अफगानिस्तानसँग शान्तिवार्ता गर्दै पाकिस्तान

70
Shares

एजेन्सी । सन् २०२१ मा तालिबान सत्तामा फर्किएयता दक्षिण एसियाली छिमेकीहरूबीचको सबैभन्दा खराब द्वन्द्व अन्त्य गर्न पाकिस्तानले अफगानिस्तानसँग वार्ता गरिरहेको पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन् ।

चीनको उत्तर–पश्चिमी सहर उरुम्चीमा दुई देशका वरिष्ठ अधिकारीहरूबीच वार्ता भइरहेको प्रवक्ताले बताए ।

२६ सय किलोमिटर लामो सिमाना जोडिएका र पहिलेका सहयोगीबाट अहिले शत्रु बनेका यी दुई देशबीचको द्वन्द्व समाधानका लागि चीनले मध्यस्थता गर्ने प्रयास गरिरहेको छ । गत अक्टोबरमा सुरु भएको यस भिडन्तमा दुवैतर्फ धेरै मानिसको ज्यान गइसकेको छ ।

स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले बुधबार रिपोर्ट गरेअनुसार, यो वार्ता सम्भावित युद्धविराम र व्यापार तथा आवतजावतका लागि सीमा नाकाहरू पुनः खोल्ने विषयमा केन्द्रित हुनेछ ।

‘आउने समस्याहरूको बावजुद पनि वार्ताका लागि हाम्रो प्रयास जारी रहनेछ,’ पाकिस्तानी प्रवक्ताले नियमित प्रेस ब्रिफिङमा भने ।

पाकिस्तानले एक महत्त्वपूर्ण विश्वव्यापी खेलाडीको रूपमा चीनको भूमिकाको कदर गर्छ र यी प्रयासहरू पारस्परिक रूपमा पूरक रहेको उनले बताए ।

इस्लामाबादले अफगान तालिबानलाई तेहरिक–ए–तालिबान पाकिस्तानका लडाकुहरूलाई शरण दिएको आरोप लगाएको छ । तिनलाई पाकिस्तानी तालिबान पनि भनिन्छ र तिनले पाकिस्तानभित्र सशस्त्र विद्रोह गरिरहेका छन् ।

अफगान तालिबानले यो आरोप अस्वीकार गर्दै उग्रवाद पाकिस्तानको आन्तरिक समस्या भएको बताएको छ ।