
पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।
वैशाख ५ गतेसम्म सञ्चालन हुने गरी १४ औँ संस्करणको महोत्सवको क्रममा हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी र्याली निकालिएको थियो ।
महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य विभिन्न सय बढी व्यापारिक स्टलहरू रहेका छन् ।
आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार महोत्सवमा प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ ।
महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोट बिरुवा, परीक्षण तथा रोक निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम रहेका छन् ।
त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि सञ्चालन गरिएको आयोजक विष्णुपादुका क्लबले जनाएको छ ।








प्रतिक्रिया