५ प्रतिशत बिन्दुले घटाएको हो । कुमारी बैंकले चैतको ४.१२ प्रतिशतमा ०.०७ प्रतिशत बिन्दुले घटाएर ४.०५ प्रतिशत बनाएको छ । एभरेस्ट बैंकले पनि ४.२५ प्रतिशतबाट ०.२० प्रतिशत बिन्दुले घटाएर ४.०५ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।









प्रतिक्रिया