अमेरिकाले इरानका गोप्य अधिकारीसँग कुरा गर्दैछ, को हुन् उनी ?

546
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग युद्ध अन्त्य गर्ने सम्झौता चाँडै हुन सकेन भने इरानको ऊर्जा स्रोत र नुनिलो पानीलाई पिउने योग्य बनाउने प्लान्टहरू लगायत अन्य महत्त्वपूर्ण पूर्वाधारहरूमा व्यापक विनाश गर्ने धम्की दिएका छन् ।

सोमबार प्रकाशित न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले इरानका संसद्का सभामुख मोहम्मद बागेर गालिबाफसँग वार्ता गरिरहेको बताएका छन् ।

यसअघि पूर्व रिभोलुसनरी गार्ड कमान्डर गालिबाफलाई वाशिङटनको वार्ता साझेदारको रूपमा हेरिएको थियो तर इरानले अमेरिकासँग कुरा गरिरहेको कुरा उनले अस्वीकार गरेका छन् । उनले पाकिस्तानद्वारा सहज बनाइएको छलफल अमेरिकी सेना तैनाथीका लागि एउटा बहाना मात्र भएको बताएका छन् ।

अमेरिकाले गालिबाफसँगै कुराकानी गरिरहेको हो कि अरू कोहीसँग भन्ने स्पष्ट छैन ।

यसैबीच अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले सोमबार इरानसँगको वार्तामा प्रगति भएको संकेत गर्दै सार्वजनिक रूपमा कडा र चुनौतीपूर्ण अडान राखे पनि इरानी अधिकारीहरूले निजी कुराकानीमा सही कुराहरू गरिरहेको बताएका छन् ।

एबीसीको गुड मर्निङ अमेरिकासँगको अन्तर्वार्तामा कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारको समेत जिम्मेवारी सम्हालिरहेका रुबियोले भने, ‘त्यहाँ यस्ता मानिस छन् जसले निजी रूपमा केही सही कुराहरू भनिरहेका छन् ।’

उनले थपे, ‘स्पष्ट छ, उनीहरूले यी कुराहरू प्रेस विज्ञप्तिमा सार्वजनिक गर्ने छैनन् । उनीहरूले मिडिया वा विश्वका अगाडि जे भन्छन् त्यो हाम्रो कुराकानीमा उनीहरूले भन्ने कुरासँग मेल नखान सक्छ ।’

ह्वाइट हाउस र क्षेत्रीय नेताहरूको चिन्तालाई दोहोर्याउँदै रुबियोले अमेरिका र इजरायली आक्रमणबाट बाँचेका र अमेरिकासँग वार्तामा रहेका इरानी अधिकारीहरूको देश र त्यहाँको सेनामा पूर्ण नियन्त्रण छ कि छैन भन्नेमा शंका समेत व्यक्त गरे ।

अमेरिकाले कोसँग वार्ता गरिरहेको छ भन्ने कुरा नखुलाई रुबियोले भने, ‘हामीले हेर्नुपर्छ, के यी मानिसहरू नै वास्तवमा जिम्मेवारीमा छन् र के उनीहरूसँग निर्णयहरू कार्यान्वयन गर्ने शक्ति छ ।’

एक क्षेत्रीय कूटनीतिक स्रोतले गत साता इरानी नेतृत्व अझै अस्थिर रहेको बताएको छ । यद्यपि, तेहरानले हर्मुज जलयोजकबाट एक दर्जनभन्दा बढी जहाजहरू जान दिनुले वार्ताको सबैभन्दा महत्त्वपूर्ण क्षेत्रमा कम्तीमा इरानी पक्षका कसैको नियन्त्रण रहेको देखाउँछ ।

पाकिस्तानले आइतबार अमेरिका र इरानबीच छिट्टै वार्ताको आयोजना गर्ने घोषणा गरेको छ यद्यपि त्यहाँका विदेशमन्त्री इशाक डारले वार्ताका लागि कुनै मिति तय भएको संकेत भने दिएनन् ।

अमेरिकाले वार्ताको हिस्साको रूपमा इरानलाई १५ बुँदे सम्झौता प्रस्ताव पठाएको थियो । क्षेत्रीय स्रोतका अनुसार, तेहरानले उक्त कागजातमा छलफल गरिरहेको बेला आफ्नो तर्फबाट पनि ५ देखि ६ बुँदे प्रस्ताव पठाएको छ ।

तर, सार्वजनिक रूपमा इरानले कडा अडान देखाइरहेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले सोमबार अमेरिकी प्रस्तावहरूको आलोचना गरे र इस्लामिक गणतन्त्र आफ्नो रक्षामा मात्र केन्द्रित रहेको बताए ।

रोयटर्सका अनुसार बागेईले भने, ‘हाम्रो अडान स्पष्ट छ । हामी सैन्य आक्रामकताको चपेटामा छौं । त्यसैले हाम्रा सबै प्रयास र शक्ति आफूलाई बचाउनमा केन्द्रित छन् ।’

राष्ट्रपति ट्रम्पले आइतबार अमेरिकाले इरानसँगको वार्तामा अत्यन्त राम्रो गरिरहेको बताए तर उनले थपे, ‘इरानको बारेमा केही भन्न सकिँदैन किनकि हामी उनीहरूसँग वार्ता गर्छौं र त्यसपछि उनीहरूलाई सधैं बमले उडाउनुपर्ने हुन्छ ।’