
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सञ्चालित अमेरिकी सैन्य अभियान चाँडै समाप्त हुने घोषणा गरेका छन्।
ह्वाइट हाउसस्थित ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्रै अमेरिकी सेना इरानबाट पूर्ण रूपमा बाहिरिने दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्पका अनुसार गत महिना इजरायलसँगको समन्वयमा सुरु गरिएको सैन्य कारबाहीको मुख्य उद्देश्य इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु थियो।
उनले सो लक्ष्य सफलतापूर्वक हासिल भएको र इरानको आणविक क्षमता ध्वस्त पारिएको बताए।
‘हाम्रो सैन्य अभियानको उद्देश्य पूरा भएको छ, अब अमेरिकी सेनाले त्यहाँ केही अन्तिम कामहरू मात्र बाँकी राखेको छ,’ उनले भने।
ट्रम्पले इरानको हवाई क्षेत्र अहिले पूर्ण रूपमा अमेरिकाको नियन्त्रणमा रहेको र इरानी सैन्य पूर्वाधारहरू धराशायी भएको उल्लेख गरे।
इरानका वरिष्ठ राजनीतिक तथा सैन्य नेताहरूको अन्त्यसँगै त्यहाँको नेतृत्वमा परिवर्तन आएको र नयाँ नेतृत्व अघिल्लो शासनको तुलनामा बढी ‘तर्कसंगत’ देखिएको उनको तर्क छ।
‘इरानको नौसेना र समग्र सैन्य संरचना नष्ट भइसकेको छ। अहिले उनीहरूका तर्फबाट कुनै पनि प्रकारको सैन्य प्रतिरोध भएको छैन,’ ट्रम्पले थपे।
युद्धका कारण विश्व बजारमा बढेको इन्धनको मूल्यप्रति संकेत गर्दै ट्रम्पले सैन्य अभियान टुङ्गिनासाथ तेलको मूल्यमा गिरावट आउने आश्वासन दिए। उनले इरानले अहिले वार्ताका लागि हारगुहार गरिरहेको दाबी गरे पनि अमेरिकाले आफ्नो सुरक्षा सुनिश्चित गरेपछि मात्रै सेना फिर्ता गर्ने स्पष्ट पारे।
इरानले अमेरिकी प्रविधि कम्पनीहरूलाई दिएको धम्कीको खण्डन गर्दै ट्रम्पले व्यङ्ग्यात्मक शैलीमा भने, ‘इरानसँग अब सानो खेलौना बन्दुकबाहेक केही बाँकी छैन, उनीहरूको धम्कीको कुनै अर्थ छैन।’
ट्रम्पले इरानमाथि अमेरिकाले ‘पूर्ण विजय’ प्राप्त गरेको दाबी गर्दै अब त्यहाँ अमेरिकी उपस्थिति आवश्यक नरहेको बताएका छन्। यद्यपि, इरानले भने यसअघि नै अमेरिकी दाबीहरूको कडा खण्डन गर्दै आएको छ।
ट्रम्पको यो पछिल्लो घोषणाले मध्यपूर्वको राजनीतिमा नयाँ हलचल पैदा गरेको छ।
बेरुतमा इजरायली आक्रमणमा ७ को मृत्यु, इरानका औद्योगिक क्षेत्रमा गम्भीर क्षति
मध्यपूर्वमा जारी युद्ध झनै भयावह बन्दै गएको छ। इजरायल र इरान समर्थित लेबनानी समूह हिजबुल्लाहबीचको द्वन्द्व पुनः चर्केको छ भने इरानका विभिन्न सैन्य तथा औद्योगिक क्षेत्रहरूमा लगातार आक्रमण भइरहेका छन्।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बेरुत क्षेत्रमा इजरायलले गरेको दुईवटा हवाई आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
इजरायली सेनाले हिजबुल्लाहका एक वरिष्ठ कमाण्डर र अर्का एक उच्च सदस्यलाई निशाना बनाएर सो आक्रमण गरिएको जनाएको छ। यद्यपि, ती नेताहरूको मृत्यु भएरनभएको बारे आधिकारिक पुष्टि भइसकेको छैन।
अमेरिकी र इजरायली आक्रमणका बावजुद इरान अझै पनि रक्षात्मक र प्रतिरोधात्मक अवस्थामा देखिएको छ। पछिल्लो घटनाक्रम अनुसार दमास्कमा इरानी क्षेप्यास्त्रहरूलाई इजरायली एयर डिफेन्सले निस्तेज पारेको सिरियाली सञ्चारमाध्यमले जनाएका छन्।
यस्तै इरानको बुसेहर बन्दरगाहमा रहेको मौसम स्टेशनको राडार र भवनमा दुई पटक आक्रमण गरी क्षति पुऱ्याइएको छ।
इस्फाहानस्थित ‘मोबाराकेह स्टिल प्लान्ट’ मा एक हप्ताभित्र दोस्रो पटक आक्रमण भएको छ। साथै, बोरुजेन सहरको ‘सेफिद्दासजत स्टिल कम्प्लेक्स’ लाई पनि निशाना बनाइएको छ।
द्वन्द्व कम हुने संकेत नदेखिएपछि पाकिस्तान र चीनले मध्यस्थताका लागि पहल थालेका छन्। बेइजिङमा भएको भेटवार्तापछि दुवै देशका विदेश मन्त्रीहरूले तत्काल युद्धविराम गर्न र शान्ति वार्ता सुरु गर्न आग्रह गरेका छन्।
यो युद्धको असर अमेरिकी राजनीति र अर्थतन्त्रमा पनि प्रत्यक्ष रूपमा देखिन थालेको छ। अमेरिकामा ग्यासोलिन (पेट्रोल) को मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन विगत तीन वर्षयताकै उच्च हो। यसले अमेरिकी परिवारको बजेटमा भार थपेको छ।
आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि बढ्दो महँगी राष्ट्रपति ट्रम्प र रिपब्लिकन पार्टीका लागि ठूलो राजनीतिक चुनौती बनेको छ।
रोयटर्स-इप्सोसले गरेको पछिल्लो सर्वेक्षण अनुसार दुई तिहाइ अमेरिकी नागरिकहरू अमेरिकाले इरानसँगको युद्ध तुरुन्तै अन्त्य गरोस् भन्ने चाहन्छन्, चाहे सरकारले तोकेको लक्ष्य पूरा होस् वा नहोस्।
-रोयटर्सको सहयोगमा










प्रतिक्रिया