ओली र लेखकको पक्राउ प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित : तरुण दल

126
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाको भत्र्सना गरेको छ ।

तरुण दलले सरकारले राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएर पक्राउ गरेको आरोप लगाएको छ।

विज्ञप्ति जारी गर्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले एकपक्षीय र दुराशयपूर्ण निर्णयहरूले लोकतान्त्रिक मूल्यमा ठाडो प्रहार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको बताएका छन् ।

तरुण दलले यस्ता कदमले अनावश्यक द्वन्द्व सिर्जना गर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न, विधि र प्रक्रियाअनुसार पारदर्शी तथा निष्पक्ष ढंगले अघि बढ्न र राजनीतिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ। साथै, देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी भएको पनि स्मरण गराएको छ।

तरुण दलले शान्ति, स्थिरता र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरूबीच सहकार्य र संवाद आवश्यक रहेको औंल्याउँदै राष्ट्रलाई अस्थिर बनाउने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने चेतावनी समेत दिएको छ ।