
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीले संसदमा नबोल्नुलाई लोकतन्त्रका लागि शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।
शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको मौनताले मुलुक स्वेच्छाचारी शासनतर्फ जान लागेको आशंका व्यक्त गरे ।
संसद्को अधिवेशन आह्वान र समापनका बेला समेत प्रधानमन्त्रीले जनताको सार्वभौमसत्ता सम्पन्न थलोमा नबोल्नु आपत्तिजनक रहेको पोखरेलको तर्क छ ।
‘सुरक्षा निकायका कार्यक्रममा घण्टौँ बोल्न समय पाउने प्रधानमन्त्रीले आफैँले बोलाएको संसद् अधिवेशनमा बोल्न आवश्यक नठान्नु लोकतन्त्र हो कि स्वेच्छाचारिता ? उनले प्रश्न गरे ।
प्रधानमन्त्रीले जनतासँग प्रत्यक्ष संवाद गर्न डराएको भन्दै पोखरेलले संसद्प्रतिको उत्तरदायित्व बिर्सिएको आरोप समेत लगाए ।
पोखरेलले ‘नयाँ’ भनिने राजनीतिक शक्तिहरू र वर्तमान सरकारका मन्त्रीहरूको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएका छन् ।
नयाँ अभियानबाट आएका भनिएका नेताहरूको सम्पत्ति विवरण पत्याउन नसकिने खालको रहेको भन्दै उनले टिप्पणी गरे ।
पोखरेलले भने, ‘नयाँ भनिनेहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण धेरैले पत्याउन सकिरहेका छैनन् ।’
उनले वर्तमान सरकारका मन्त्रीहरूले समेत हालसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा आपत्ति जनाए ।
मन्त्री हुनुअघि गरिएका वाचा र हालको व्यवहारमा आकाश(पातालको फरक देखिएको भन्दै उनले तत्काल सम्पत्ति विवरण सार्वजनिक गरेर सुशासनको प्रत्याभूति दिन सरकारलाई चुनौती दिए ।








प्रतिक्रिया