
काठमाडौं। नेपाल टेलिकमले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरूका लागि विशेष ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ । विद्यार्थीहरूलाई सञ्चार सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले टेलिकमले ३ महिनाको लागि यो अफर ल्याएको हो । अफर यही चैत २६ गतेदेखि सुरु भई आगामी असार २५ गतेसम्म उपलब्ध रहने टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।
टेलिकमका अनुसार यस अफर अन्तर्गत विद्यार्थीहरूले देशभरका टेलिकम कार्यालयहरूबाट मात्र २० रुपैयाँमा नयाँ सिम कार्ड प्राप्त गर्न सक्नेछन् । उक्त सिममा १० रुपैयाँ मेन ब्यालेन्स उपलब्ध हुनेछ, जसबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ । सिम सक्रिय भएपछि विद्यार्थीले ३० दिनसम्म दैनिक रूपमा नेपाल टेलिकमको नेटवर्कभित्र २० मिनेट भ्वाइस कल, १० वटा एसएमएस र ५०० एमबी डाटाको सुविधा प्राप्त गर्नेछन् ।
अफर अवधिभर विद्यार्थीले ५० रुपैयाँ वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा थप बोनस समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । ५० रुपैयाँको रिचार्ज गर्दा ५०० एमबी डाटा, ५० मिनेट अन-नेट कल र ५० वटा अन-नेट एसएमएस बोनस पाइनेछ । यस्तो बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।
नयाँ सिम कार्ड लिनका लागि विद्यार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एक प्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा परिचयपत्रको फोटोकपी पेश गर्नुपर्नेछ । सिम प्राप्त गरेपछि विद्यार्थीले आफैँले *1414# डायल गरी सिम सक्रिय बनाउन सक्नेछन् भने अफर प्राप्त गर्न *1600# डायल गरी निर्देशन अनुसार आवश्यक विवरण भर्नुपर्ने हुन्छ ।
पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरूले पनि यो अफरको लाभ लिन सक्ने सुविधा छ । यसका लागि आफ्नो मोबाइलबाट *1600# डायल गरी अंग्रेजी अल्फाबेट बाहेकको एसईई सिम्बोल नम्बर र जन्म मिति टाइप गरी पठाउनुपर्नेछ ।
गत वर्षको सफलता र विद्यार्थीहरूको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले यस वर्ष पनि यस अफरलाई निरन्तरता दिएको हो । यसबाट विद्यार्थी वर्ग लाभान्वित हुने टेलिकमको विश्वास छ ।










प्रतिक्रिया