
काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ । शुक्रबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायतका चार निर्णय गरेको हो ।
जसअनुसार आयोगले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ ।
यस्तै, नेपाल सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने र –सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ । यद्यपि, कार्यसूची भने शनिबार सार्वजनिक गर्ने बताइएको छ ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन दुई ढंगमा गर्ने निर्णय पनि सरकारले गरेको छ ।
पहिलो उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने कार्यान्वयन गर्ने र दोस्रोमा अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय सरकारबाट भएको छ ।








प्रतिक्रिया