नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

133
Shares

काठमाडौं । सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले उनीहरूकै निवासबाट नियन्त्रणमा लिएको छ।

भक्तपुरको गुण्डुस्थित निवासमा रहेका एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले शनिबार मध्यरातदेखि नै तयारी थालेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको टोलीले ओली निवासलाई रातभर घेरा हालेको थियो।

ओली सुतिसकेका कारण बिहान उठ्नेबित्तिकै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई आफ्नै निजी सवारी साधनमा राखेर महाराजगन्जस्थित प्रहरी प्रतिष्ठान पुर्‍याइएको छ। प्रहरी स्रोतका अनुसार, गृह मन्त्रालयले राति नै ओलीलाई पक्राउ गर्न लिखित आदेश जारी गरेको थियो। यसअघि प्रहरी आइजीपीको निवासमा गृहमन्त्री सुधन गुरुङसहितको उच्चस्तरीय बैठक बसेको थियो।

यसैगरी, पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि शनिबार बिहान ५.४० बजे भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको छ।

‘जेनजी आन्दोलन’ का क्रममा भएको ठूलो मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा लेखकमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

गृहमन्त्रीको हैसियतमा रहँदा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका नखेलेको र लापरवाही गरेको ठहर गर्दै उनलाई जरुरी पक्राउ पुर्जी बुझाएर सशस्त्र प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

दुवै नेताहरूलाई हाल प्रहरीको निगरानीमा राखिएको छ। आइतबारबाट उनीहरूमाथि आवश्यक कानूनी प्रक्रिया र थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। एकैसाथ दुई प्रभावशाली नेताहरूको गिरफ्तारीले मुलुकको राजनीतिमा नयाँ मोड आउने संकेत देखिएको छ।

आयोगले लेखकमाथि ‘फौजदारी हेलचेक्र्याइँ’ गरेको गम्भीर आरोप लगाएको छ। पक्राउ घटनाबारे वर्तमान बालेन सरकारको गृहमन्त्री सुदन गुरुङले आफ्नो फेसवुक पेजमार्फत पुष्टि गरेका छन् ।

गृहमन्त्री सुदन गुरुङले कानुनभन्दा कोहि माथि नरहेको भन्दै पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’