
एजेन्सी । इरानमाथि अमेरिका र इजरायलको आक्रमणले विश्वभरि मूल्यवृद्धि गराएको छ, विश्व अर्थतन्त्रको परिदृश्यलाई अन्धकारमय बनाएको छ, विश्व सेयर बजारलाई थला पारेको छ । विकासोन्मुख देशहरूलाई आफ्ना गरिब जनताको रक्षाका लागि इन्धन जोगाएर चलाउन तथा ऊर्जा लागतमा अनुदान दिन बाध्य पारेको छ ।
पर्सियाली खाडीका रिफाइनरी, पाइपलाइन, ग्यास क्षेत्र र ट्यांकर टर्मिनलहरूमा जारी आक्रमण र प्रत्याक्रमणले विश्वव्यापी आर्थिक पीडालाई महिनौं वा वर्षौंसम्म लम्ब्याउने खतरा बढाएको छ ।
‘एक हप्ता वा निश्चित रूपमा दुई हप्ताअघि मैले भनेको हुन्थें– युद्ध त्यही दिन रोकिएको भए यसको दीर्घकालीन असर निकै कम हुने थियो,’ म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका ऊर्जा अर्थशास्त्री क्रिस्टोफर निटेलले भने, ‘तर, अहिले हामीले पूर्वाधारहरू नै ध्वस्त भएको देखिरहेका छौं जसको अर्थ यस युद्धको प्रभाव दीर्घकालीन हुनेछ ।’
इरानले कतारको रास लफान प्राकृतिक ग्यास टर्मिनलमा आक्रमण गरेको छ जसले विश्वको २० प्रतिशत तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन गर्छ । मार्च १८ को आक्रमणले कतारको १७ प्रतिशत एलएनजी निर्यात क्षमता नष्ट गरिदिएको छ र यसको मर्मत गर्न पाँच वर्षसम्म लाग्ने सरकारी स्वामित्वको कतार इनर्जीले जनाएको छ ।
युद्धले सुरुदेखि नै तेल संकट निम्त्याएको छ । इरानले फेब्रुअरी २८ मा अमेरिका र इजरायली आक्रमणको जवाफमा विश्वको २० प्रतिशत तेल ओसारपसार हुने हर्मुज जलयोजक भएर जाने ट्यांकरहरूलाई धम्की दिँदै यो मार्ग प्रभावकारी रूपमा बन्द गरिदियो ।
कुवेत र इराक जस्ता खाडीका तेल निर्यातकहरूले उत्पादन कटौती गरे किनभने जलयोजकमा पहुँच नभई उनीहरूको तेल जाने ठाउँ थिएन । दैनिक २ करोड ब्यारल तेलको क्षतिलाई अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्व तेल बजारको इतिहासमै सबैभन्दा ठूलो आपूर्ति अवरोध भनेको छ ।
शुक्रबार ब्रेन्ट क्रुड आयलको मूल्य ३.४ प्रतिशतले बढेर १०५.३२ डलर प्रति ब्यारल पुग्यो । युद्ध सुरु हुनुअघि यो करिब ७० डलर थियो । बेन्चमार्क अमेरिकी कच्चा तेल ५.५ प्रतिशतले बढेर ९९.६४ डलर प्रति ब्यारल पुग्यो ।
‘ऐतिहासिक रूपमा यस्ता तेल मूल्य संकटले विश्वव्यापी मन्दी निम्त्याएका छन्,’ निटेलले भने ।
युद्धले सन् १९७० को दशकको तेल संकटको एउटा खराब आर्थिक सम्झना पनि ताजा गराइदिएको छः स्ट्यागफ्लेसन (उच्च मुद्रास्फीति र न्यून आर्थिक वृद्धिको अवस्था) ।
विश्व बैंककी पूर्व मुख्य अर्थशास्त्री तथा हार्वर्ड केनेडी स्कूलकी कार्मेन रेनहार्टले भनिन्, ‘तपाईंले उच्च मुद्रास्फीति र न्यून वृद्धिको जोखिम बढाइरहनुभएको छ ।’
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की पूर्व मुख्य अर्थशास्त्री गीता गोपीनाथले हालै लेखेअनुसार, सन् २०२६ मा तेलको मूल्य औसत ८५ डलर प्रति ब्यारल भएमा युद्धअघि ३.३ प्रतिशत रहने अनुमान गरिएको विश्वव्यापी आर्थिक वृद्धिदर ०.३ देखि ०.४ प्रतिशतले कम हुनेछ ।
दुई प्रमुख मलहरू युरियाको एक–तिहाइ र अमोनियाको एक–चौथाइ निर्यातमा पर्सियाली खाडीको ठूलो हिस्सा छ । यस क्षेत्रका उत्पादकहरूलाई एउटा फाइदा छः नाइट्रोजन मलका लागि मुख्य कच्चा पदार्थ मानिने सस्तो प्राकृतिक ग्यासमा उनीहरूको सहज पहुँच ।
विश्वको ४० प्रतिशत नाइट्रोजन मल निर्यात हर्मुज जलयोजक भएर जान्छ ।
अहिले यो मार्ग बन्द भएपछि युद्ध यता युरियाको मूल्य ५० प्रतिशत र अमोनियाको २० प्रतिशतले बढेको छ । ठूलो कृषि उत्पादक ब्राजिल विशेषगरी जोखिममा छ किनभने यसले आफ्नो ८५ प्रतिशत मल आयातबाट प्राप्त गर्छ, अल्पाइन म्याक्रोकी वस्तु रणनीतिकार केली सुले एक टिप्पणीमा लेखेकी छन् । इजिप्ट आफैंमा ठूलो मल उत्पादक भए पनि यसलाई उत्पादनका लागि प्राकृतिक ग्यास चाहिन्छ र पर्याप्त ग्यास नपाउँदा उत्पादन ठप्प हुन्छ ।
अन्ततः, मलको उच्च मूल्यले खाद्यान्न महँगो बनाउने सम्भावना छ र किसानहरूले मलमा कटौती गर्दा उत्पादन कम भई अभाव हुन सक्छ । खाद्यान्न आपूर्तिको यस चापले गरिब देशका परिवारहरूलाई सबैभन्दा बढी असर गर्नेछ ।
युद्धले हेलियमको विश्वव्यापी आपूर्तिमा पनि अवरोध पुर्याएको छ जुन प्राकृतिक ग्यासको सह–उत्पादन हो र चिप निर्माण, रकेट तथा मेडिकल इमेजिङमा महत्त्वपूर्ण हुन्छ । कतारले रास लफान केन्द्रमा हेलियम बनाउँछ र विश्वको एक–तिहाइ हेलियम आपूर्ति गर्छ ।
‘यो संकट यसै दिशामा अघि बढिरह्यो भने कुनै पनि देश यसको प्रभावबाट अछुतो रहने छैन,’ अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख फातिह बिरोलले मार्च २३ मा भने ।
गरिब देशहरू सबैभन्दा बढी प्रभावित हुनेछन् र ऊर्जाको ठूलो अभाव सामना गर्नेछन् किनभने बाँकी रहेको तेल र प्राकृतिक ग्यासका लागि प्रतिस्पर्धा गर्दा उनीहरू पछि पर्नेछन्, फेडरल रिजर्भ बैंक अफ डलासका ऊर्जा र अर्थतन्त्र केन्द्रका निर्देशक लुट्ज किलियनले भने ।
एशिया विशेषगरी जोखिममा छ । हर्मुज जलयोजक भएर जाने ८० प्रतिशतभन्दा बढी तेल र एलएनजी त्यहीँ जान्छ ।
फिलिपिन्समा सरकारी कार्यालयहरू अहिले हप्तामा चार दिन मात्र खुल्छन् र कर्मचारीहरूले एयर कन्डिसनिङ ७५ डिग्री फारेनहाइट भन्दा कममा चलाउन पाउँदैनन् । थाइल्यान्डमा सार्वजनिक कर्मचारीहरूलाई लिफ्टको सट्टा सिँढी प्रयोग गर्न भनिएको छ ।
भारत खाना पकाउन प्रयोग गरिने तरल पेट्रोलियम ग्यासको विश्वकै दोस्रो ठूलो आयातक हो । भारत सरकारले सीमित आपूर्तिको बाँडफाँट गर्दा व्यवसायहरू भन्दा घरधुरीलाई प्राथमिकता दिइरहेको छ र गरिब परिवारका लागि लागत कम राख्न मूल्यवृद्धिको धेरैजसो भार आफैंले बेहोरिरहेको छ ।
तर, एलपीजीको अभावले केही भोजनालयहरूलाई समय घटाउन, अस्थायी रूपमा बन्द गर्न वा धेरै ऊर्जा खपत हुने करी र गहिरो तेलमा तारिएका परिकारहरू हटाउन बाध्य पारेको छ ।
ऊर्जा आयातमा निर्भर दक्षिण कोरियाले सार्वजनिक कर्मचारीहरूले प्रयोग गर्ने कारहरूमा प्रतिबन्ध लगाएको छ र सन् १९९० को दशकमा हटाइएको इन्धनको मूल्य सीमा पुनः लागू गरेको छ ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका केही हदसम्म सुरक्षित छ । अमेरिका तेल निर्यातक भएकाले यसका ऊर्जा कम्पनीहरूले उच्च मूल्यबाट लाभ उठाउन सक्छन् । अमेरिकामा एलएनजीको मूल्य अन्य ठाउँको तुलनामा कम छ किनभने यसका निर्यात सुविधाहरू पहिले नै शतप्रतिशत क्षमतामा चलिरहेका छन् । अमेरिकाले अहिले गरिरहेको भन्दा बढी एलएनजी निर्यात गर्न सक्दैन । त्यसैले ग्यास स्वदेशमै रहन्छ जसले आन्तरिक आपूर्ति प्रशस्त र मूल्य स्थिर राख्छ ।
तैपनि, ग्यासोलिनको उच्च मूल्यले उच्च जीवनस्तरको लागतबाट पहिले नै त्रसित अमेरिकी उपभोक्ताहरूलाई मार पारिरहेको छ । एएएका अनुसार, एक महिनाअघि २.९८ डलर रहेको एक ग्यालन ग्यासोलिनको औसत मूल्य बढेर झण्डै ४ डलर पुगेको छ ।
मुडीज एनालिटिक्सका मुख्य अर्थशास्त्री मार्क जान्डी र उनका सहकर्मीहरूले एक टिप्पणीमा लेखेका छन्, ‘पम्पमा बढी पैसा तिर्नुपर्ने कुराले भन्दा बढी उपभोक्ताको मनोविज्ञानमा अरू कुनै कुराले भारी पार्दैन ।’
अमेरिकी अर्थतन्त्रले पहिले नै कमजोरीका संकेतहरू देखाइरहेको थियो । जुलाई–सेप्टेम्बरमा ४.४ प्रतिशत रहेको आर्थिक वृद्धि दर अक्टोबर–डिसेम्बरमा घटेर ०.७ प्रतिशत पुगेको छ । रोजगारदाताहरूले फेब्रुअरीमा अप्रत्याशित रूपमा ९२ हजार रोजगारी कटौती गरे र सन् २०२५ मा प्रति महिना मात्र ९७ सय रोजगारी थपे जुन सन् २००२ पछिको मन्दी बाहिरको सबैभन्दा कमजोर भर्ती हो ।
ईवाई–पार्थेननका मुख्य अर्थशास्त्री ग्रेगोरी डाकोले आगामी वर्षमा अमेरिकी मन्दीको सम्भावना ४० प्रतिशतसम्म पुर्याएका छन् । सामान्य अवस्थामा यो जोखिम १५ प्रतिशत मात्र हुन्छ ।
विश्व अर्थतन्त्रले महामारी, युक्रेनमा रुसको आक्रमण, पुनर्जीवित मुद्रास्फीति र त्यसलाई नियन्त्रण गर्न आवश्यक उच्च ब्याजदर जस्ता बारम्बारका झट्काहरूको सामना गर्दै लचिलोपन प्रमाणित गरेको छ ।
त्यसैले इरान युद्धको क्षतिलाई पनि यसले झेल्न सक्छ भन्ने आशा थियो । तर खाडीको ऊर्जा पूर्वाधारमा खतरा जारी रहँदा ती आशाहरू ओइलाउँदै गएका छन् ।
‘कतारको एलएनजी सुविधाहरूमा भएको केही क्षति मर्मत गर्न सम्भवतः वर्षौं लाग्नेछ,’ डलास फेडका किलियनले भने । उनले कुवेत जस्ता देशका रिफाइनरी र खाडीमा रहेका ट्यांकरहरूलाई पुनः व्यवस्थित गर्नुपर्ने र समुद्री इन्धन भर्नुपर्ने कुरा पनि उल्लेख गरे । ‘उत्कृष्ट परिस्थितिमा पनि पुनरुत्थानको प्रक्रिया सुस्त हुनेछ ।’
‘इरानसँगको द्वन्द्वबाट कुनै आर्थिक लाभ छैन,’ जान्डी र उनका सहकर्मीहरूले लेखेका छन् । ‘यस घडीमा प्रश्न यो मात्र हो कि यो शत्रुता अझै कति समयसम्म जारी रहन्छ र यसले कति आर्थिक क्षति पुर्याउँछ ।’








प्रतिक्रिया