क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले दिए राजीनामा

161
Shares

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन् । मोरले दिएको दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत भएको छ।

कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष मोरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । मोरले गत २०८२ चैत ६ गते सञ्चालक समितिको सदस्य तथा अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

चैत १९ गते दिउँसो ३ः३० बजे बसेको समितिको बैठकले कम्पनी ऐन, २०६३ को दफा ८९ को उपदफा ३ (ग) बमोजिम उनको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले मोरले कम्पनीको उन्नति र विकासमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद समेत ज्ञापन गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दिपक भट्टमाथि अनुसनधान अगाडि बढाएसँगै मोरले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका हुन् । नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद गर्नेमा भट्ट समूहबाट मोर पनि सक्रिय रहेको देखिन्छ ।

हिमालयन लाइफ इन्स्योरेन्सले ३९ लाख कित्ताभन्दा बढी सेयर खरिद गर्दा दिपक भट्टले पनि करिब २० लाख कित्ता सेयर खरिद गरेको देखिन्छ । त्यस्तै ऋषिराज मोरले पनि ६ लाख १० हजार कित्ता सेयर खरिद गरेको देखिन्छ । मोरको लक्की समूह भट्टको नेतृत्वमा सञ्चालनमा आएको हिमालयन रि इन्स्योरेन्सको एक लगानीकर्ता हो । ऋषिराज मोर लक्की ग्रुपको कार्यकारी निर्देशक हुन् । यस्तै लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर हिमालयन रि इन्स्योरेन्समा सञ्चालक छन् ।