बहुराष्ट्रिय कम्पनीको ‘लाखौंको अफर’ त्यागेर स्वदेशी उत्पादनमा रुचिकाको क्रान्ति


विराटनगर । भारतको पुणेबाट इन्टरनेसनल विजनेस र आर्किटेक्चरल (डिजाइन) विषयमा स्नातकोत्तर गरेकी विराटनगरकी २९ वर्षीया रुचिका वैदको हातमा अध्ययन सकिनेबित्तिकै विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरूको ‘अफर लेटर’ थियो ।

ग्लोबल भिजन, टीसीएच र रिलायन्स लगायतका कम्पनीले उनलाई भारत र दुबईमा मासिक लाखौँ रुपैयाँ तलब दिने गरी आकर्षक जागिरको प्रस्ताव गरेका थिए । तर, ती लोभलाग्दा अफरहरूलाई थाँती राखेर आफ्नै देशमा केही गर्ने संकल्पका साथ उनी आफ्नो सर्टिफिकेट बोकेर विराटनगर फर्किइन् ।

अहिले रुचिका ती किशोर–किशोरीको भाष्यलाई गलत सावित गर्दैछिन्, जसका लागि ‘विदेश नै सफल जीवनको अन्तिम गन्तव्य हो’ । ‘नेपालमै बसौँ, यहीँ काम गरौँ र यहीँकै स्रोत–साधन प्रयोग गरौँ’ भन्ने मूल मन्त्र बोकेकी रुचिकाले सानैदेखि उत्पादनमूलक उद्योग खोल्ने सपना पालेकी थिइन् । त्यही सोचले घचघच्याएपछि उनले विराटनगर–१३ तीनटोलियामा करिब १० लाख रुपैयाँको लगानीमा आफ्नै उद्योग सुरु गरेकी छिन् ।

रुचिकाका अनुसार बजारमा अहिले एउटा विकृति व्याप्त छ- विदेशबाट सामान आयात गर्ने र यहाँ आफ्नो ब्राण्डमा प्याकिङ गरेर बजार पुर्‍याउने । उनी भन्छिन्, ‘त्यो विकृतिलाई चिर्न र वास्तविक रूपमा आयात प्रतिस्थापन गर्न मैले स्वदेशी कच्चा पदार्थमा आधारित घरेलु सरसफाइ र सौन्दर्यका सामानको उत्पादन सुरु गरेकी हुँ । यसमा मलाई सुरुवाती सफलता पनि मिलेको छ ।’ उनले आफ्नो उत्पादनलाई ‘मेक इन नेपाल, मेरो देश मेरै उत्पादन’ स्लोगन दिएकी छिन् ।

विगत एक वर्षदेखि सञ्चालित उनको उद्योगले ट्वाइलेट क्लिनर, फिनेल, ह्यान्डवास, पर्फ्युम, ग्लास क्लिनर, स्किन केयर, डिटर्जेन्ट, कफी बडी स्क्रब, गुलाब जल, फेस प्याक र साबुन लगायतका सामग्री उत्पादन गर्दै आएको छ । यसका साथै उनले हातैले तयार पारिने ‘आर्टिफिसियल ज्वेलरी’ पनि निर्माण गर्छिन् । रुचिका आफ्ना उत्पादनको रिसर्च र डेभलपमेन्ट आफैँ गर्छिन् र प्रत्येक सामानको पीएच ब्यालेन्स परीक्षण गरेर मात्र बजारमा निकाल्छिन् ।

विदेशी उत्पादनको तुलनामा स्वदेशी कच्चा पदार्थ प्रयोग गरिएका आफ्ना सामान गुणस्तरीय र निकै सस्तो भएको उनको दाबी छ । ‘आयातित सामानलाई उपभोक्ताले २ सय रुपैयाँ तिर्नुपर्छ भने हामी त्यही सामान यहाँ १ सय रुपैयाँमै उत्पादन गर्छौँ,’ उनी भन्छिन्, ‘आयातित सामान आफ्नो ब्राण्डमा प्याकिङ गरेर उपभोक्ता ठग्ने धन्धालाई मेरो अभियानले रोकेको छ र उपभोक्तालाई ठगिनबाट जोगाउँदै छु ।’

व्यापारिक रणनीतिअन्तर्गत उनले विराटनगर महानगरपालिकाको भवनभन्दा उत्तरतर्फ ‘मेक इन नेपाल’ नामको शोरुम पनि खोलेकी छिन्, जहाँ उद्योगकै मूल्य (फ्याक्ट्री मूल्य) मा सामान पाइन्छ । ग्राहकलाई आकर्षित गर्न उनले एक वर्षसम्मका लागि ‘बाइ वान गेट वान’ अफर समेत दिएकी छिन् । सामान गुणस्तरीय र मूल्य सुलभ भएकै कारण झन्डै ७० प्रतिशत ‘रिपिट कष्टुमर’ रहेको उनले क्लिकमान्डुलाई बताइन् ।

सुरुवाती चरणमा १२ जनालाई रोजगारी दिएकी रुचिकाको लक्ष्य अब विराटनगरमा मात्र सीमित छैन । उनले चाँडै विराटनगरका विभिन्न स्थानमा थप ५ वटा आउटलेट शोरुम खोल्ने तयारी गरेकी छिन् भने इटहरी, धरान, दमक र विर्तामोड जस्ता सहरमा पनि शोरुम विस्तार गरी फ्याक्ट्री मूल्यमै सामान पुर्‍याउने योजना बुनेकी छिन् ।

उनको दीर्घकालीन लक्ष्य भनेको २०८३ सालसम्ममा ५० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने र नेपालभर आफ्नो उत्पादन विस्तार गर्ने हो ।

‘लगन, सोच र हातमा सीप एवं प्रविधि भए नेपालमै जे पनि गर्न सकिन्छ र भविष्य स्वदेशमै सुरक्षित छ भनेर युवापिँढीलाई उदाहरण दिनु नै मेरो प्रमुख लक्ष्य हो,’ रुचिकाले भनिन् । भारतीय सामानको एकाधिकार तोड्न र स्वदेशी स्रोतको अधिकतम प्रयोग गर्न उनी दृढ संकल्पित देखिन्छिन् ।

Skip This