सूचना प्रविधि, कृषि, परियोजना बिमा ३ करोडसम्मको कर्जामा जोखिम भार घट्यो

217
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ करोड रुपैयाँसम्म साना तथा मझौला व्यवसाय कर्जाको जोखिम भार घटाएको छ । अब ३ करोडसम्मका कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योगका कर्जाहरूको जोखिम भार ६० प्रतिशत मात्रै हुने भएको छ ।

यसअघि रेगुलेटरी रिटेल पोर्टफोलियोअन्तर्गत वर्गीकरण हुने साढे २ करोड रुपैयाँसम्मका सबै कर्जामा ७५ प्रतिशत जोखिम भार हुने व्यवस्था थियो । अब भने कृषि, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रका ३ करोडसम्मका सबै कर्जाको जोखिम भार घटाएर ६० प्रतिशत बनाइएको हो ।

यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सुरक्षण गरिएको वा धितो राखिएको घर-जग्गाको प्रचलित बजार मूल्यमा कम्तीमा २५ प्रतिशतको मार्जिन राखेर पूर्ण रूपमा सुरक्षित गरिएको ३ करोडसम्मका कर्जामा पनि ६० प्रतिशत मात्रै जोखिम भार कायम भएको छ ।

यसअघि रेगुलेटरी रिटेल पोर्टफोलियोमा पर्ने साढे २ करोडसम्मका कर्जामा ७५ देखि १०० प्रतिशतसम्म जोखिम भार थियो । अब कर्जा सुरक्षण कोषबाट सुरक्षण गरिएको र धितो मूल्यांकनमा ५ प्रतिशत बढी मार्जिन भए पनि जोखिम भार ६० प्रतिशत हुने भएको छ ।

परियोजना बीमा गरिएको कर्जामा पनि जोखिम भार घटाइएको छ । परियोजना बीमा भएका ३ करोड रुपैयाँसम्मका कर्जामा पनि जोखिम घटाएर ६० प्रतिशत बनाइएको हो ।

सरकारले शासकीय सुधार सम्बन्धी १०० कार्यसूची घोषणा गर्दा कृषि, सूचना प्रविधि र एमएसएमई क्षेत्रका कर्जामा जोखिम भार घटाउने घोषणा गरेको थियो । सोही अनुसार राष्ट्र बैंकले आइतबार बैंकहरूलाई जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै जोखिम भार घटाएको हो ।

Skip This