
काठमाडौं । विगत ४७ वर्षमा अमेरिका र इरानबीचको भूराजनीतिक सम्बन्ध अधिकतम दबाबको रणनीतिका साथै युद्धले परिभाषित हुँदै आएको छ । इरानलाई आफ्नो र इजरायलको अधीनस्थ बनाउनका लागि अमेरिकाले लामो समयदेखि प्रयास गरिरहेकोमा सन् २०२६ मा आएर त्यो प्रयास पूर्णकालीन युद्धमा परिणत भएको छ ।
तर, जेपी मर्गन प्राइभेट बैंकले अप्रिल ६ मा प्रकाशन गरेको गम्भीर विश्लेषणमा इरान विरुद्धको परम्परागत सैन्य विजयको ढोका बन्द हुँदै गएको संकेत गरेको छ ।
माइकल सेम्बालेस्टले लेखेको ‘सेलम्स लट: गल्फ वार अप्डेट, द पर्ज अफ सिनियर यूएस मिलिटरी अफिसर्स, ए यूएस फसिल फ्युल रिलायन्स फिभर ड्रीम’ शीर्षकको रिपोर्टले औद्योगिक अवरोध, परिवर्तनशील आर्थिक यथार्थ र विनाशकारी प्रविधिको लोकतन्त्रीकरणका कारण एउटा महाशक्ति कसरी बाँधिएको छ भन्ने चित्र प्रस्तुत गर्छ ।
इरानविरुद्ध कडा कदम चाल्नुपर्छ भन्नेहरूले अमेरिका अहिले ऊर्जामा शुद्ध निर्यातक भएकाले विश्वव्यापी तेल संकटबाट सुरक्षित छ भन्ने तर्क गर्छन् । तर, जेपी मर्गनको रिपोर्टले यसलाई एउटा भ्रम भनेको छ ।
अमेरिकाले कीर्तिमानी मात्रामा तेल र ग्यास उत्पादन गरे पनि यो विश्वव्यापी बजारसँग जोडिएको छ । इरानले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्गका रूपमा रहेको हर्मुज जलयोजकमा अवरोध गर्दा विश्वव्यापी तेलको मूल्य आकाशिएको छ । (यही कारणले गर्दा ट्रम्पले इरानलाई हर्मुज खुलाउन बारम्बार आग्रह गर्दै आएका छन् र अश्लील गालीगलौजमा उत्रिएका छन् ।)
अमेरिकामा खपत हुने तेल विश्वव्यापी बेन्चमार्कहरूसँग जोडिएकाले टेक्ससले जतिसुकै तेल उत्पादन गरे पनि अमेरिकी उपभोक्ताहरूले प्रति ग्यालन ५ वा त्यसभन्दा बढी डलर तिर्नुपर्ने हुन्छ (अहिले अमेरिकाका २० वटा राज्यमा प्रति ग्यालन ४ डलर पर्छ) ।
यसबाहेक अमेरिकासँगको युद्ध जित्नका लागि जलयोजक पूर्ण रूपमा बन्द गर्नुपर्दैन भन्ने कुरा इरानले बुझेको छ । उसले त्यो जलमार्ग भएर जाने जहाजहरूमा कर लगाउन थालेको छ ।
जेपी मर्गनको नोटले उल्लेख गरेअनुसार, इरानले मार्ग अवरोध गर्ने धम्की दिएर वार्षिक ७० देखि ९० अर्ब डलरसम्म राजस्व उठाउन सक्छ ।
यस्तो अवस्थामा अमेरिकाले दुईथरी विकल्प सामना गर्नुपर्नेछः कि त विश्व अर्थतन्त्रलाई टाट पल्टाउने गरी युद्ध लडिरहने कि त नयाँ र महँगो यथार्थलाई स्वीकार गर्ने । त्यसैले अमेरिकाको मध्यम वर्गको आर्थिक कमजोरी अहिले तेहरानका लागि रणनीतिक हतियार बनेको छ ।
अमेरिकाले छोटो समयमा आफ्ना शत्रुहरूभन्दा बढी हतियार उत्पादन गर्न नसक्ने महसुस गरेपछि इरान विरुद्धको युद्ध पेन्टागनका खेर गएको दाउ बन्न लागेको छ
आधुनिक युद्धको ‘बिग्रिएको अर्थशास्त्र’ जेपी मर्गनको विश्लेषणमा चकित पार्ने खुलासा हो । एक शताब्दीदेखि अमेरिकाले युद्ध मैदानमा प्रभुत्व जमाउन अत्यन्त परिष्कृत र महँगा हतियारहरू बनाउँदै संख्याभन्दा गुणस्तरमा जोड दिँदै आएको छ ।
तर, सस्तो र ठूलो संख्यामा उत्पादन गरिने ड्रोनहरू (जस्तै इरानी डिजाइनका शाहेद श्रृंखला) ले रक्षाको लागत र लाभको विश्लेषणलाई उल्टाइदिएका छन् ।
एउटा ड्रोनको लागत २० हजारदेखि ५० हजार डलरसम्म मात्र हुन्छ । तर, ती ड्रोन खसाल्न प्रयोग गरिने इन्टरसेप्टर मिसाइलहरू (जस्तै, एसएम–२) को लागत प्रति प्रहार लाखौं डलर पर्छ ।
अमेरिकाले हाल हजारौं डलरका उपकरणहरूका विरुद्ध रक्षा गर्न अर्बौं डलर खर्च गरिरहेको छ । यो आर्थिक भार मात्र नभई औद्योगिक भार पनि हो । इरान र उसका सहयोगीहरू (हिजबुल्लाह, हुती आदि) सँगको लामो द्वन्द्वमा अमेरिकाका उच्चस्तरीय हतियारहरू केही हप्तामै सकिन सक्छन् । रक्षा आक्रमणभन्दा १०० गुणा महँगो भएको अवस्थामा महाशक्तिसँग रहेको पैसा वा गोलाबारुद समाप्त हुँदै जान्छ ।
अमेरिकी औद्योगिक आधार अब उच्च तीव्रताको लामो युद्धका लागि सक्षम छैन भनी जेपी मर्गनको रिपोर्टले विस्फोटक तथ्य उजागर गरेको छ ।
तथ्यांक अनुसार, लाल सागरमा भएको पोहोर सालको जलसैनिक अपरेशनमा अमेरिकाले चार वर्षको उत्पादन बराबरको टोमाहक मिसाइलहरू प्रयोग गरेको थियो । हुती जस्ता गैर–राज्य पक्षसँगको सीमित संलग्नताले वर्षौंको मौज्दात सिध्याउँछ भने इरान जस्तो सार्वभौम राष्ट्रसँगको पूर्ण युद्धले अमेरिकाको भण्डार द्रुत गतिमा रित्तो बनाइदिनेछ ।
अमेरिकी जलसेनासँग अहिले सन् १९८० को दशकको तुलनामा कम जहाजहरू छन् र धेरै नयाँ जहाजहरू उच्च–जोखिमयुक्त वातावरणका लागि उपयुक्त छैनन् । यसबाहेक, अमेरिकाको बारुदी सुरुङ हटाउने क्षमतामा पनि ह्रास आएको छ । त्यो ह्रास पर्सियाली खाडीको धेरै गहिराइ नभएको र साँघुरो पानीमा अमेरिकाको गम्भीर कमजोरी हो । अझ, त्यसमाथि इरानले दशकौंदेखि त्यहाँ सुरुङ बिछ्याउने कला विकास गरेको छ ।
अमेरिकाले छोटो समयमा आफ्ना शत्रुहरूभन्दा बढी हतियार उत्पादन गर्न नसक्ने महसुस गरेपछि इरान विरुद्धको युद्ध पेन्टागनका खेर गएको दाउ बन्न लागेको छ ।
युद्धलाई नक्सा र गोलाबारुदको सन्दर्भमा चर्चा गर्ने गरिन्छ । तर, जेपी मर्गनको रिपोर्टले जलवायु परिवर्तनलाई युद्धको मानवीय अवरोधका रूपमा प्रस्तुत गरेको छ । पर्सियाली खाडी पृथ्वीको सबैभन्दा तातो ठाउँहरूमध्ये एक हो ।
गर्मीका महिनामा त्यहाँको तापक्रम ‘वेट–बल्ब’ विन्दुमा पुग्छ । त्यस अवस्थामा मानव शरीरले पसिना मार्फत आफूलाई चिसो राख्न सक्दैन ।
यी परिस्थितिहरूमा बाहिरी सैन्य अपरेशनहरू लामो समयसम्म सञ्चालन गर्न असम्भव हुन्छ । इलेक्ट्रोनिक्स उपकरणहरू तातेर बिग्रिन्छन् र मानवीय क्षमता समाप्त हुन्छ । विश्वव्यापी तापक्रम बढ्दै जाँदा मध्यपूर्वमा ‘युद्ध गर्ने मौसम’ को समयावधि घट्दै गएको छ । यस वातावरणीय यथार्थले अमेरिकाको निरन्तर सैन्य उपस्थिति कायम राख्ने क्षमतालाई सीमित गर्छ र यसले इरानलाई प्राकृतिक रूपमै घरेलु मैदानको फाइदा उपलब्ध गराउँछ ।
अमेरिकी सैन्य कमान्डको आन्तरिक अवस्था जेपी मर्गनको रिपोर्टमा उल्लेख गरिएको अर्को महत्त्वपूर्ण कमजोरी हो । रिपोर्टका अनुसार, पछिल्लो १४ महिनामा ९ जना वरिष्ठ जलसेना अधिकारीहरूलाई पदबाट हटाइएको छ जबकि यसअघिको १५० वर्षमा जम्मा ११ जनालाई मात्र हटाइएको थियो ।
अमेरिकाका लागि चीनसँगको प्रतिस्पर्धाको बेला आफ्ना रणनीतिक भण्डारहरू र आर्थिक स्रोतहरू सिध्याउनु हार नै हो । इरानका लागि हारको अर्थ विनाश त हो तर उसले क्षेत्रीय प्रभाव कायम राख्नका लागि त्यो विनाश सहने क्षमता प्रमाणित गरिसकेको छ
यो उच्च हेरफेरले नेतृत्व, तत्परता वा अमेरिकी जलसैनिक रणनीतिको दिशामा रहेको मौलिक असहमतिलाई संकेत गर्छ । आफैंभित्र संघर्ष गरिरहेको र जवाफदेहितासँग जुधिरहेको सेनाले इरान जस्तो क्षेत्रीय शक्ति विरुद्ध जटिल युद्ध कायम राखिरहन सक्दैन । सानातिना विजयहरूले ठूलो रणनीतिक सफलता नदिलाउँदा नेतृत्वमा थकान उत्पन्न हुन्छ ।
अमेरिकाले छिटो विजयको ग्यारेन्टी गर्न सक्दैन, विश्व अर्थतन्त्रलाई जोगाउन सक्दैन र इरानले ड्रोन बनाएभन्दा छिटो मिसाइल आपूर्ति गर्न सक्दैन भने युद्ध अन्त्य हुन्छ त ?
अन्त्य हुन्छ होला तर कुनै औपचारिक शान्ति सम्झौता मार्फत होइन । अहिले विश्व ‘कमजोरी मार्फत निवारण’ (डिटरेन्स थ्रु भल्नरेबिलिटी) को युगमा प्रवेश गर्दैछ । अमेरिकाका कमजोरीहरू छताछुल्ल भएकाले युद्धको लागत कुनै पनि सम्भावित लाभभन्दा निकै बढी छ ।
जेपी मर्गनको नोटले सुझाव दिएअनुसार, ऊर्जा संक्रमण वा एसियामा सैन्य ध्यान केन्द्रित गर्ने अमेरिकाको पहल इरानी प्रतिरोधको कठोर यथार्थसँग ठोकिएर कमजोरीमा परिणत हुँदैछ । इरानले सस्तो लागतमै विश्व अर्थतन्त्रलाई बन्धक बनाउने तरिका फेला पारेको छ र अमेरिकाले आफ्नो सुरक्षाकवच महँगो र कमजोर दुवै रहेको कुरा अनुभव गर्न थालेको छ ।
जेपी मर्गनले औंल्याएका औद्योगिक, आर्थिक र वातावरणीय कमजोरीहरूले इरानसँगको युद्ध दुवै पक्षको हार हुने स्थितिमा पुग्ने देखाउँछन् । अमेरिकाका लागि चीनसँगको प्रतिस्पर्धाको बेला आफ्ना रणनीतिक भण्डारहरू र आर्थिक स्रोतहरू सिध्याउनु हार नै हो । इरानका लागि हारको अर्थ विनाश त हो तर उसले क्षेत्रीय प्रभाव कायम राख्नका लागि त्यो विनाश सहने क्षमता प्रमाणित गरिसकेको छ ।
यी कमजोरीहरूको महसुस हुनु नै शान्तिपूर्ण निकासको माध्यम हुन सक्छ । युद्धको आर्थिक र सैन्य भार थाम्न सकिँदैन भनी एउटा महाशक्तिले स्वीकार गरेपछि कूटनीति नै एक मात्र तार्किक विकल्प बन्न पुग्छ । विजयको घोषणा गरेर युद्ध अन्त्य गर्नुमै अमेरिका र बाँकी विश्वको हितमा छ ।










प्रतिक्रिया