११ पटकसम्म बैठकमा अनुपस्थित भएर कारबाहीमा परेकी श्रम मन्त्रीकी श्रीमती बिमा बोर्डमा नियुक्त

8.4k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रममन्त्री दीपकुमार शाहकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्ड सदस्यमा नियुक्त गरेकी छन् । यसअघि बोर्ड सदस्य हुँदा ११ पटकसम्म बैठकमा अनुपस्थित भएपछि कारबाहीमा परेकी जुनु श्रेष्ठलाई मन्त्री मेहताले पुन: स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त गरेकी हुन् ।

जुनुलाई २०८० कार्तिकमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियुक्त गरेका थिए । ४ वर्षको कार्यकाल भएपनि श्रेष्ठ यस अघि नै निलम्बनमा परेकी थिइन् । उनी बोर्डमा नियुक्त भएको समय भने साढे तीन वर्ष मात्रै भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनुलाई रिक्त रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियुक्त गरेको जानकारी क्लिकमान्डुलाई दिएको छ । ‘रिक्त रहेको बोर्ड सदस्यमा ४ वर्षका लागि जुनु श्रेष्ठलाई नियुक्त गरिएको छ । उहाँ को हो र कोसँग नाता सम्बन्ध छ भनेर हामीले खोज्दै हिँडेका छैनौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

स्वास्थ्य बिमा बोर्डमा जुनु यसअघि नै नियुक्त भएकी थिइन् । बोर्डमा उनी फेरि नियुक्त भएर आएको विषयमा बोर्डका पदाधिकार र कर्मचारीलाई भने जानकारी नरहेको स्रोतको भनाइ छ ।

स्वास्थ्य बिमा ऐनले जानकारीबिना लगातार तीन पटक बैठकमा अनुपस्थित भएमा पद निलम्बन गर्न सक्ने र पद रिक्त हुने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार लगातार ११ पटकसम्म बोर्ड बैठकमा उपस्थित नभएकी जुनुलाई कारबाही गरिएको भए पनि फेरि उनैलाई स्वास्थ्य मन्त्रालयले नियुक्त गरेर पठाएको पाइएको हो ।

सुशासनका नारा लिएर अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुईतिहाइ नजिकको बहुमत प्राप्त गरेर सरकार बनाएको छ । रास्वपाका सभापति रवि लामिछानेले संसदबाट राजनीतिक नियुक्त लिएकाहरुले राजीनामा दिएर रास्वपालाई काम गर्न सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

यसअघिका सरकार नातावाद र कृपावाद लाग्ने गरेको र पुराना राजनीतिक दलले आफन्त नियुक्त गर्ने गरेको आरोप लाग्ने गरेको थियो र जनतामा रहेको यही वितृष्णालाई रास्वपाले चुनावमा मुद्दा समेत बनाएको थियो । नजिकका, नातेदार, दलगत रुपमा नियुक्ति नदिइ योग्य र मेरिटका आधारमा नियुक्त गरिने रास्वपाको दाबीलाई यो नियुक्तिले गिज्याएको भन्दै आलोचना भइरहेको छ ।

नियुक्त गरिएको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि मन्त्रीकी श्रीमती जुनुले भने त्यसको खण्डन गरेकी छिन् ।

आफू नियुक्त नभएको र पत्रसमेत नलिएको उनले स्पष्टीकरण दिएकी छन् । ‘स्वास्थ्य बीमा बोर्ड सदस्य सम्बन्धि आइरहेको खबर प्रति मेरो कुनै सम्बन्ध छैन र मैले मनोनयन सम्बन्धि कुनै पत्र पनि बुझेको छैन,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्।

तर, स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सोमबार जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्ड सदस्यमा नियुक्त गरिएको छ । ‘जुनु श्रेष्ठलाई सोमबार बोर्ड सदस्य नियुक्त गर्ने निर्णय भएको छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो , ‘ पत्र पठाउने काम हुँदै होला सायद ।’

जुनुले यस अघिको नियुक्तिपत्र सामाजिक सञ्जालमा पोस्ट्याउँदै लेखेकी छिन् ‘ स्वास्थ्य बीमा बोर्ड सदस्यमा मेरो नियुक्ति २०८० सालमा भएको हो । २०८० सालमा भएको यो नियुक्ति चार वर्ष अर्थात २०८४ सालसम्मका लागि हो । अहिलेको पुनः नियुक्तिको विषय मेरो जानकारीभन्दा बाहिरको विषय हो । साथै, मैले यसबारे कुनै आधिकारिक जानकारी पाएको छैन् । तसर्थ अहिलेको नियुक्ति सम्बन्धि आइरहेको खबर भ्रामक हो र त्यसप्रति मेरो खेद छ।’

Skip This