शान्ति स्थापनाका लागि इरानले अमेरिकासमक्ष राख्यो ४ बुँदे शर्त

1k
Shares

एजेन्सी । रुसका लागि इरानका राजदूत काजेम जलालीले ताससँगको अन्तर्वार्तामा दिगो शान्ति स्थापनाका लागि अमेरिका र इजरायलसामु इरानका मागहरू प्रस्तुत गरेका छन् ।

उक्त सूचीमा चारवटा बुँदाहरू रहेका छन् । १. आक्रमण र आतंकवादी हमलाहरूको निश्चित र पूर्ण अन्त्य; २. आक्रमण वा युद्ध पुनः सुरु हुन नदिन वस्तुपरक र विश्वसनीय ग्यारेन्टी (प्रत्याभूति) को व्यवस्था; ३. भौतिक र नैतिक क्षतिको पूर्ण क्षतिपूर्ति; ४. अन्तर्राष्ट्रिय समुद्री सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका लागि हर्मुज जलयोजकमा इरानको कानुनी क्षेत्राधिकारको सम्मान,’ जलालीले भने ।

‘हामी मध्यस्थकर्ताहरूको भूमिका र प्रयासको उच्च कदर गर्छाैं तर शान्ति केवल यी प्रतिबद्धताहरूको पूर्तिमा मात्र निर्भर गर्छ भन्ने हाम्रो विश्वास छ,’ जलालीले जोड दिए ।

इस्लामिक गणतन्त्र इरानले क्षेत्रमा स्थिरता र सुरक्षा कायम गर्नका लागि गरिने कुनै पनि रचनात्मक र इमानदार प्रयासलाई सधैं स्वागत गरेको उनले बताए । ‘यद्यपि, न्यायोचित शान्ति र स्थायी युद्धविराम प्राप्त गर्नका लागि कुनै पनि पहल वा प्रस्तावित योजनामा धरातलीय यथार्थलाई ध्यान दिनु र यी कानुनी तथा राजनीतिक सर्त र आवश्यकताहरू पूरा गर्नु आवश्यक छ भन्ने कुरामा जोड दिनुपर्छ,’ कूटनीतिक नियोगका प्रमुखले उल्लेख गरे ।

जलालीले भने, ‘खतराको स्रोत पूर्ण रूपमा समाप्त नभएसम्म इरानले आत्मरक्षाको आफ्नो अविच्छिन्न अधिकार प्रयोग गरिरहनेछ ।’

‘साझेदारहरूसँगको परामर्शका बारेमा भन्नुपर्दा तेहरानले रुस लगायत आफ्ना रणनीतिक सहयोगीहरूसँग विचार आदानप्रदान र समन्वयलाई सधैं आफ्नो कूटनीतिक एजेन्डामा समावेश गर्छ,’ उनले थपे ।