एमालेले डाक्यो सचिवालय बैठक, आजैदेखि आन्दोलन गर्ने बस्नेतको चेतावनी

756
Shares

काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो ।

सचिव महेश बस्नेतले अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिए ।

बालेन्द्र सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै उनले एमालेले संघर्षका कार्यक्रम थाल्ने र अबको योजनबारे निर्णय लिन बैठक बोलाइएको बताए ।

बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न एमालेले आजैदेखि आन्दोलन थाल्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले प्रदर्शनको कार्यक्रमबारे केही समयमा जानकारी गराउने जानकारी गराएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको उनको जिकिर छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको उनको भनाइ छ ।

‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ,’ बस्नेले भनेका छन् ।