कसैको उचाल्ने वा थेचार्ने कामबाट प्रभावित नहुन लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आग्रह

469
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा पछिल्लो समय देखिएको उतारचढाव र त्रासबाट नआत्तिन लगानीकर्तालाई आग्रह गरेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले बजारमा साना लगानीकर्तालाई उचाल्ने वा थेचार्ने काम भएको हुन सक्ने भन्दै नआत्तिन आग्रह गरेका हुन् ।

पछिल्लो केही दिन यता लगातार सेयर बजारमा उच्च अंकको गिरावट आइरहेको समयमा अर्थमन्त्री वाग्लेले लगानीकर्ता अतालिनुपर्ने स्थिति नरहेको बताएका हुन् । ‘बजारमा साना लगानीकर्तालाई उचाल्ने वा थेचार्ने गिरोह सक्रिय हुनसक्छ,’ वाग्लेले भने, ‘हालको स्थितिलाई सरकारले नजिकबाट हेरिरहेको छ । कसैले मूल्य घटाएर किन्न वा बढाएर बेच्नका लागि विभिन्न हल्ला फैलाएको हुन सक्छ, त्यसमा अतालिनुपर्ने छैन ।’

उनले यति बलियो, उदार र निजी क्षेत्रमैत्री सरकार आएको बेलामा स्टक मार्केट बढ्नुपर्नेमा उल्टो गतिमा गएको भन्दै यसले तादात्म्य नमिलेको इंगित गर्ने बताए । ‘स्टक मार्केट अर्थतन्त्रको लय तथा संरचनासँग जोडिनु पर्ने हो,’ उनले भने, ‘तर, हालको स्थिति हेर्दा बढी नै काम गर्नुपर्ने देखियो । रास्वपाले बाचापत्रमा नै पुँजीबजार सुधारको विषय राखेकाले त्यसलाई लगानीकर्ताले ध्यानमा राख्न जरुरी छ ।’

उनले सेयर कारोबार हुँदा बैंकबाट ट्रान्जेक्सन हुने, कर तिरेको र सबै कुरा पारदर्शी ढंगमा देखिने तथा बदमासी गरेको पनि देखिने भएकाले गलत नगर्नेहरु डराउनु नपर्ने पनि बताए ।

‘अब हामी डिजिटलाइजेसनमा आमूल सुधारहरू गर्दैछौं, त्यसको एउटा उदाहरण स्टक मार्केट पनि हो,’ वाग्लेले भने, ‘सम्पत्ति कहाँबाट ल्याइस्? भनेर यतिकै कसैलाई धरपकड गर्दैनौं । झन् साना लगानीकर्तालाई अत्याउने प्रश्नै रहेन ।’ उनले साना लगानीकर्तासँग जोडेर बजारलाई आतंकित पार्ने काम भएको भन्दै त्यो राम्रो नभएको बताए ।