
काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना प्रविधि उद्योगले अनलाइनमार्फत सफ्टवेयर र सेवा खरिद गर्न डलर प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ ।
‘सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारणमा आधारित उद्योगले अनलाइनमार्फत सफ्टवेयर लगायतका सूचना प्रविधिसँग सम्बन्धित सेवा खरिद गर्ने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाले वार्षिक अधिकतम ३ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्नेछन्,’ राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्था सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भनेको छ।
यस्ता उद्योगले सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेमा मुद्रा सटहीको यस्तो वार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम समेत थप गरी बढीमा ५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म हुने निर्देशनमा उल्लेख छ ।
यस्तै विदेश भ्रमणमा जाने नेपालीहरुलाई कुनै देशले भिसा प्रयोजनका लागि विदेशी मुद्रामा धरौटी माग गरेमा इलेक्ट्रोनिक कार्ड जारी गरी सटही सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकले त्यस्तो कार्ड जारी गर्न सक्नेछ ।
कार्ड जारी गर्दा आवेदकको सम्बन्धित देशको भिसा प्रदान गर्ने निकाय/संस्थाले भिसा प्रयोजनका लागि धरौटी माग गरेको पुष्टी हुने प्रमाणित कागजातसहितको निवेदन लिनुपर्नेछ । त्यस्तै ५ हजार अमेरिकी डलर भन्दा बढीको परिवर्त्य विदेशी मुद्रा माग गर्ने आवेदकको स्थायी लेखा नम्बर लिनुपर्नेछ । आवेदकको प्यान नभएमा नाता प्रमाणित हुने कागजातसहित निजको एकाघर परिवारको प्यान लिनुपर्नेछ ।
आवेदकको बैंक तथा वित्तीय संस्थामा रहेको नेपाली रुपैयाँको खाता खर्च गरी प्रचलित विनिमय दरले हुन आउने माग बमोजिमको परिवर्त्य विदेशी मुद्रा बराबरको धरौटी वापतको रकम आवेदकको विदेशी मुद्राको खातामा जम्मा गर्नुपर्ने निर्देशनमा उल्लेख छ । उक्त विदेशी मुद्राको खाताबाट धरौटी रकम भुक्तानीको लागि इलेक्ट्रोनिक कार्ड जारी गर्नुपर्नेछ ।
धरौटी रकम फिर्ता हुँदा आवेदकको विदेशी मुद्राको खातामा फिर्ता हुनुपर्ने र रकम फिर्ता हुनासाथ सो रकम बराबरको प्रचलित विनिमयदरले हुने रकम सम्बन्धित व्यक्तिको नेपाली रुपैयाँको खातामा तत्काल जम्मा गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
धरौटी रकम भुक्तानी भएका आवेदकहरुको भिसा प्राप्त भए/नभएको तथा धरौटी रकम फिर्ता भए/नभएको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्नुपर्नेछ ।










प्रतिक्रिया