रास्वपा सरकारप्रति लगानीकर्ताको अविश्वास, नेप्से ७१ अंकले घट्दा १५ अर्बको कारोबार

497
Shares

काठमाडौं । सेयर बजारमा भारी अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से १४.२१ अंकले बढेको थियो । आज नेप्सेमा कुल १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । गत साताको बिहीबार भने नेप्सेमा १२ अर्ब ९० करोडको कारोबार भएको थियो ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेर प्रधानमन्त्री तथा मन्त्रीले पदभार ग्रहण गरेका थिए । रास्वपाको सरकार बनेपछि बजार सकारात्मक हुने आँकलन धेरैले गरेपनि त्यसको ठिक विपरीत भएको छ ।

यता, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेकाले सडकमा आन्दोलन पनि भइरहेको छ । सोही कारण पनि लगानीकर्ता सकारात्मक बन्न नसकेको जस्ताे पनि देखिन्छ । यसका अलावा सेयर लगानीकर्ताले अर्थमन्त्रीको कार्यभार सम्हालेका स्वर्णिम वाग्लेलाई पोजिटिभ ढंगमा नहेरेको हो कि भन्ने देखिन्छ ।

यद्यपि, बजार एक हदसम्म माथि पुगेकाले नाफा बुक गर्ने हाबी हुँदा बजार घटेको भन्ने किसिमको चर्चा पनि भइरहेको छ ।

आइतबार कारोबारमा आएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्दा २५५ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा भुजुङ हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।