
एजेन्सी । स्पेनले इरानमाथिको आक्रमणमा संलग्न अमेरिकी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।
रक्षामन्त्री मार्गरिटा रोबल्सले सोमबार दिएको जानकारी अनुसार, यो कदम संयुक्त रूपमा सञ्चालित सैन्य आधार शिविरहरूको प्रयोगमा पहिले गरिएको प्रतिबन्धभन्दा एक कदम अगाडि बढेर चालिएको हो ।
‘हामी इरान युद्धसँग सम्बन्धित कामका लागि सैन्य आधार शिविर वा हवाई क्षेत्र दुवैको प्रयोगको अनुमति दिँदैनौं,’ उनले म्याड्रिडमा पत्रकारहरूलाई भनिन् ।
स्पेनी समाचार पत्र एल पाइले सैन्य स्रोतहरूलाई उद्धृत गर्दै सोमबार पहिलोपटक यो समाचार सार्वजनिक गरेको थियो ।
हवाई क्षेत्र बन्द भएपछि सैन्य विमानहरू पश्चिम एसियामा आफ्ना लक्ष्यहरूतर्फ जाँदा नेटो सदस्य राष्ट्र स्पेनलाई छलेर जान बाध्य हुनेछन् तर यसमा आपतकालीन परिस्थितिहरू समावेश नगरिएको एल पाइले थपेको छ ।
स्पेनी हवाई क्षेत्र बन्द गर्ने निर्णयले अमेरिकासँगको सम्बन्ध बिगार्न सक्छ कि भनेर सोधिएको प्रश्नमा अर्थमन्त्री कार्लोस कुएर्पोले रेडियो क्याडेना सेरलाई अन्तर्वार्ता दिँदै भने, ‘यो निर्णय अन्तर्राष्ट्रिय कानून विपरीत र एकपक्षीय रूपमा सुरु गरिएको युद्धमा सहभागी नहुने वा योगदान नगर्ने स्पेनी सरकारको पहिलेकै निर्णयको एउटा हिस्सा हो ।’
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेज इरानमाथि भइरहेका अमेरिकी र इजरायली आक्रमणका सबैभन्दा प्रखर विरोधीमध्ये एक हुन् जसलाई उनले लापरवाह र अवैध भनी वर्णन गरेका छन् ।
युद्धमा स्पेनका सैन्य आधार शिविरहरू प्रयोग गर्न नदिएकोमा राष्ट्रपति डोनल्ड ट्रम्पले म्याड्रिडसँगको व्यापार कटौती गर्ने धम्की दिएका छन् ।








प्रतिक्रिया