इरानमाथि स्थल आक्रमण गर्न तयार १८ सय अमेरिकी सैनिकहरू हिन्द महासागर पुगे

385
Shares

एजेन्सी । इरानविरुद्ध सम्भावित अमेरिकी स्थल कारबाहीको बारेमा अड्कलबाजी बढ्दै जाँदा करिब १८ सय मरिनहरू बोकेको ठानिएको यूएसएस त्रिपोली नामक उभयचर आक्रमण जहाज हिन्द महासागरमा रहेको अमेरिकी सेन्ट्रल कमान्डले सोमबार एक सामाजिक सञ्जाल पोस्टमार्फत बताएको छ ।

सेन्टकमको पोस्ट अनुसार, आइतबार सार्वजनिक गरिएको एक तस्बिरमा ४५ हजार टन क्षमताको उक्त युद्धपोत हिन्द महासागरमा अघि बढिरहेको देखाइएको थियो । उक्त पोस्टले जहाज इरानबाट कति टाढा छ भन्ने कुरा भने खुलाएको छैन ।

रक्षा मन्त्रालयको वेबसाइटमा मार्च २६ मा पोस्ट गरिएका तस्बिरहरूका अनुसार, त्रिपोलीले ओकिनावामा रहेका ३१औं मरिन एक्स्पेडिसनरी युनिट (एमईयू) का सैनिकहरू बोकेको छ । ती तस्बिरहरूले मरिनहरूलाई जहाज रक्षा अभ्यासमा सहभागी भइरहेको देखाउँछन् ।

जलसेनाको तथ्य विवरण अनुसार, त्रिपोलीले १२ सय नाविकहरूको टोलीसहित करिब १८ सय ५० मरिनहरू बोक्न सक्छ । त्रिपोली एम्फिबियस रेडी ग्रुपको हिस्सा रहेको यूएसएस न्यु अर्लिन्स नामक अर्को जहाजले थप ७०० मरिनहरू बोक्न सक्छ ।

अमेरिकी सेनाले इरानको खार्ग टापु कब्जा गर्न सक्ने संकेत अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका छन् । त्यहाँबाट तेहरानको ९० प्रतिशत तेल निर्यात हुन्छ । इरानले आफ्नो भूमिमा अवतरण गर्न खोज्ने जुनसुकै अमेरिकी सैनिकलाई सखाप पार्ने र विश्वव्यापी तेल आपूर्तिमा आक्रमण तीव्र पार्ने धम्की दिएको छ ।

त्रिपोलीमा सवार ३१औं एमईयूका मरिनहरूसँगै २२ सय जति मरिनहरू भएको ११औं एमईयूलाई पनि पश्चिम एसिया जान आदेश दिइएको खबर छ ।

यूएस नेवल इन्स्टिच्युटको फ्लिट ट्य्राकरले सोमबार जारी गरेको विवरणमा बक्सर एआरजी हवाईको पर्ल हार्बरमा रहेको देखाएको छ जुन पर्सियाली खाडीबाट तीनदेखि चार हप्ताको दूरीमा पर्छ । रक्षा मन्त्रालयका तस्बिरहरूले बक्सरका एकाइहरूले मार्च २८ मा समुद्रमा तालिम लिइरहेको देखाएका थिए ।

मरिनहरूसँगै अमेरिकी सेनाको ८२औं एयरबोर्न डिभिजनका करिब १ हजार सैनिकहरूलाई पनि पश्चिम एसिया जान आदेश दिइएको खबर छ ।