
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एकैदिन १ खर्ब २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत ५ दिनका लागि उक्त तरलता प्रशोचन गर्ने भएको हो ।
उक्त निक्षेप सङ्कलन उपकरणमा लगानी गर्न चाहने बैंकहरूले शुक्रबार ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्न सक्नेछन् । शुक्रबार नै निक्षेप सङ्कलन उपकरण निष्कासन हुनेछ ।
ब्याजदर बोलकबोलका माध्यमबाट तय हुने केन्द्रीय बैंकले जनाएको छ । साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख २ गते हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल पेस गर्न सक्नेछन् । उक्त निक्षेप सङ्कलन उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।
निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र तरलता अनुपातमा गणना गर्न पाइन्छ ।
अधिक तरलता भए पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।








प्रतिक्रिया