
एजेन्सी । स्वदेशमै डिजाइन गरिएको एक रियाक्टरले सोमबार आणविक प्रतिक्रिया सुरु गरेसँगै भारत आफ्नै आणविक इन्धन उत्पादन गर्ने दिशामा एक कदम नजिक पुगेको छ । यो बिजुली उत्पादन सुरु गर्नुअघिको एक महत्त्वपूर्ण चरण हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस महत्त्वपूर्ण उपलब्धिलाई सार्वजनिक गर्दै भने, ‘आज भारतले आफ्नो नागरिक आणविक यात्रामा एक निर्णायक कदम चालेको छ र आफ्नो आणविक कार्यक्रमको दोस्रो चरणलाई अगाडि बढाएको छ ।’
कलपक्कमस्थित स्वदेशी डिजाइन र निर्माणमा बनेको प्रोटोटाइप फास्ट ब्रिडर रियाक्टरले क्रिटिकलिटी प्राप्त गरेको उनले थपे । त्यो आफैं दिगो आणविक श्रृंखलाबद्ध प्रतिक्रिया सुरु हुने अवस्था हो ।
‘यो उन्नत रियाक्टरले आफूले उपभोग गर्ने भन्दा बढी इन्धन उत्पादन गर्न सक्षम छ जसले हाम्रो वैज्ञानिक क्षमताको गहिराइ र इन्जिनियरिङ उद्यमको शक्तिलाई प्रतिबिम्बित गर्छ,’ प्रधानमन्त्रीले भने ।
यसलाई ‘हाम्रो विशाल थोरियम भण्डारको उपयोग गर्ने दिशामा एक निर्णायक कदम’ भन्दै मोदीले यो उन्नत रियाक्टर आफूले उपभोग गर्ने भन्दा बढी इन्धन उत्पादन गर्न सक्षम रहेको बताए ।
यो उपलब्धि विश्वव्यापी ऊर्जा अनिश्चितताको समयमा आएको छ जसमा मध्यपूर्वको युद्ध पनि सामेल छ । युद्धले इन्धन आपूर्तिमा अवरोध पुग्न सक्ने चिन्ता बढाएको छ ।
यसअघि सन् २०२४ मा मोदीले तमिलनाडुको कलपक्कममा भारतको पहिलो स्वदेशी फास्ट ब्रिडर रियाक्टर (५०० एमडब्ल्यूई) मा कोर लोडिङको सुरुवातको अवलोकन गरेका थिए ।
उनले रियाक्टर भल्ट र आणविक रियाक्टरको नियन्त्रण कक्षको भ्रमण गरे र केन्द्रका मुख्य विशेषताहरूबारे जानकारी लिए ।
एकपटक यो रियाक्टर सेवामा सञ्चालन भएपछि व्यावसायिक रूपमा फास्ट ब्रिडर रियाक्टर सञ्चालन गर्ने भारत रुसपछि विश्वको दोस्रो देश हुनेछ ।
एक आधिकारिक विज्ञप्ति अनुसार, नयाँ दिल्लीले आणविक इन्धन चक्रको सम्पूर्ण क्षेत्रलाई समेट्ने व्यापक क्षमताहरू विकास गरेको छ ।
भारतको सबैभन्दा उन्नत आणविक रियाक्टर प्रोटोटाइप फास्ट ब्रिडर रियाक्टर निर्माण र सञ्चालन गर्न सन् २००३ मा भारतीय नाभिकीय विद्युत् निगम लिमिटेडको स्थापनासँगै यस कार्यक्रमको जग राखिएको थियो ।
सरकारले जनाएअनुसार, पीएफबीआरलाई एमएसएमई लगायत २०० भन्दा बढी भारतीय उद्योगहरूको महत्त्वपूर्ण योगदानमा भाविनीद्वारा पूर्ण रूपमा स्वदेशमै डिजाइन र निर्माण गरिएको हो ।
फास्ट ब्रिडर रियाक्टरले सुरुमा युरेनियम–प्लुटोनियम मिश्रित अक्साइड इन्धन प्रयोग गरेर काम गर्नेछ । यसको वरिपरि रहेको युरेनियम–२३८ को तहले थप इन्धन उत्पादन गर्न आणविक रूपान्तरण प्रक्रिया अपनाउनेछ । त्यसैले यसलाई ब्रिडर (प्रजनक) भनिएको हो ।
यस चरणमा थोरियम–२३२ लाई ब्ल्यांकेट सामग्रीको रूपमा प्रयोग गर्ने योजना पनि छ यद्यपि यो आफैमा विखण्डनीय पदार्थ होइन ।
रूपान्तरण प्रक्रिया मार्फत थोरियमले विखण्डनीय युरेनियम–२३३ सिर्जना गर्नेछ जुन कार्यक्रमको तेस्रो चरणमा इन्धनको रूपमा प्रयोग गरिनेछ । यसरी एफबीआर कार्यक्रमको तेस्रो चरणको लागि एक खुड्किलो हो जसले भारतको प्रचुर थोरियम भण्डारको पूर्ण सदुपयोगको लागि बाटो प्रशस्त गर्नेछ ।
सुरक्षाको दृष्टिकोणले, पीएफबीआर उन्नत तेस्रो पुस्ताको रियाक्टर हो जसमा अन्तर्निहित निष्क्रिय सुरक्षा सुविधाहरू छन् । त्यसले आपतकालीन अवस्थामा प्लान्टलाई तुरुन्त र सुरक्षित रूपमा बन्द गर्ने सुनिश्चित गर्छ ।










प्रतिक्रिया