इजरायलको हवाई आक्रमणमा परी लेबननका ३ पत्रकारको मृत्यु

91
Shares

एजेन्सी । शनिबार दक्षिण लेबनानमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा तीन लेबनानी पत्रकारको मृत्यु भएको छ ।

इजरायली सेनाका अनुसार, उक्त आक्रमणको निशाना एकजना पत्रकार थिए र उनीहरूको सहयोगका लागि पठाइएका उद्धारकर्मीहरूमाथि गरिएको अर्को आक्रमणमा पनि मानवीय क्षति भएको छ ।

लेबननको स्वास्थ्य मन्त्रालयले पत्रकारहरूमाथि भएको अघिल्लो आक्रमणको घटनास्थलतर्फ जाँदै गरेका स्वास्थ्यकर्मीहरूलाई प्रत्यक्ष निशाना बनाइएको बताएको छ ।

लेबननमा ५० भन्दा बढी स्वास्थ्यकर्मी मारिएका छन् जसमा पछिल्लो एक दिनमा मात्रै ९ जना रहेका छन् । मन्त्रालयले यसलाई स्वास्थ्यकर्मी र अस्पतालहरूमाथि इजरायली आक्रमणको बढ्दो गति भनेर वर्णन गरेको छ ।

इजरायली सेनाले यसबारे प्रतिक्रियाको अनुरोधमा तुरुन्तै कुनै जवाफ दिएन । उसले हिजबुल्लाहमाथि सैन्य प्रयोजनका लागि स्वास्थ्य केन्द्रहरू प्रयोग गरेको आरोप लगाएको छ र समूहले आफ्नो बाटो परिवर्तन नगरेमा अस्पतालहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले एक्समा ती हत्याहरूको प्रतिक्रिया दिँदै इजरायलको नाम उल्लेख नगरी स्वास्थ्यकर्मीहरू अन्तर्राष्ट्रिय मानवीय कानुन अन्तर्गत सुरक्षित रहेका र उनीहरूलाई कहिल्यै निशाना बनाउनु नहुने बताएका छन् ।

शनिबार दक्षिणमा इजरायली आक्रमणमा लेबननी सेनाका दुई सैनिकको मृत्यु भएको लेबनानी सेनाले एक्समा छुट्टाछुट्टै बयानमार्फत जानकारी दिएको छ ।

इजरायली सेनाले शनिबार बताएअनुसार, वायुसेनाले शुक्रबारदेखि लेबननमा १०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको छ ।
शनिबारको आक्रमण पहिलोपटक हो जसमा इजरायलले लेबननमा पत्रकार मारेको स्वीकार गरेको छ ।

लेबननी टेलिभिजन न्युज च्यानल अल मनारले आफ्ना रिपोर्टर अली शाइब र लेबननी प्यान–अरब प्रसारक अल मायादीनकी रिपोर्टर फातिमा फ्टौनीको सवारीसाधनमा प्रहार हुँदा मृत्यु भएको जनाएको छ । लेबननका सूचनामन्त्री पल मोरकोसले पछि फ्टौनीका भाइ क्यामेराम्यान मोहम्मदको पनि मृत्यु भएको बताएका छन् ।

इजरायली सेनाले एक विज्ञप्तिमा शाइबलाई आतंककारी भन्दै लक्षित आक्रमणमा मारिएको बताएको छ । उसले शाइबलाई हिजबुल्लाहको गुप्तचर एकाइको हिस्सा भएको आरोप लगाउँदै उनले लेबननमा इजरायली सैनिकहरूको स्थानबारे रिपोर्टिङ गरेको दाबी गरेको छ ।

उक्त विज्ञप्तिमा शाइबमाथि इजरायली सैनिक र नागरिकविरुद्ध उक्साहट गरेको आरोप पनि लगाइएको छ तर अन्य पत्रकारहरूको बारेमा केही उल्लेख गरिएको छैन वा शाइब हिजबुल्लाहको गुप्तचर एकाइको सदस्य भएको दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण दिइएको छैन ।

अल मनारलाई नियन्त्रण गर्ने हिजबुल्लाहले शाइब आफ्नो कुनै पनि गुप्तचर एकाइको हिस्सा भएको कुरा अस्वीकार गरेको छ ।
‘शत्रुको झूटो दाबी उसको कमजोरी र अस्थिरताको अभिव्यक्ति बाहेक अरू केही होइन र यो यस अपराधको जिम्मेवारीबाट उम्किने हतास प्रयास हो,’ विज्ञप्तिमा भनिएको छ ।

लेबननी राष्ट्रपति जोसेफ आउनले ती पत्रकारहरूलाई आफ्नो व्यावसायिक कर्तव्य पूरा गर्ने नागरिकहरूको रूपमा वर्णन गरेका छन् ।

उनले एक्समा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो एउटा निर्लज्ज अपराध हो जसले सबै सन्धि र मान्यताहरूको उल्लंघन गर्छ जसको माध्यमबाट पत्रकारहरूले युद्धमा अन्तर्राष्ट्रिय संरक्षण पाउँछन् ।’

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता लेबनानमा ११ सय ८० भन्दा बढी मानिस मारिएका छन् । देशका अधिकारीहरूका अनुसार, उनीहरूले नागरिक र लडाकुहरूबीच भेद गर्दैनन् ।

अल मनारले शाइबलाई प्रतिरोध रिपोर्टिङको प्रतीक भनेर वर्णन गरेको छ । सम्पादकीय रूपमा हिजबुल्लाह, इरानका सहयोगी र समर्थकहरूसँग नजिक मानिने अल मायादीनले फातिमा फ्टौनीलाई उनको साहसी र निष्पक्ष रिपोर्टिङका लागि चिनिने बताएको छ ।

हत्याको प्रतिक्रियामा रिपोर्टर्स विदाउट बोर्डर्सले सञ्चारकर्मीहरूले सामना गरिरहेको बढ्दो जोखिमको बारेमा हप्तौंदेखि चेतावनी दिइरहेको बताएको छ ।

यो हत्या अल मनारका लागि काम गर्ने लेबननी स्वतन्त्र पत्रकार हुसेन हमुदको मृत्युपछि भएको हो जसको बुधबार इजरायली हवाई आक्रमणमा मृत्यु भएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले एक्समा उल्लेख गरेको छ ।

फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता लेबनन, इरान र गाजामा कम्तीमा अन्य तीन रिपोर्टरहरू इजरायली वा संयुक्त अमेरिका–इजरायली हवाई आक्रमणमा मारिएका छन् भनी सीपीजेले बिहीबार बताएको छ । यसबारे प्रतिक्रियाको अनुरोधमा न त अमेरिकी सेनाले न त इजरायली सेनाले तुरुन्तै कुनै जवाफ दिए ।

अक्टोबर २०२४ मा दक्षिण लेबननी शहर हासबयामा केवल पत्रकारहरू बस्ने अतिथि गृहहरूको समूहमा इजरायली आक्रमण हुँदा अल मायादीनका दुई र अल मनारका एक पत्रकार मारिएका थिए जसले विश्वव्यापी निन्दा निम्त्याएको थियो ।