कसरी इरानको रणनीतिक जालमा फसे ट्रम्प ? न्युयोर्क टाइम्सले गर्यो रोचक खुलासा

1.6k
Shares

एजेन्सी । ३९ दिनको भीषण संघर्षपछि इरान कमजोर हुनुको सट्टा मुख्य रणनीतिक पक्षहरूमा थप सुदृढ देखिएको छ ।

उसले आफ्नो शासन जोगाएको छ, युरेनियम भण्डार सुरक्षित राखेको छ, निरन्तरका आक्रमणहरूका बीच पनि लचिलोपन देखाएको छ र विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलयोजकमा आफ्नो पकड कायम राखेको छ ।

वाशिङटनमा युद्धविरामलाई निर्णायक मानिए पनि यसको बृहत्तर परिणामले अझ जटिल वास्तविकतातर्फ संकेत गर्छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्ध गर्ने निर्णय कसरी लिए भन्नेबारे न्युयोर्क टाइम्सले विस्तृत रिपोर्ट प्रकाशित गरेको छ ।

रिपोर्टर जोनाथन स्वान र म्यागी ह्याबरम्यानको आगामी पुस्तक रेजिम चेन्जः इनसाइड द इम्पेरियल प्रेसिडेन्सी अफ डोनल्ड ट्रम्पमा आधारित यस रिपोर्टले अपरेशन एपिक फ्युरीसम्म पु¥याउने गोप्य छलफलहरूको सिलसिलेवार बेहोरा प्रकाशन गरेको छ ।

यसले युद्धको कथा मात्र भन्दैन, बरु ट्रम्प कसरी चरणबद्ध रूपमा एउटा रणनीतिक जालमा फसे भन्ने कुरा उजागर गर्छ ।

निर्णायक मोड ११ फेब्रुअरीमा आयो जब इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ह्वाइट हाउसको सिचुएसन रूममा सिधै आफ्नो कुरा राखे । नेतन्याहूले इरान सैन्य रूपमा मात्र नभई राजनीतिक रूपमा पनि कमजोर रहेको र अमेरिका–इजरायलको संयुक्त आक्रमणले त्यहाँको सत्ता ढाल्न सक्ने दाबी गरे ।

उनले ट्रम्पलाई एउटा भिडियो देखाए जसमा कट्टरपन्थी सरकार ढलेपछि देश सम्हाल्न सक्ने सम्भावित नयाँ नेताहरूको सूची थियो । इजरायली गुप्तचर निकाय मोसादको खुफिया जानकारी अनुसार, इरानमा फेरि जनविद्रोह सुरु हुने र तीव्र बमवर्षाले सत्ता परिवर्तनका लागि परिस्थिति सिर्जना गर्ने दाबी गरिएको थियो ।

रिपोर्टका अनुसार, ट्रम्पको तत्काल प्रतिक्रिया थियोः ‘मलाई यो ठीक लाग्यो ।’ यो जवाफले ट्रम्पको प्रवृत्ति इजरायली प्रस्तावसँग पहिल्यै मिलिसकेको संकेत गरेको थियो ।

त्यसको भोलिपल्ट अमेरिकी गुप्तचर अधिकारीहरूले नेतन्याहूको प्रस्तावको चिरफार गरे । उनीहरूले यसलाई चार भागमा विभाजन गरेः १. शीर्ष नेतृत्वको अन्त्य (आयातोल्लाहको हत्या), २. इरानको सैन्य क्षमता नष्ट गर्ने, ३. इरानभित्र जनविद्रोह र ४. सत्ता परिवर्तन र धर्मनिरपेक्ष नेताको स्थापना ।

अधिकारीहरूले पहिलो दुई लक्ष्य सैन्य रूपमा सम्भव भए पनि तेस्रो र चौथो बुँदा यथार्थभन्दा टाढा रहेको निष्कर्ष निकाले ।

सीआईए निर्देशकले इजरायली प्रधानमन्त्रीको सत्ता परिवर्तनको योजनालाई हास्यास्पद भने । विदेशमन्त्री मार्को रुबियोले यसलाई सिधै बकवास भनिदिए ।

तर, ट्रम्पले यी चेतावनीहरूलाई बेवास्ता गर्दै सत्ता परिवर्तनलाई उनीहरूको समस्या भएको बताए र केवल सैन्य आक्रमणमा केन्द्रित हुने निर्णय गरे ।

छलफल जारी रहँदा प्रशासनभित्र चिन्ताहरू बढ्दै गए । सेनाप्रमुख जनरल ड्यान केनले इरानविरुद्धको ठूलो अभियानले अमेरिकी हतियारको भण्डार रित्तिने र हर्मुज जलयोजक सुरक्षित राख्न अत्यन्त कठिन हुने चेतावनी दिए ।

यस युद्धले क्षेत्रीय अराजकता निम्त्याउने, ठूलो संख्यामा हताहती हुने र ट्रम्पका मतदाताहरूले यसलाई विश्वासघातको रूपमा लिने उपराष्ट्रपति जेडी भ्यान्सले बताए । इरानले आफ्नो अस्तित्वको लडाइँमा कस्तो बदला लिन्छ भन्ने कुराको कुनै सैन्य अनुमान लगाउन नसकिने भन्दै उनले सचेत गराए ।

ह्वाइट हाउस बाहिरबाट कन्जर्भेटिभ टिप्पणीकार टकर कार्लसनले पनि ट्रम्पलाई युद्धबाट रोक्न खोजेका थिए । तर, ट्रम्पले उनलाई फोनमा आश्वस्त पार्दै भने, ‘मलाई थाहा छ, तिमी चिन्तित छौ, तर सबै ठीक हुनेछ । किनकि सधैं यस्तै (ठीक) हुन्छ ।’

अन्ततः, विरोधका स्वरहरू मत्थर भए । निर्णायक क्षणमा भ्यान्सले पनि भने, ‘मलाई लाग्छ, यो नराम्रो विचार हो । तर, तपाईं यो गर्न चाहनुहुन्छ भने म तपाईंलाई साथ दिनेछु ।’

२६ फेब्रुअरीसम्म बहस सकिइसकेको थियो। अन्तिम बैठक औपचारिकता मात्र थियो । रुबियोले फेरि स्पष्ट पारे– लक्ष्य इरानको मिसाइल कार्यक्रम नष्ट गर्नु हो भने त्यो सम्भव छ तर जनविद्रोहको अपेक्षा गर्नु गलत हुनेछ ।

ट्रम्पले दृढताका साथ भने, ‘मलाई लाग्छ, हामीले यो गर्नैपर्छ ।’ भोलिपल्ट एयर फोर्स वनबाट उनले आदेश जारी गरेः ‘अपरेशन एपिक फ्युरीलाई स्वीकृति दिएको छु । कुनै पनि हालतमा नरोक्नू । शुभकामना ।’

न्युयोर्क टाइम्सको विश्लेषणले देखाउँछ– यो निर्णय सूचनाको अभावमा नभई उपलब्ध सूचनाको गलत प्रयोगका कारण लिइएको थियो । युद्धका जोखिमहरू स्पष्ट रूपमा पहिचान गरिएका थिए तर रणनीतिको आधार भने छिटो र निर्णायक सफलताको संकुचित अनुमानलाई बनाइयो ।

परिणामले अहिले अपेक्षा र वास्तविकताबीचको ठूलो खाडल देखाएको छ । इरानको सत्ता जोगिएको छ, उसको बदला लिने क्षमता कायमै छ र विश्व ऊर्जा प्रवाहमा उसको नियन्त्रण अझै बलियो छ ।

‘तेहरान ट्य्राप यही विरोधाभासमा लुकेको छ । इरानलाई कमजोर बनाउन सुरु गरिएको युद्धले उसलाई झन् बढी रणनीतिक सान्दर्भिकता दिलाएको छ । छोटो अवधिको सैन्य सफलतामा ध्यान दिँदा अमेरिका एउटा यस्तो द्वन्द्वमा फस्यो जहाँबाट निस्कने कुनै स्पष्ट र सुरक्षित बाटो थिएन ।

यो चेतावनीको असफलता नभई आत्मविश्वास र आवेगले गर्दा सावधानीलाई बेवास्ता गरिएको परिणाम थियो ।

Skip This