युक्रेन युद्ध चलाइरहन रुसले सञ्चितिमा रहेको सुन बेच्यो

777
Shares

एजेन्सी । लगातारको सैन्य खर्चका कारण बढ्दो बजेट घाटा पूर्ति गर्न रुसले विगत २५ वर्षमा पहिलोपटक आफ्नो केन्द्रीय बैंकको भण्डारबाट भौतिक सुन बिक्री गर्न सुरु गरेको छ ।

बर्लिनस्थित न्युज आउटलेट बीएनई इन्टेलिन्युजको रिपोर्ट अनुसार, युद्धका कारण सिर्जित आर्थिक दबाब झेल्न क्रेमलिनले यो कडा कदम चालेको हो ।

नियामक तथ्यांकले देखाएअनुसार, सन् २०२२ देखि २०२५ को बीचमा रुसले करिब १५० अर्ब डलर बराबरको सुन र विदेशी मुद्रा बिक्री गरेको थियो । तर, सन् २०२६ को सुरुवाती दुई महिनामा मात्रै थप ३५ अर्ब डलर बराबरको बिक्री भइसकेको छ ।

जनवरीमा रुसी केन्द्रीय बैंकले ३ लाख औंस र फेब्रुअरीमा २ लाख औंस सुन बिक्री गरेको छ ।

यो कदम रुसको सञ्चिति व्यवस्थापनमा ठूलो परिवर्तन हो । यसअघि सुनको कारोबार प्रायः कागजी वा सांकेतिक हुन्थ्यो जसमा अर्थ मन्त्रालय र केन्द्रीय बैंकबीच आन्तरिक स्थानान्तरण मात्र गरिन्थ्यो । तर, हालैका महिनामा केन्द्रीय बैंकले वास्तविक सुनका ढिक्काहरू नै बजारमा बेच्न थालेको छ ।

यस बिक्रीका कारण रुसको सुनको भण्डार ७ करोड ४३ लाख औंसमा झरेको छ जुन विगत चार वर्षयताकै न्यून स्तर हो ।

जनवरी र फेब्रुअरीमा मात्रै १४ टन सुन बेचिएको छ जुन सन् २००२ को दोस्रो त्रैमासिकपछिको सबैभन्दा ठूलो दुई महिने बिक्री हो ।

रुसको वित्तीय अवस्था अहिले निकै तनावपूर्ण छ । सन् २०२५ मा रुसको बजेट घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २.६ प्रतिशत पुगेको छ जबकि सुरुमा यसको लक्ष्य ०.५ प्रतिशत मात्र राखिएको थियो ।

अर्थशास्त्रीहरूका अनुसार, वास्तविक घाटा ३.४ प्रतिशतको हाराहारीमा हुनसक्छ । तेलको मूल्यमा आएको गिरावट र कडा अमेरिकी प्रतिबन्धका कारण तेल र ग्यासबाट प्राप्त हुने राजस्व युद्धअघिको तुलनामा आधाले घटेर कुल राजस्वको २० प्रतिशतमा खुम्चिएको छ ।

विश्व बजारमा सुनको मूल्य प्रति औंस ५ हजार डलरभन्दा माथि पुग्नुले पनि रुसलाई सुन बेचेर नगद जुटाउन सजिलो बनाएको छ । फेब्रुअरी २८ सम्मको तथ्यांकअनुसार रुसको कुल अन्तर्राष्ट्रिय सञ्चिति ८०९ अर्ब डलर छ जसमा पश्चिमा देशहरूले रोक्का गरेको ३०० अर्ब डलरको सम्पत्ति पनि समावेश छ ।

रुससँग भएको सुनको मात्रै मूल्य करिब ३८४ अर्ब डलर छ ।

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार, रुससँग २ हजार टनभन्दा बढी सुन छ जसले उसलाई विश्वको पाँचौं ठूलो स्वर्ण भण्डार भएको देश बनाउँछ । सन् २०१४ मा क्राइमिया कब्जा गरेपछि डलरमाथिको निर्भरता कम गर्न रुसले वर्षौंदेखि यो भण्डार खडा गरेको थियो ।

बजेटको दबाब व्यवस्थापन गर्न रुसको अर्थ मन्त्रालयले राष्ट्रिय कल्याण कोषबाट पैसा निकाल्ने, आन्तरिक सरकारी ऋणपत्र जारी गर्ने र मूल्य अभिवृद्धि करको दर बढाउने जस्ता रणनीतिहरू पनि अपनाइरहेको छ । हाल मूल्य अभिवृद्धि करबाट मात्रै रुसको कुल राजस्वको ४० प्रतिशत हिस्सा संकलन भइरहेको छ ।

अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार, इरान युद्ध र युक्रेनसँगको निरन्तर द्वन्द्वले गर्दा रुसको अर्थतन्त्र अब पूर्ण रूपमा युद्धकालीन अर्थतन्त्रमा परिणत भएको छ जहाँ भविष्यका लागि साँचेको सुनसमेत अहिलेको खर्च धान्न प्रयोग भइरहेको छ ।