राजनीति सुरु गरेको ३ महिनामै सत्ताको बागडोर, बालेनसँगै रास्वपा छिरेका ४ सारथि बने मन्त्री

1.1k
Shares

काठमाडौं । सक्रिय राजनीति सुरु गरेको तीन महिनामै बालेन्द्र शाह (बालेन) सत्ताको बागडोर सम्हाल्न सफल भएका छन् । गत पुस पहिलो साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका शाहलाई रास्वपाले वरिष्ठ नेता बनाएसँगै प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिएको थियो ।

बालेनसँगै रास्वपा छिरेका चार सारथि पनि मन्त्री बनेका छन् । नेपालको राजनीतिमा अप्रत्याशित परिवर्तन ल्याउँदै प्रधानमन्त्री बनेका बालेनको मन्त्रिमण्डलमा छोटो समयको राजनीतिबाटै मन्त्री बन्न सुधन गुरुङ, सुनिल लम्साल, गणेश पौडेल र सस्मित पोखरेल सफल भएका हुन् ।

प्रधानमन्त्री शाह अन्तरिम सरकार त्यागेर पाँच वर्षे कार्यकाल रोज्ने नेतासमेत बनेका छन् । शाह यसअघि काठमाडौं महानगरपालिकाका मेयरका रूपमा अप्रत्याशित रूपमा उदाएका व्यक्ति समेत हुन् । शाह मेयरको कार्यकाल बाँकी छँदै राष्ट्रिय राजनीतिमा फड्को मारेका व्यक्ति हुन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनले सिर्जना गरेको राजनीतिक परिस्थितिमा उनलाई चुनावी सरकारको अन्तरिम प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो । तर, शाहले अल्पकालीन सरकार चलाउनुभन्दा निर्वाचनमार्फत जनमत लिएर पाँच वर्ष नै सरकार चलाउनु उचित ठाने र सफल हुने बाटो पहिल्याए ।

बालेन पुस दोस्रो साता रास्वपाको वरिष्ठ नेताका रूपमा पार्टी प्रवेश गरेपछि माघदेखि सक्रिय राजनीतिमा होमिएका थिए । रास्वपाले उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाँदा देशभर बालेन लहर बनेको थियो ।

पुस पहिलो साता रास्वपा प्रवेश गरी माघदेखि सक्रिय राजनीतिमा लागेका यी युवाहरूको टोलीले फागुन २१ को निर्वाचन जितेर चैतमा सरकारको बागडोर सम्हाल्नुलाई नेपाली राजनीतिको एक ऐतिहासिक मोड मानिएको छ ।

बालेन शाहको नेतृत्वमा रहेको यो सरकारबाट आम नागरिकले “विज्ञता र युवा जोस” को समिश्रणमार्फत आमूल परिवर्तनको अपेक्षा गरेका छन् ।

सुधन गुरुङ: गृहमन्त्री

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित ३८ वर्षीय सुधन गुरुङले मुलुकको आन्तरिक सुरक्षा र प्रशासनको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय सम्हाल्न सफल भएका गुरुङ ‘हामी नेपाल’ मार्फत सामाजिक सेवामा सक्रिय थिए । गुरुङ भदौ २३ को जेनजी आन्दोलनका एक प्रमुख पात्र थिए ।

बालेन शाह र रवि लामिछानेबीच संवाद गराउन सेन्ट्रीसम्म बसेर समन्वयकारी भूमिका खेलेका गुरुङले निर्वाचनका बेला गृहमन्त्री हुने सर्तमा मात्रै चुनाव लडेको बताएका थिए ।

राजनीतिमा लागेर राज्यको तलब–सुविधा नलिने घोषणा गरेका गुरुङले बालेन शाहसँगै पुसमा रास्वपा प्रवेश गरी छोटो समयमै गृह प्रशासनको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

खडक राज पौडेल (गणेश): पर्यटन तथा संस्कृति मन्त्री

पोखराका प्रखर लेखक तथा चिन्तक गणेश पौडेल बालेन शाह नेतृत्वको मन्त्रिमण्डलमा पर्यटन तथा संस्कृति मन्त्री बनेका छन् । रास्वपाबाट कास्की–१ मा ३९ हजार ८८३ मतका साथ विजयी भएका पौडेल पोखरा मझेरीपाटनका बासिन्दा हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका उनी ‘पैताला’ र ‘मुसा मानुस’ जस्ता कृतिका लेखक हुन् ।

२०७९ को स्थानीय निर्वाचनमा लौरो चिह्न लिएर पोखराको मेयरमा पराजित भए पनि उनले काठमाडौंमा बालेन शाहलाई निकै नजिकबाट सहयोग गरेका थिए । पुस पहिलो साता बालेनसँगै रास्वपा प्रवेश गरेका पौडेलले छोटो समयमै पर्यटन मन्त्रालयको कमान सम्हाल्ने अवसर पाएका छन् ।

सुनिल लम्साल: भौतिक पूर्वाधार तथा यातायात मन्त्री

रुपन्देही क्षेत्र नं. १ बाट ५४ हजार ८४५ मतसहित निर्वाचित सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बनेका छन् । रास्वपाका महामन्त्री समेत रहेका ३५ वर्षीय लम्साल पेसाले स्ट्रक्चरल इन्जिनियर हुन् ।

बालेन शाह काठमाडौंको मेयर हुँदा उनका पूर्वाधार सल्लाहकारका रूपमा कार्यरत लम्सालले फोहोर व्यवस्थापन र सहरी पूर्वाधारमा विज्ञता हासिल गरेका छन् ।

काठमाडौं विश्वविद्यालयमा फोहोर व्यवस्थापनमा विद्यावारिधि गरिरहेका लम्साल पुस पहिलो साता रास्वपा प्रवेश गरी माघदेखि राजनीतिमा सक्रिय भएका थिए । उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला आयोजनामा काम गरेको अनुभवलाई अब मन्त्रालयको नेतृत्वमा प्रयोग गर्नेछन् ।

सस्मित पोखरेल: शिक्षा मन्त्री

कानुन र नीति निर्माणमा दख्खल राख्ने २९ वर्षीय सस्मित पोखरेल बालेन शाहको टिमबाट शिक्षा मन्त्री नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयबाट कानुन र व्यवस्थापनमा स्नातक गरेका उनी सुशासन र भ्रष्टाचार निवारणमा स्नातकोत्तर गर्दैछन् ।

१८ वर्षको उमेरदेखि नै विवेकशील अभियानमा जोडिएका सस्मितले २०७९ को चुनावमा बालेन शाहको चुनावी घोषणापत्र लेखन र अभियानमा मुख्य भूमिका खेलेका थिए ।

बालेनसँगै पुसमा रास्वपा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका पोखरेलले छोटो समयमै शिक्षा क्षेत्रको नीतिगत सुधार गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।