
काठमाडौं । काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यापारी दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई पहिलोपटक १० दिनको म्याद थप गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टलाई बिहीबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको थियो। पक्राउ लगत्तै उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागबमोजिम अदालतले अनुसन्धानका लागि समय दिएको हो । भट्टमाथि बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार (सेयर बजार) र अन्य क्षेत्रमा लगानी गरी त्यसको अवैध स्रोत लुकाएको, छलेको र स्वरूप बदलेको आरोप छ ।
अदालतको आदेशमा उल्लेख भएअनुसार, भट्टले सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) का विभिन्न खण्डहरूद्वारा निषेधित कार्य गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।
भट्टको तर्फबाट वरिष्ठ अधिवक्ता शरदप्रसाद कोइराला र अधिवक्ता दिवस बस्यालले बहस गरेका थिए । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४६ बमोजिम उनलाई पहिलोपटक १० दिनका लागि म्याद थप गरिएको हो ।








प्रतिक्रिया