
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट बर्खास्त गरेका छन् ।
उनको ठाउँमा हालका लागि उप–महान्यायाधिवक्ता टोड ब्लान्चले कार्यवाहक महान्यायाधिवक्ताको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्पले जानकारी दिएका छन् ।
राष्ट्रपतिले ट्रुथ सोसलमा लेख्दै बोन्डी निजी क्षेत्रमा अत्यन्त आवश्यक र महत्त्वपूर्ण नयाँ जागिरमा जान लागेको उल्लेख गरेका छन् । उनले आफ्नो प्रशासनमा बोन्डीले गरेको कामको प्रशंसा गरे पनि उनी बाहिरिनुको कुनै ठोस कारण भने खुलाएका छैनन् ।
‘पाम बोन्डी एक महान् अमेरिकी देशभक्त र वफादार मित्र हुन् जसले गत वर्ष मेरो महान्यायाधिवक्ताको रूपमा निष्ठापूर्वक सेवा गरिन् । पामले देशभरि अपराध विरुद्धको ठूलो अभियानको नेतृत्व गर्दै उत्कृष्ट काम गरिन् जसका कारण हत्याका घटनाहरू सन् १९०० यताकै न्यून स्तरमा झरेका छन्,’ ट्रम्पले लेखेका छन् ।
यद्यपि, स्रोतका अनुसार ट्रम्प बोन्डीसँग धेरै कुरामा असन्तुष्ट थिए । विशेषगरी जेफ्री एपस्टीन फाइलहरूको व्यवस्थापन र ट्रम्पका राजनीतिक विरोधीहरूमाथि पर्याप्त अनुसन्धान वा मुद्दा नचलाएकोमा ट्रम्प निराश थिए ।
हालैका हप्ताहरूमा बर्खास्त हुने उनी दोस्रो क्याबिनेट सचिव हुन् । गत महिना ट्रम्पले क्रिस्टी नोएमलाई गृह सुरक्षा विभागको सचिवबाट हटाएका थिए । एक स्रोतका अनुसार, ट्रम्पले नोएमको बर्खास्तगी सहज भएको महसुस गरे जसले गर्दा अरूलाई हटाउन उनलाई थप आँट मिलेको छ ।
ट्रम्पले हालैका दिनहरूमा आफ्ना सहयोगीहरूसँग बोन्डीलाई हटाउने सम्भावनाबारे कुरा गरेका थिए र बुधबार उनीसँग व्यक्तिगत रूपमा यसबारे छलफल पनि गरेका थिए । उक्त कुराकानीलाई एक स्रोतले कठिन भनेको छ जहाँ ट्रम्पले बोन्डीलाई उनको भूमिका धेरै समय नरहने र निकट भविष्यमा उनलाई प्रतिस्थापन गरिने संकेत दिएका थिए ।
बोन्डीले एक्समा पोस्ट गर्दै आफूले अर्को महिनासम्म ब्लान्चलाई कार्यभार हस्तान्तरण गर्ने र त्यसपछि निजी क्षेत्रमा जाने बताएकी छन् । ‘अमेरिकालाई सुरक्षित बनाउने राष्ट्रपति ट्रम्पको ऐतिहासिक र सफल प्रयासको नेतृत्व गर्न पाउनु मेरो जीवनकै गौरवको कुरा हो,’ उनले लेखेकी छन् ।
स्रोतका अनुसार, बोन्डीलाई पछि अर्को जागिर दिइने आश्वासन दिइएको थियो । दुई व्यक्तिहरूका अनुसार, ट्रम्पले न्याय विभागबाट हटेपछि उनलाई न्यायाधीश नियुक्त गर्ने सम्भावनाको कुरा गरेका थिए ।
तर, उनी पूर्ण रूपमा सरकारी सेवाबाट बाहिरिने ट्रम्पको पछिल्लो दाबीले सो सम्भावना तत्कालका लागि टरेको देखिन्छ । एक स्रोतले सीएनएनलाई बताए अनुसार, ट्रम्पले निजी क्षेत्रको चर्चा गरे पनि बोन्डीको हातमा अहिले अर्को कुनै जागिर भने छैन ।
ट्रम्पले चाहेको प्रतिशोध अभियान पूरा गर्न बोन्डीले ठूला अवरोधहरूको सामना गर्नुपरेको थियो । न्याय विभागले पूर्व एफबीआई निर्देशक जेम्स कोमी र न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्स विरुद्ध अभियोग दर्ता गर्न सफल भएको थियो । तर, अभियोजक अवैध रूपमा कार्यरत रहेको भन्दै न्यायाधीशले दुवै मुद्दा खारेज गरिदिएका थिए ।
हालै ट्रम्पको ध्यान खिचेको अर्को विषय भनेको पूर्व सीआईए निर्देशक जोन ब्रेननमाथि भइरहेको अनुसन्धान हो । उनले २०१६ को निर्वाचनमा रुसी हस्तक्षेपबारे कांग्रेसमा झूटो बयान दिएको आशंकामा अनुसन्धान भइरहेको छ । मायामीका अभियोजकहरूले यस मुद्दालाई बलियो नमाने पनि वाशिङटन डिसीको संघीय अदालतमा मुद्दा चलाउने तयारी भइरहेको छ ।
बोन्डीले बुधबार मायामीका मुख्य अभियोजकलाई वाशिङटन बोलाएर अनुसन्धान सुस्त भएकोमा छलफल गरेकी थिइन् । न्याय विभाग भित्रका कतिपयले यसलाई राष्ट्रपतिको प्राथमिकतामा रहेका अनुसन्धानहरू आफूले अझै अघि बढाइरहेको देखाउने प्रयासको रूपमा बुझेका छन् ।
ब्लान्चले हालका लागि विभाग सम्हाले पनि ट्रम्पले वातावरणीय संरक्षण एजेन्सीका प्रशासक ली जेल्डिनलाई महान्यायाधिवक्ता बनाउने सोच बनाइरहेका छन् । ब्लान्चले एक्समा लेख्दै बोन्डीको नेतृत्व र मित्रताप्रति आभार व्यक्त गरेका छन् ।
सिनेटको न्यायिक समितिका अध्यक्ष चक ग्रास्लेले नयाँ महान्यायाधिवक्ताको मनोनयन प्रक्रिया चाँडै अघि बढ्ने विश्वास व्यक्त गरे पनि विगत एक वर्षमा विभागको राजनीतीकरण भएका कारण यो प्रक्रिया कुनै पनि उम्मेदवारका लागि कठिन हुन सक्छ ।
ट्रम्पको भित्री घेराका कतिपय व्यक्तिहरू बोन्डीले एपस्टीन फाइलहरू व्यवस्थापन गरेको तरिकाप्रति लामो समयदेखि क्रुद्ध थिए । उनीहरूका अनुसार, प्रशासनले जानीजानी सार्वजनिक जानकारी लुकाइरहेको छ भन्ने छाप बोन्डीका बयानहरूले पारेको थियो । विशेषगरी, सन् २०२५ फेब्रुअरीमा फक्स न्युजसँगको अन्तर्वार्तामा बोन्डीले एपस्टीनका ग्राहकहरूको सूची मेरो डेस्कमा समीक्षाका लागि राखिएको छ भन्नु र पछि विभागले त्यस्तो कुनै सूची नभएको बताउनुले ठूलो विवाद निम्त्याएको थियो ।
बोन्डीले यसै महिना एपस्टीन प्रकरणबारे हाउस ओभरसाइट कमिटीमा बयान दिनुपर्नेछ । बोन्डी अब महान्यायाधिवक्ता नरहेकाले समितिले यस विषयमा अर्को कदमबारे छलफल गर्ने बताएको छ । उनको विरुद्धमा कांग्रेसको समन अझै कायमै रहेको बताइएको छ ।








प्रतिक्रिया