
एजेन्सी । अमेरिका र इरानबीचको हालैको युद्धविरामलाई विश्वभरि शान्तिका लागि ठूलो दिन भन्दै स्वागत गरिएको छ ।
तर, अर्थशास्त्री र आपूर्ति शृंखला विज्ञहरूले एउटा गम्भीर चेतावनी दिएका छन्ः युद्ध रोकिए पनि विश्वव्यापी आपूर्ति शृंखलामा पुगेको क्षति निकै गहिरो छ जसलाई सामान्य अवस्थामा फर्काउन वर्षौं लाग्न सक्छ ।
खासगरी पाँचवटा यस्ता मुख्य वस्तुहरू छन् जसको अभाव र मूल्यवृद्धिले सर्वसाधारणको भान्सादेखि औद्योगिक उत्पादनसम्म दीर्घकालीन असर पार्ने देखिएको छ ।
गत फेब्रुअरी २८ देखि हर्मुज जलयोजक प्रभावकारी रूपमा बन्द छ । पाँच हप्ताभन्दा लामो समयसम्म यो रणनीतिक जलमार्ग ठप्प हुँदा विश्वको २० प्रतिशत दैनिक तेल आपूर्ति, २० प्रतिशत तरल प्राकृतिक ग्यास (एलएनजी) र विश्वव्यापी व्यापार हुने करिब ३३ प्रतिशत रासायनिक मलको प्रवाह रोकिएको छ ।
यसैको परिणामस्वरूप यस साता कच्चा तेलको मूल्य प्रति ब्यारल १४४ डलर पुग्यो । यसले इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ । बजारले युद्धविरामको खबरसँगै केही राहत महसुस गरे पनि जमिनको यथार्थ अझै चुनौतीपूर्ण छ ।
विज्ञहरूका अनुसार, यो संकटको सबैभन्दा भयावह पक्ष ऊर्जा नभई रासायनिक मल हो । विश्वमा व्यापार हुने युरियाको करिब ५० प्रतिशत हिस्सा खाडी क्षेत्रबाट आउँछ । मार्च महिनामा यसको ढुवानीमा ९८ प्रतिशतले गिरावट आयो र युरियाको मूल्य ५० प्रतिशतभन्दा बढीले बढ्यो ।
यसको असर मूल्यमा मात्र सीमित छैन । खेतीपातीको समय र चक्रलाई युद्धविरामले पुनः सुरु गर्न सक्दैन ।
उदाहरणका लागि, उत्तरी गोलार्धमा बाली लगाउने समय मे महिनाको अन्त्यमा सकिन्छ । अप्रिलमा गहुँ रोपेको खेतमा हाल्नुपर्ने युरिया मल जुलाईमा हालेर कुनै काम हुँदैन । मलको अभावका कारण किसानहरूले मकैको सट्टा भटमास खेती गर्न थालेका छन् भने कतिपयले यो वर्ष खेती नै नगर्ने निर्णय गरेका छन् । यसको प्रत्यक्ष असर सन् २०२७ सम्म तपाईंको भान्साको खर्च र खाद्यान्नको मूल्यमा देखिनेछ ।
अहिले चर्चा नभएको अर्को महत्त्वपूर्ण वस्तु सल्फर हो । विश्वको झन्डै ५० प्रतिशत समुद्री सल्फर खाडी क्षेत्रका रिफाइनरीहरूबाट आउँछ । सल्फर फस्फेट मल उत्पादनका लागि अनिवार्य कच्चा पदार्थ हो । सल्फरको अभावमा मोरक्को र चीनका ठूला फस्फेट प्लान्टहरू अहिले बन्द भइसकेका छन् । सल्फर नहुनुको अर्थ फस्फेट नहुनु हो र फस्फेट नहुनुको अर्थ बालीको उत्पादनमा व्यापक ह्रास आउनु हो ।
अहिले घोषणा गरिएको युद्धविराम दुई हप्ताका लागि मात्र हो । तर, यसले निम्त्याएको खाद्य संकट कम्तीमा दुई वर्षसम्म रहने देखिन्छ । तेल बजार वर्षको अन्त्यसम्ममा सन्तुलनमा आउन सक्ला तर मलको चक्र त्यसरी तुरुन्तै सुध्रिँदैन । खाद्यान्नको मूल्यमा हुने वृद्धि ६ देखि ९ महिनाको अन्तरालमा मात्र पूर्ण रूपमा देखिन्छ ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले चेतावनी दिएअनुसार, यो स्थिति कायमै रहेमा थप ४ करोड ५० लाख मानिसहरूले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्नेछ । सेयर बजारले अहिले सम्झौता र शान्ति देखिरहेको छ, तर किसानहरूले एउटा महत्त्वपूर्ण उत्पादन सिजन गुमाइसकेका छन् ।
अमेरिका र इरानबीचको युद्धविरामले तत्कालका लागि बम र मिसाइलको वर्षा त रोकेको छ तर विश्वव्यापी अर्थव्यवस्थाको नसा मानिने आपूर्ति शृंखलामा लागेको चोट अझै निको भएको छैन ।
हर्मुज जलमार्ग बन्द हुँदा सिर्जित यो आर्थिक परकम्पनले आगामी दिनमा विश्वलाई एउटा नयाँ प्रकारको भोकमरी र महँगीको युगमा धकेल्न सक्ने जोखिम प्रबल छ । विश्वले शान्तिको खुसीयाली मनाइरहँदा भान्साको बढ्दो महँगी र भोकमरीको कालो बादल अझै हटेको छैन ।










प्रतिक्रिया