
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सर्वोच्च अदालतमा ओलीकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छिन । शाक्यले ओलीलाई अनाधिकृत र गैरकानुनी रूपमा नियन्त्रणमा लिइएको दाबी गर्दै तत्काल रिहाइको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
अध्यक्ष ओलीलाई हिजो शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई आजै अदालतमा उपस्थित गराउने भनिएपनि स्वास्थ्य अवस्थाका कारण टिचिङ अस्पतालमै रहेका ओलीले अदालतमा भर्चुअल उपस्थिति देखाएका छन ।
शनिबार ओलीसँगै पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू दुवैलाई गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यस क्रममा भएको दमनको आरोपमा पक्राउ गरिएको सरकारको भनाइ छ ।
गृहमन्त्री सुधन गुरुङका अनुसार सो आन्दोलनमा भएको दमनबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको छानबिन र बुझाएको प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरिएको हो ।
अध्यक्ष ओलीको सचिवालय र एमाले पंक्तिले भने यो पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।








प्रतिक्रिया