
इतिहासदेखि वर्तमानसम्म हेर्दा युद्ध, संघर्ष र प्रतिस्पर्धामा मानिसको आकर्षण देखिन्छ । शक्ति प्रदर्शन, नियन्त्रणको चाहना वा डर र असुरक्षाबाट हिंसा उत्पन्न हुन्छ । साहित्य, चलचित्र वा खेल लगायत मनोरञ्जनका माध्यममा पनि हिंसाको लोकप्रियता मानव प्रवृत्तिको संकेत हो ।
ब्राजिली साहित्यकी सशक्त लेखिका आना पाउला मायाको उपन्यास ‘अन अर्थ एज इट इज विनिथ’ मानव स्वभावका रूपमा रहेको हिंसलाई सार बनाएको सशक्त उपन्यास हो । यसले मानव सभ्यताको त्यस अँध्यारो कुनाको कथा भन्छ जहाँ मानवताको अन्त्य भएर आदिम हिंसा मात्र बाँकी छ ।
पढ्दै जाँदा रगतको गन्ध आउने यस उपन्यासले पाठकलाई एक कारागृह (पिनल कोलोनी) मा पुर्याउँछ । त्यहाँ कुनै कानुन छैन, कैदीहरूको मृत्युको प्रतीक्षा मात्र छ । उपन्यासले मानिस र जनावरबीचको भिन्नता मेटिएको अवस्थालाई चित्रण गर्छ र समाजको पिँधमा रहेका मानिसहरूको अस्तित्वको लडाइँलाई प्रस्तुत गर्छ ।
दुर्गम र उजाड पिनल कोलोनी उपन्यासको लोकेशन हो । यस कोलोनीलाई बन्द गर्ने तयारी भइरहेको छ । त्यहाँ बाँकी रहेका कैदीहरूको अवस्था निकै भयावह छ । कोलोनीका वार्डेन मल्कीएडेस पूर्ण रूपमा मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् । उनी कैदीहरूलाई सुधार्नुको साटो उनीहरूको ‘शिकार’ गर्छन् ।
यस्तो शिकारलाई उनी ‘सामाजिक–शैक्षिक उपाय’ भन्छन् । उनी कैदीहरूलाई ३० सेकेन्डको समय दिएर भाग्न लगाउँछन् र त्यसपछि आफ्नो राइफलले उनीहरूको शिकार गर्छन् ।
उपन्यासमा प्रमुख पात्रका रूपमा ब्रोन्को गिल छन् । उनी एक कुशल शिकारी र भाडाका हत्यारा हुन् । उनीसँगै पुराना कैदी वाल्डेनिओ र पाब्लो छन् । यी कैदीहरूको खुट्टामा एउटा इलेक्ट्रोनिक ट्याग बाँधिएको छ जुन कोलोनीको सिमाना काट्ने बित्तिकै विस्फोट हुन्छ ।
यसरी यो कोलोनी एउटा यस्तो चक्रव्यूह बनेको छ, जहाँबाट उम्कन लगभग असम्भव जस्तै छ । बाहिरी संसारसँगको सम्पर्क विच्छेद भएको यस ठाउँमा भोकमरी, खडेरी र हिंसाको रजगज छ ।
हिंसा यस उपन्यासको सबैभन्दा बलियो र डरलाग्दो पक्ष हो । उपन्यासकार मायाले हिंसालाई घटनाको रूपमा मात्र नभई वातावरणको रूपमा चित्रण गरेकी छन् । उपन्यासको पहिलो पृष्ठदेखि अन्तिमसम्म हिंसाले पाठकको पिछा छोड्दैन । यहाँ हिंसा बहुआयामिक छ ।
पहिलो, यो संस्थागत हिंसा हो । राज्यले स्थापना गरेको सुधारगृह कसरी वधशालामा परिणत हुन्छ भन्ने कुरा उपन्यासले देखाउँछ । मल्कीएडेसले कैदीहरूलाई मानिसको रूपमा नभई पशु वा फोहोरका रूपमा हेर्छन् । कैदीहरूलाई मारेर गाड्नु उनको लागि दैनिक कार्य जस्तै बनेको छ ।
दोस्रो, यो ऐतिहासिक हिंसा हो । उपन्यासले त्यस स्थानको इतिहास कोट्याउँछ । त्यस ठाउँलाई पहिला ‘ब्ल्याक क्यालभरी’ भनिन्थ्यो । क्यालभरी भन्नाले बाइबलमा वर्णन गरिएको प्राचीन जेरुसेलम भन्दा बाहिर रहेको गोलगोथा हो जहाँ जिजस क्राइस्टलाई क्रसमा झुण्ड्याएर मारिएको थियो । ठीक त्यसैगरी यो पिनल कोलोनी पनि शहरबाट टाढा रहेको र कैदीहरूलाई सुधार्नुको साटो मार्ने ठाउँ हो ।
सय वर्षअघि त्यस ठाउँमा दासहरूलाई यातना दिएर मारिने गरिएको थियो । त्यसपछि त्यहाँ घोडा र गाईवस्तुहरू रहस्यमय रूपमा मर्न थाले । तिनका लाशहरू त्यस स्थानको भुइँमुनि गाडिएको छ । वास्तवमा त्यो जमिन नै अभिशप्त छ भन्ने भाव उपन्यासमा भेटिन्छ । विगतमा दासहरू विरुद्ध गरिएको हिंसा र वर्तमान कालमा जेलमा हुने गरेको हिंसाबीच एउटा अदृश्य कडी देखाइएको छ ।
तेस्रो, यो व्यक्तिगत र आदिम हिंसा हो । ब्रोन्को गिलको विगतको कथाले कसरी एउटा बालकले आफ्नो बुवाबाट हिंसा सिक्यो र कसरी उ सुँगुर मार्दा मार्दै मानिस मार्ने मशिन बन्न पुग्यो भन्ने कुराको विकासक्रम देखाउँछ । प्रायः जसो मांसाहारी र वधशालाकर्मीहरू नै मानिसको हत्या गर्ने क्रूर अपराधी बनिरहेका हुन्छन् भन्ने तथ्यलाई उपन्यासले प्रमाणित गरेको छ ।
उपन्यासमा सुँगुरको शिकार र मानिसको शिकारलाई समानान्तर रूपमा प्रस्तुत गरिएको छ । मल्कीएडेसले कैदीहरूलाई जंगलमा लखेटेर मार्दा मानिस र जंगली बँदेलबीचको शारीरिक र मानसिक भिन्नता समाप्त हुन्छ । दुवै ‘शिकार’ मात्र बन्छन् ।
मानिसलाई वस्तुकरण वा पशुकरण गर्नु उपन्यासको सबैभन्दा सशक्त पक्ष हो । वार्डेन मल्कीएडेस कैदीहरूलाई नामले नभई उनीहरूको अपराधले चिन्छन् । उनले कैदीहरूको शिकार गर्दा जुन आनन्द लिन्छन्, त्यो एक शिकारीले वनसाँढे मार्दा लिने आनन्द जस्तै छ । कैदीहरू पनि बिस्तारै आफ्नो मानवीय संवेदनामा ह्रास आएको महसुस गर्छन् । वाल्डेनिओले कुकुर गाड्नु र मानिस गाड्नुमा कुनै भिन्नता देख्दैनन् ।
मल्कीएडेसको पागलपन एक्लोपन र निरंकुशताको उपज हो । बाहिरी संसारबाट विच्छिन्न र वर्षौंसम्म अपराधीहरूको बीचमा बस्दा उनी आफैं अपराधीभन्दा बढी क्रूर बनेका छन् । त्यस्तै, गार्ड टाबोर्डाको मानसिक द्वन्द्व पनि उल्लेखनीय छ । उनी आफ्नो हाकिमको क्रूरता देखेर डराउँछन् तर आदेश पालना गर्न बाध्य छन् । उनको यस लाचारीले उनलाई अन्ततः कठोर कदम चाल्न बाध्य बनाउँछ ।
उपन्यासले न्यायको परिभाषामाथि प्रश्न उठाएको छ । अपराधीलाई सुधार गृहमा राख्नुको अर्थ उनीहरूलाई मार्ने लाइसेन्स दिनु हो ? मल्कीएडेसले आफूलाई ‘न्यायको दूत’ ठान्छन् तर वास्तवमा उनी राक्षस हुन् । अर्कोतिर, ब्रोन्को गिल जस्ता पात्रहरू छन् जो अपराधी भए पनि पाठकको सहानुभूति बटुल्न सफल हुन्छन् किनभने उनीहरू यस क्रूर व्यवस्थाको शिकार भएका छन् ।
चरम निराशाले उपन्यासको वातावरणलाई गम्भीर बनाएको छ । आफूहरूलाई पिनल कोलोनीमा मर्नका लागि ल्याइएको कुरा कैदीहरूलाई थाहा हुन्छ । वाल्डेनिओ भन्छन्, ‘हामी यहाँ मर्न आएका हौं, तिमीले अझै बुझेका छैनौ ?’ यस नियतिवादले मानिसलाई संघर्ष गर्नबाट रोक्दैन तर मृत्युलाई केही समय धकेल्नु मात्र संघर्षको उद्देश्य हुन्छ ।
आना पाउला मायाको लेखनशैली संक्षिप्त र दृश्यमान छ । उनी धेरै विशेषणहरूको प्रयोग नगरी सीधा र ठेट भाषामा घटनाहरू वर्णन गर्छिन् । यस शैलीले उपन्यासलाई अझ बढी प्रभावकारी बनाएको छ ।
उपन्यासमा रगत, खिया, धुलो, पसिना र सडेको मासु जस्ता शब्दहरू बारम्बार प्रयोग भएका छन् । यसले दुर्गन्धित र कष्टकर संसारको चित्र कोर्छ । लेखकले दृश्यहरूलाई सूक्ष्म ढंगले वर्णन गरेकाले पाठकले ती घटनाहरू आफ्नै आँखा अगाडि भइरहेको महसुस गर्छन् । उदाहरणका लागि, बँदेलको टाउको काट्ने दृश्य वा मरेको कैदीको आँखामा कमिलाहरू हिँडेको वर्णन निकै नै विचलित पार्ने खालका छन् ।
पद्मा विश्वनाथनले मूल पोर्चुगिज भाषाबाट यो उपन्यास अंग्रेजीमा अनुवाद गरेकी हुन् । अनुवादमा प्रयुक्त वाक्यहरू छोटा र मुटु छेड्ने खालका छन् । लेखकले कतै पनि पात्रहरूको भावनाको लामो व्याख्या गरेकी छैनन् । बरु उनीहरूका क्रियाकलापबाट उनीहरूको मानसिक अवस्था झल्काएकी छन् । यो देखाऊ, नभन (शो, डन्ट टेल) को उत्कृष्ट नमूना हो ।
उपन्यासको संरचना पनि रोचक किसिमको छ । यसमा वर्तमानका घटनाहरू र पात्रहरूको विगतलाई फ्ल्यासब्याक मार्फत जोडिएको छ । विशेषगरी, ब्रोन्को गिलले गरेको पहिलो हत्याको कथा र अहिलेको जेलको अवस्थालाई जोडेर हिंसाको चक्र कसरी चल्छ भन्ने देखाइएको छ ।
मल्कीएडेस एक अविस्मरणीय खलपात्र हुन् । उनमा कलर ब्लाइन्डनेस (रंग नचिन्ने) छ र यसले उनको व्यक्तित्वको एउटा पाटोलाई संकेत गर्छ । उनी संसारलाई कालो र सेतोमा मात्र देख्छन् । त्यहाँ बीचको मानवीय संवेदनाका लागि कुनै ठाउँ छैन ।
ब्रोन्को गिल उपन्यासका एन्टी–हिरो हुन् । गोरा बाउ र नेटिभ आमाका सन्तान उनी एक हत्यारा हुन् तर उनी ‘शिकारीको आचारसंहिता’ पालन गर्छन् । उनी आवश्यक नभई कसैलाई पनि मार्दैनन् । उनको धैर्य र शक्तिले उनलाई अन्ततः मुक्ति दिन्छ।
वाल्डेनिओ नाम गरेका पात्रले एउटा यस्तो मानिसको प्रतिनिधित्व गर्छन् जसले जेललाई नै आफ्नो घर मानिसकेको छ । बाहिरी संसारमा उनको कोही छैन । उनको मृत्यु उपन्यासको एउटा दुःखद मोड हो जसले यस कोलोनीमा कसैको पनि भविष्य सुरक्षित छैन भन्ने कुरा देखाउँछ ।
‘अन अर्थ एज इट इज विनिथ’ थ्रिलर वा हरर उपन्यास मात्र होइन । यो मानव स्वभावको अन्धकारमय पक्षको दार्शनिक अध्ययन हो । समाजले निश्चित वर्गलाई ‘फोहोर’ मानेर त्याग्दा त्यहाँ मानवताको सट्टा जंगलीपनले ठाउँ लिन्छ भन्ने कुरा आना पाउला मायाले देखाउन खोजेकी छन् ।
हिंसालाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासले पाठकलाई मानिस कतिसम्म क्रूर हुन सक्छ र कुन अवस्थामा मानिस र जनावरबीचको भिन्नता हराउँछ भन्ने कुरामा सोच्न बाध्य बनाउँछ ।
यो पुस्तक पढ्न सहज छैन । यसले पाठकलाई विचलित पार्छ, डर पैदा गर्छ र घृणा पनि जगाउँछ । तर, यही नै यस उपन्यासको सफलता हो । यसले संसारको कुरूप यथार्थलाई ऐना देखाउँछ । त्यस कुरूपताप्रति हामी प्रायः आँखा चिम्लेर बस्न रुचाउँछौं । कठोरतालाई चित्रण गरिएको साहित्य मन पराउने पाठकहरूका लागि यो पठनीय कृति हो ।
आना पाउला मायाले यस उपन्यास मार्फत आफूलाई समकालीन विश्व साहित्यको महत्त्वपूर्ण आवाजको रूपमा स्थापित गरेकी छन् ।








प्रतिक्रिया