कार्यस्थलको अधिकतम तापक्रम निर्धारण मापदण्ड कार्यानवयनमा

56
Shares

काठमाडौं । सरकारले श्रमिकहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै कार्यस्थलका लागि अधिकतम तापको स्तर मापदण्ड, २०८२ कार्यान्वयनमा ल्याएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट मापदण्ड स्वीकृत गरेको हो । मापदण्डले विभिन्न प्रकृतिका कामहरूका लागि तापक्रमको अधिकतम सीमा तोकेको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार उक्त मापदण्ड पालना गर्न रोजगारदाता, श्रमिक र सरोकारवाला सबैलाई आग्रह गरेको छ । स्वीकृत मापदण्डअनुसार काम नभएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ ।

नयाँ मापदण्डमा कामको बोझलाई चार भागमा विभाजन गरी वेट बल्ब ग्लोब तापक्रमका आधारमा अधिकतम सीमा तोकिएको छ । जसमा बसेर वा उभिएर गरिने मेसिन नियन्त्रण वा हातको हल्का कामको लागि अधिकतम तापक्रम ३२।२ डिग्री सेल्सियस तोकिएको छ ।

त्यस्तै, सामान सार्ने वा निरन्तर हात र पाखुराले गर्ने कामका लागि ३०.६ डिग्री सेल्सियस तोकिएको छ । खन्ने, भारी बोक्ने वा धकेल्नेजस्ता शारीरिक परिश्रम बढी हुने कामका लागि २८.९ डिग्री सेल्सियसको सीमा तोकिएको छ ।

तीव्र गतिमा गरिने धेरै कडा शारीरिक गतिविधिका लागि अधिकतम तापक्रम २६.९ डिग्री सेल्सियस मात्र हुनुपर्ने व्यवस्था गरिएको छ ।

मापदण्डअनुसार कार्यस्थलको तापक्रम मापन गर्दा भुइँ सतहभन्दा १.५ मिटर उचाइमा गर्नुपर्ने र कोठाभित्र हावाको गति प्रतिसेकेन्ड १.५ मिटरभन्दा बढी हुनुपर्ने उल्लेख छ ।

यदि कार्यस्थलको तापक्रम तोकिएको सीमाभन्दा बढी भएमा रोजगारदाताले नियन्त्रणात्मक उपायहरू अपनाउनुपर्नेछ । जसमा व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग, कामदारहरूको रोटेसन (पालो) गर्ने लगायतका व्यवस्था समावेश छन् ।

मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभरका श्रम तथा रोजगार कार्यालयहरूलाई निर्देशन दिइएको छ । विभागले यो मापदण्ड लागु भएको मितिले प्रत्येक तीन वर्षमा पुनरवलोकन गरिने समेत जनाएको छ।

कार्यस्थललाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको दृष्टिकोणले सुरक्षित र मर्यादित बनाउन यो कदम चालिएको मन्त्रालयको भनाइ छ ।