तेलको हाहाकार बेहोरिरहेका मुलुकलाई ट्रम्पले भने, ‘कि हामीसँग किन, कि हर्मुजबाट आफैं लेऊ’

245
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको जारी युद्धका कारण इन्धन अभाव झेलिरहेका देशहरूलाई कि त अमेरिकाबाट तेल किन्न कि त हर्मुज जलयोजकमा गई आफैं आपूर्ति सुरक्षित गर्न कडा कदम चाल्न सुझाव दिएका छन् ।

ह्वाइट हाउसको क्रस हलबाट अमेरिकी समउअनुसार, बुधबार राति ९ बजे प्रसारित सम्बोधनमा ट्रम्पले भने, ‘इन्धन नपाउने ती देशहरू, जसमध्ये धेरैले इरानको शक्ति क्षतविक्षत पार्ने अभियानमा संलग्न हुन अस्वीकार गरेका थिए, का लागि मसँग एउटा सुझाव छ । पहिलो, अमेरिकाबाट तेल किन्नुहोस् । र दोस्रो, अलि ढिलो भए पनि साहस जुटाउनुहोस्, जलयोजकमा जानुहोस्, तेल लिनुहोस् र त्यसलाई सुरक्षित गर्नुहोस् । इरान वास्तवमा ध्वस्त भइसकेको छ । गाह्रो काम सकिसक्यो, त्यसैले अब यो सजिलो हुनुपर्छ ।’

यसैबीच, ट्रम्पको सम्बोधनपछि तेलको मूल्य झण्डै ४ प्रतिशतले बढ्यो । डब्ल्यूटीआई क्रुड ३.८० प्रतिशतले बढेर १०३.९ डलर पुग्यो भने ब्रेन्ट क्रुड ४.७४ प्रतिशतले बढेर १०६ डलर पुग्यो ।

थप एकपटक तेलको प्रवाह सुचारु भएपछि इन्धनको मूल्य तीव्र रूपमा घट्ने अमेरिकी राष्ट्रपतिले बताए । संकट सकिएपछि वाल स्ट्रिटमा पनि सुधार देखिनेछ ।

ट्रम्पको सम्बोधन वाशिङटनको घोषित युद्ध लक्ष्यहरूमा भएको प्रगतिको जानकारी दिन केन्द्रित थियो जसमा इरानको मिसाइल उत्पादन र जलसैनिक शक्तिलाई ध्वस्त पार्ने, यसका प्रोक्सीहरूलाई क्षेत्र अस्थिर बनाउनबाट रोक्ने र तेहरानले आणविक हतियार प्राप्त नगर्ने सुनिश्चित गर्ने कुरा समावेश थिए ।

ट्रम्पले अपरेशन एपिक फ्युरी अन्तर्गत गत महिनाको सैन्य कारबाहीलाई निर्णायक भन्दै इरानको मिसाइल र ड्रोन प्रक्षेपण गर्ने क्षमता नाटकीय रूपमा घटेको र उनीहरूका हतियार कारखाना र रकेट लोन्चरहरू टुक्रा–टुक्रा पारिएको बताए ।

उनले देशको जलसेना समाप्त भएको, वायुसेना भग्नावशेषमा परिणत भएको दाबी गरे र नेताहरू अब मरिसकेको बताए । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स अहिले ध्वस्त भइरहेको उनले थपे ।

अमेरिकाले इजरायलसँग मिलेर आक्रमण सुरु गरेको एक महिनाभन्दा बढी समयपछि ट्रम्पले अपरेशन सुरु भएयताकै आफ्नो पहिलो मुख्य सम्बोधन दिएका हुन् ।

पश्चिम एसियाको संकट दोस्रो महिनामा प्रवेश गर्दै गर्दा र इरानले हर्मुज जलयोजकमा आफ्नो पकड कसिलो बनाउँदै विश्वव्यापी ऊर्जा प्रवाहमा अवरोध पुर्याइरहेको बेला उनको यो भनाइ आएको हो ।

यस अवधिमा द्वन्द्व अझ तीव्र हुँदै गएको छ । तेहरानमा हवाई आक्रमण भइरहँदा पनि इरानले इजरायल र पर्सियाली खाडीका देशहरूमा आक्रमण जारी राखेको छ ।