
काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । अर्थतन्त्र र मौद्रिक नीतिका विज्ञका रूपमा चिनिने भट्टले अब मुलुकको विकास योजना तर्जुमा गर्ने सर्वोच्च निकायको नेतृत्व सम्हाल्नेछन्।
डोटी जिल्लामा जन्मिएका डा. भट्टले साढे दशक नेपाल राष्ट्र बैंकमा विताएका छन । उनले अमेरिकाको वेन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । त्यसअघि उनले सोही विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र अमेरिकाकै विलियम्स कलेजबाट डेभलपमेन्ट इकोनोमिक्समा स्नातकोत्तर गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट एमबिए गर्दा उनले स्वर्ण पदक प्राप्त गरेका थिए । उनले नेपाल विद्या भूषण ‘क’ (गोल्ड मेडल) महेन्द्र विद्या भूषण र सरदार गुञ्जमान सिंह पदक जस्ता प्रतिष्ठित सम्मानहरू समेत प्राप्त गरेका छन् ।
डा. भट्टले दुई दशकभन्दा लामो समय नेपाल राष्ट्र बैंकमा रहदाँ उनले विभिन्न विभागमा रहेर काम गरेका छन् । राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा गभर्नरको कार्यालय, आर्थिक अनुसन्धान विभाग, बैंक सुपरीवेक्षण विभाग र भुक्तानी प्रणाली विभाग जस्ता महत्त्वपूर्ण विभागहरूको नेतृत्व सम्हालिसकेका अनुभवी अधिकारी हुन् ।
आम सर्वसाधारणकाबीच उनी राष्ट्र बैंकको प्रवक्ताका रूपमा बढी परिचित छन् । उनले २०७६ माघदेखि २०७७ चैत र २०७८ पुसदेखि २०८१ साउनसम्म गरी दुई पटक राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए।
योजना आयोगको उपाध्यक्ष बन्नुअघि उनले अर्थ मन्त्रालयमा आर्थिक सल्लाहकार (अप्रिल २०२३ देखि फेब्रुअरी २०२४ सम्म) को रूपमा काम गरिसकेका छन्।
उनले सन् २००३ देखि २००५ सम्म अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपाल कार्यालयमा अर्थशास्त्रीका रूपमा काम गरेका थिए। उनले कर्जा सूचना केन्द्रको अध्यक्ष र नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समिति सदस्यका रूपमा पनि अनुभव बटुलेका छन्।
अर्थतन्त्रका जटिल विषयलाई सरल भाषामा विश्लेषण गर्न सक्ने क्षमता भएका डा. भट्टका विभिन्न पत्रपत्रिका तथा अनलाइनमा सयौं विश्लेषणात्मक लेख प्रकाशित छन् ।
उनी काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा पनि संलग्न रहँदै आएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर कामु गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत नगर्दा उनलाई गभर्नर बनाउने विषय विवादित भएको थियो ।
त्यसपछि गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका डा. विश्व पौडेललाई तत्कालीन सरकारले गभर्नर नियुक्त गरेको थियो।
पछि पौडेल गभर्नर बनेपछि डा. भट्टको राजीनामा अस्वीकृत गरेर उनलाई पुनः जिम्मेवारीमा फर्काए । भट्टलाई गभर्नर कार्यालको जिम्मेवारी दिइयो ।
उनी कात्तिक ६ गते राष्ट्र बैंकबाट अवकाश भएका थिए ।
मुलुकको अर्थतन्त्र दबाबमा रहेको वर्तमान अवस्थामा, अर्थतन्त्रको भित्री संरचना र नीतिगत पक्षलाई राम्रोसँग बुझेका डा. भट्टको नियुक्तिलाई अर्थ क्षेत्रले सकारात्मक रूपमा लिएको छ ।
आगामी दिनमा योजना आयोगमार्फत मुलुकको विकासका प्राथमिकताहरू तय गर्न र आर्थिक सुधारका एजेन्डाहरू अघि बढाउन उनको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।










प्रतिक्रिया