४ जना अन्तरिक्षयात्रीहरू चन्द्रमाको यात्रामा, १० दिनमा फर्किने

91
Shares

एजेन्सी । बिहीबार बिहान नासाको अन्तरिक्ष यानमा सवार चार अन्तरिक्ष यात्रीहरू एउटा यस्तो यात्रामा निस्किएका छन् जसले उनीहरूलाई पाँच दशकअघिको एपोलो कार्यक्रमपछि मानिस पुगेको सबैभन्दा टाढाको दूरीमा पुर्याउनेछ ।

अमेरिकाका रिड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोच तथा क्यानडाका जेरेमी ह्यान्सेन नामका अन्तरिक्ष यात्रीहरू चन्द्रमासम्म पुग्नेछन् । त्यसलाई एकपटक फन्को लगाउनेछन् र करिब १० दिनमा पृथ्वीमा फर्किनेछन् ।

यी चार अन्तरिक्ष यात्रीहरू बोकेको आर्टेमिस दोस्रो मिसन अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो ।

सन् १९६० र सन् १९७० को दशकमा ६ वटा फरक मिसनमार्फत १२ जना मानिसलाई चन्द्रमामा उतारेको एपोलो कार्यक्रम समाप्त भएयता सयौं अन्तरिक्ष यात्रीहरूले अन्तरिक्ष यात्रा गरेका छन् । तर, तिनीहरूमध्ये कोही पनि लो अर्थ अर्बिटभन्दा बाहिर गएका छैनन् जहाँ अन्तरिक्ष स्टेशनहरू करिब ४०० किलोमिटरको उचाइमा सञ्चालन हुन्छन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा झण्डै एक वर्ष बिताइसकेकी ४७ वर्षीया कोच चन्द्रमाको नजिक पुग्ने पहिलो महिला हुनेछिन् । चन्द्रमामा पुगेका एपोलो कार्यक्रमका ६ वटा अभियानका २४ अन्तरिक्ष यात्रीहरू, १२ जना जो चन्द्रमामा ओर्लिए र १२ जना जो कक्षमा रहे, सबै पुरुष थिए ।

नासाको आर्टेमिस कार्यक्रमको उद्देश्य मानिसलाई पुनः चन्द्रमामा फर्काउनु हो तर यसपटक बारम्बार र लामो समयसम्म बस्नका लागि आधार तयार गर्न, स्थायी आधार बनाउन र दीर्घकालीन मानव उपस्थितिका लागि स्थानीय स्रोतहरूको उपयोगका सम्भावनाहरू खोज्नका लागि यो कार्यक्रम केन्द्रित छ ।

आर्टेमिस कार्यक्रमको पहिलो उडान मानवरहित थियो र त्यो सन् २०२२ मा भएको थियो । बिहीबार बिहान प्रक्षेपण गरिएको आर्टेमिस दोस्रोलाई फ्लाईबाई भनिन्छ जुन एउटा यस्तो अन्तरिक्ष मिसन हो जुन कुनै ग्रह वा आकाशीय पिण्डको धेरै नजिक पुग्छ तर त्यसमा अवतरण भने गर्दैन ।

यो सन् २०२८ मा हुने अर्को मिसनका लागि एक प्रकारको अभ्यास हो जसले सन् १९७२ को एपोलो १७ पछि पहिलोपटक मानिसलाई चन्द्रमामा उतार्नेछ ।

यसबीचमा नासाले मानव अवतरणलाई सम्भव बनाउने हार्डवेयर र प्रणालीहरूको थप परीक्षण गर्न अर्को वर्षका लागि अर्को मिसनको योजना बनाएको छ ।

एपोलो युग र अहिले मानिसलाई चन्द्रमामा फर्काउन योजना गरिएका मिसनहरू बीचको यो महत्त्वपूर्ण भिन्नता हो । एपोलो मिसनहरूमा रहेका प्राविधिक र सञ्चालनगत जोखिमहरू आजको युगमा स्वीकार्य छैनन् ।

यद्यपि, आर्टेमिस दोस्रो अभ्यास मात्र होइन । यसका धेरै वैज्ञानिक उद्देश्यहरू पनि छन् । ओरियन अन्तरिक्ष यानमा सवार अन्तरिक्ष यात्रीहरूले ग्राउन्ड स्टेशनका वैज्ञानिकहरूसँग मिलेर वैज्ञानिक अनुसन्धानहरू गर्नेछन् जसले भविष्यको मानव अन्तरिक्ष उडानमा मद्दत पुर्याउनेछ ।

उनीहरूको यात्राले उनीहरूलाई चन्द्रमाको अर्को भागतर्फ लैजानेछ जुन भाग सधैं पृथ्वीबाट टाढा फर्किएको हुन्छ ।
मानव आँखाले चन्द्रमाको यस भागलाई नजिकबाट देख्न लागेको यो पहिलोपटक हुनेछ ।

‘यस तीन घण्टाको अवधिमा अन्तरिक्ष यात्रीहरूले भौगर्भिक विशेषताहरू, जस्तै खाडलहरू र प्राचीन लाभा प्रवाहहरूको विश्लेषण र फोटो खिच्नेछन् । उनीहरूले कक्षाकोठामा र पृथ्वीका चन्द्रमा जस्तै देखिने ठाउँहरूमा लिएको व्यापक भौगर्भिक तालिमको आधारमा आकार, बनावट र रङहरूको सूक्ष्म विवरण दिनेछन् । यस्तो जानकारीले त्यस क्षेत्रको भौगर्भिक इतिहास उजागर गर्छ । यी सीपहरू भविष्यका मिसनहरू मार्फत चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रको अन्वेषणका लागि महत्त्वपूर्ण हुनेछन्,’ नासाको विवरणमा भनिएको छ ।

उनीहरूको अन्तिम मार्गले उनीहरूलाई अन्तरिक्षमा मानिस अहिलेसम्म पुगेको भन्दा पनि टाढा पुर्याउन सक्छ जुन दूरी एपोलो मिसनहरूले पृथ्वीबाट तय गरेको दूरी भन्दा बढी हुनेछ ।