युद्ध अन्त्य भएपछि पनि हर्मुजको निगरानी गरिरहने इरानको दाबी

588
Shares

एजेन्सी । युद्धपछि पनि महत्त्वपूर्ण हर्मुज जलयोजकबाट हुने जहाज यातायातको निगरानी गरिरहने इरानले बिहीबार संकेत गरेको छ । तर, उसले आवागमनमा कुनै प्रतिबन्ध नलगाउने कुरामा जोड दिएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार, इरानका कानुनी र अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उप–परराष्ट्रमन्त्री काजेम गरिबाबादीले इरान र ओमानलाई हर्मुज जलयोजकबाट हुने आवागमनको निगरानी गर्न अनुमति दिने एक प्रोटोकलको मस्यौदा तयार गरिरहेको बताए ।

तर गरिबाबादीले भनेअुसार, यस्तो निगरानीको अर्थ स्वभाविक रूपमा प्रतिबन्ध हुने छैन । बरु, यो सुरक्षित आवागमनलाई सहज र सुनिश्चित गर्न र यस मार्गबाट जाने जहाजहरूलाई राम्रो सेवा प्रदान गर्नका लागि हो ।’

अमेरिकी सरकारले भने इरानलाई यस जलयोजकमा कुनै पनि नियन्त्रण गर्ने कानुनी अधिकार नभएको कुरामा जोड दिँदै आएको छ जसलाई सामान्यतया अन्तर्राष्ट्रिय जलमार्गको रूपमा व्यवहार गरिँदै आएको छ ।

तर, युद्धको समयमा इरानले त्यहाँ आफ्नो अधिकारको दाबीलाई बारम्बार बढाउँदै लगेको छ । उसले भर्खरै त्यहाँबाट पार हुने जहाजहरूबाट महसुल उठाउने योजना बनाएको छ ।

यसको सबैभन्दा साँघुरो भागमा ओमानको उत्तरी विन्दुबाट नजिकैको इरानी भूभागसम्मको दूरी केवल २४ माइल छ । यसको अर्थ, जलयोजकको सबैभन्दा साँघुरो विन्दु पूर्ण रूपमा दुई देशको क्षेत्रीय जलक्षेत्रभित्र पर्छ ।

तर, अन्तर्राष्ट्रिय कानुन अनुसार यो जलयोजक निर्बाध अन्तर्राष्ट्रिय जहाज सञ्चालनका लागि खुला छ । यस स्थितिलाई दशकौं पहिले संयुक्त राष्ट्रसंघको समुद्र सम्बन्धी कानुनले संहिताबद्ध गरेको थियो र यसलाई बाध्यकारी मानिन्छ । तर, इरानले सो महासन्धि अनुमोदन गरेको छैन र यसको क्षेत्राधिकारमा विवाद गर्दै आएको छ ।

अमेरिका–इजरायली सैन्य अभियान सुरु भएदेखि इरानले आफ्नो दक्षिणी तटमा रहेको जलयोजकबाट हुने धेरैजसो यातायातलाई अवरुद्ध गरेको छ जसकारण विश्वभर इन्धनको मूल्य बढेको छ । उसले मित्रराष्ट्रका जहाजहरूलाई मात्र इरानी अनुमति लिएर जान दिने बताएको छ र नाकाबन्दीको उल्लंघन गर्नेहरूलाई धम्की दिएको छ ।

कतिपय जहाजहरूमाथि आक्रमण पनि भएका छन् जसको दोष अन्य राष्ट्रहरूले इरानलाई लगाएका छन् ।

मलेसिया र फिलिपिन्स जस्ता केही देशहरूले हालैका दिनहरूमा इरानले उनीहरूका जहाजहरूलाई जान दिने वाचा गरेको बताएका छन् र इरानले केही चिनियाँ जहाजहरूलाई जलयोजक पार गर्न अनुमति दिएको छ ।

अमेरिका, युरोप र एसियाका कतिपय देशका अधिकारीहरूले व्यावसायिक जहाजहरूलाई युद्धपोतमार्फत स्कर्टिङ गर्ने (सुरक्षा दिएर लैजाने) विषयमा छलफल गरेका छन् । यो स्रोतसाधनको ठूलो परिचालन हुने काम हो तर अहिलेसम्म कुनै ठोस व्यवस्थामा सहमति हुन सकेको छैन ।