
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै सम्पन्न आम निर्वाचनको परिणामलाई ‘जादुमय’ र ‘अस्वाभाविक’ को संज्ञा दिएका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले निर्वाचन प्रक्रिया र यसको नतिजा सोचेभन्दा फरक र अपत्यारिलो रहेको बताए । ‘यो निर्वाचन परिणाम अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ,’ ओलीले भने, ‘अहिले नै यसको विस्तृत टिप्पणी गर्ने बेला त भएको छैन, तर परिणाम निकै रहस्यमय देखिएको छ ।’
एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई रोक्न विरोधीहरूले देशमा कुप्रचार र घृणाको राजनीति फैलाएको आरोप उनले लगाए । उनले एमाले विरुद्ध भ्रम छर्नेहरूलाई विभिन्न शक्तिहरूको सहयोग रहेको दाबी गरे । ‘हाम्रा उद्देश्यका विरोधीहरूले एमालेको गन्तव्यलाई बिगार्न निकै ठूलो कसरत गरे । घृणाको राजनीति गर्नेहरूलाई धेरैतिरको सहयोग प्राप्त भयो, जसका कारण परिणाममा प्रभाव पर्यो,’ अध्यक्ष ओलीले भने ।
नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिँदै अध्यक्ष ओलीले संख्याभन्दा पनि सत्यको पक्षमा उभिन आग्रह गरे । महाभारतको प्रसंग उल्लेख गर्दै उनले कौरवको सेना असाधारण र ठूलो थियो, पाण्डवको सेना थोरै थियो । तर अन्त्यमा नतिजा सत्यकै पक्षमा आयो । उनले एमाले सांसदलाई सत्यको पक्षमा रहेको र नतिजा अन्ततः आफ्नै पक्षमा आउने दाबी गरे ।
ओलीले एमालेका सांसदहरूलाई देश, जनता, सुशासन र विकासका लागि दत्तचित्त भएर लाग्न निर्देशन दिए । एमालेले सधैं शान्ति र विकासको मार्ग पछ्याउने भन्दै उनले सांसदहरूलाई संसद्मा जनताका मुद्दाहरू प्रभावकारी रूपमा उठाउन समेत आग्रह गरे ।








प्रतिक्रिया