इरान युद्ध पतन हुँदै गएको अमेरिकी साम्राज्य जोगाउने प्रयास हो ?

168
Shares

एजेन्सी । इरानसँग अमेरिकाको युद्ध आतंकवाद वा आणविक हतियारको बारेमा होइन ।

यो एक व्यापारिक मार्ग आईमेक (भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर) सुरक्षित गर्ने खेल हो जुन विश्वव्यापी आपूर्ति शृंखलालाई चीनको वरिपरिबाट अन्तै सार्न, चीनको ऊर्जा आपूर्ति रोक्न, भारतलाई नयाँ कारखानाको रूपमा स्थापित गर्न र पश्चिम एसियालाई अमेरिका–इजरायल नियन्त्रित पूर्वाधार सञ्जालमा बाँध्नका लागि डिजाइन गरिएको हो ।

इरानमा खसिरहेका बमहरू आणविक हतियारका लागि होइनन् । ती आईमेक भनिने व्यापारिक करिडोर भारत–मध्यपूर्व–युरोप आर्थिक कोरिडोर र त्यस पूर्वाधारका लागि हुन् जसले आगामी पुस्ताका लागि विश्वव्यापी ऊर्जा, डाटा र आपूर्ति शृंखला कसले नियन्त्रण गर्ने भन्ने कुरा निर्धारण गर्नेछ ।

आईमेक चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विकल्प मात्र होइन । यो युरेशियन व्यापारको प्राकृतिक भूगोललाई रोक्न र व्यापारिक प्रवाहलाई पश्चिमी नियन्त्रणका रणनीतिक नाकाहरूबाट जान बाध्य पार्न डिजाइन गरिएको एक प्रतिस्थापन संरचना हो ।

भूगोललाई विचार गर्नुहोस् । इरान इन्टरनेशनल नर्थ–साउथ ट्रान्सपोर्ट करिडोर (जसले रुसलाई भारतसँग जोड्छ), मिडल करिडोर (चीन–मध्य एशिया–टर्की–युरोप) र प्रत्यक्ष चीन–इरान रेल र ऊर्जा सम्पर्कको मिलनविन्दुमा छ । यी मार्गहरूले डलर प्रणाली र अमेरिकी सैन्य निगरानी दुवैलाई छल्ने चुनौती दिन्छन् ।

आईमेकले इजरायली बन्दरगाह, संयुक्त अरब अमिरात (यूएई) का लजिस्टिक हब र भारतीय उत्पादन केन्द्रहरू भएर जाने समानान्तर सञ्जाल बनाएर यसको समाधान निकाल्छ जहाँ प्रत्येक केन्द्र अमेरिकी सहयोगीहरूको नियन्त्रणमा वा अमेरिकी सुरक्षा ग्यारेन्टीमा निर्भर हुन्छन् ।

जेरेड कुश्नरको ४.६ अर्ब डलरको एफिनिटी पार्टनर्स कोष यस रणनीतिको वित्तीयकरणको उदाहरण हो । खाडीको पुँजी इजरायली प्रविधि र भारतीय श्रममार्फत युरोपेली बजारमा पुग्छ जसले राजनीतिक तालमेललाई बलियो बनाउँदै नाफा कमाउँछ ।

यसलाई सम्भव बनाउने अब्राहम सम्झौता कहिल्यै शान्ति सम्झौता थिएनन् । ती लगानी–स्तरका जोखिम उपकरणहरू थिए जसले कब्जा गरिएका क्षेत्रहरूलाई अन्तर्राष्ट्रिय पुँजीका लागि व्यवहार्य सम्पत्तिमा परिणत गरे ।

गाजाको प्राविधिक पुनर्निर्माण यही मोडलमा फिट हुन्छ । एक नरसंहारकारी युद्धले ठाउँ खाली गराउँछ र विकासले त्यसलाई लगानीकर्ता–नियन्त्रित क्षेत्रहरूले भर्छ जहाँ प्यालेस्टाइनी सार्वभौमसत्तालाई प्राविधिक जनादेशद्वारा शासित विशेष आर्थिक क्षेत्रहरूले प्रतिस्थापन गर्छ ।

यो पुनर्निर्माण होइन । यो ईएसजी ब्रान्डिङ गरिएको घरजग्गा उपनिवेशवाद हो ।

तर, आईमेकको एउटा घातक कमजोरी छ । यसको पूर्वी समुद्री मार्ग हर्मुज जलयोजकबाट जान्छ जुन ३३ किलोमिटरको साँघुरो नाका हो र इरानले यसलाई जुनसुकै बेला बन्द गर्न सक्छ । इरानलाई निष्क्रिय नपारी यस करिडोरले काम गर्न सक्दैन ।

२८ फेब्रुअरी २०२६ मा सुरु गरिएको अपरेशन एपस्टीन फ्युरी कुनै आकस्मिक आक्रमण थिएन । यो पहिले नै डिजाइन गरिएको पूर्वाधार योजनाको सैन्य चरण थियो । सन् २०२० मा जेरेड कुश्नरले इजरायल र खाडी देशहरूबीच गराएको अब्राहम सम्झौताले राजनीतिक गठबन्धन बनायो ।

इरानमाथिको युद्ध सैन्य अवरोध हटाउने प्रयास हो । आईमेक यसको व्यापारिक प्रतिफल हो । यी अलग–अलग घटना होइनन् । यी क्रमबद्ध रणनीति हुन् ।

कुश्नरले ट्रम्पको शान्ति बोर्डमार्फत पुनर्निर्माणको योजना बनाइसकेका छन् । गाजाका लागि उनको प्राविधिक प्रशासन जुन नयाँ बन्दरगाह र विमानस्थलसहितको दुबई जस्तै एन्क्लेभ हुनेछ । त्यसले उक्त क्षेत्रलाई आईमेकको भूमध्यसागरीय विस्तारमा परिणत गर्छ । उनले कूटनीतिक रूपरेखा तयार गरे, आफ्नै कम्पनीका लागि खाडीका सोभरेन वेल्थ फन्डबाट ३.५ अर्ब डलर जुटाए र अहिले यस करिडोरको मुख्य केन्द्रको शासनको रेखदेख गरिरहेका छन् । नीति, वित्त र युद्ध सबै एउटै निर्बाध चक्रमा छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरी २०२६ मा इजरायली नेसेटमा दिएको सम्बोधनका क्रममा इजरायललाई पितृभूमि र भारतलाई मातृभूमि भनेका थिए । इरानमाथि समन्वयात्मक आक्रमण हुनु केही दिन अघि मात्र उनको भ्रमण भएको थियो ।
यस पारिवारिक रूपकले उदीयमान श्रेणीबद्धतालाई प्रकट गर्छ । इजरायलले सुरक्षा छाता र पश्चिमबाट स्वीकृतिप्राप्त प्रवेशद्वार प्रदान गर्छ । भारतले श्रम शक्ति र सस्तो उत्पादन प्रदान गर्छ ।

भारत आईमेकको पूर्वी खम्बा हो । अडानी पोर्ट्सको स्वामित्वमा हाइफा (इजरायल) छ र उसले भारतको पश्चिमी तटमा वधावन बन्दरगाह विकास गर्दैछ । नयाँ दिल्लीलाई पश्चिमी आपूर्ति शृंखलामा चीनलाई प्रतिस्थापन गर्न सस्तो उत्पादन केन्द्रको रूपमा राखिँदैछ ।

तर, भारतलाई चीनलाई दिए जस्तो व्यापार र प्रविधिमा पहुँच नदिने अमेरिकाले संकेत गरिसकेको छ । वाशिङटनले बेइजिङसँगको शीतयुद्धपछिको संलग्नतालाई एउटा गल्तीको रूपमा हेरेको छ । त्यसले एक प्रतिद्वन्द्वी खडा ग-यो ।

त्यसैले भारतले इजरायलसँगको तालमेल र युद्ध क्षेत्रसँगको निकटताका रूपमा भूराजनीतिक जोखिम पाउँछ । तर, त्यो संरचनात्मक आर्थिक उत्थान पाउँदैन जसले चीनको मध्यम वर्ग निर्माण गरेको थियो ।

इजरायल–अमेरिकी नेतृत्वको गठबन्धनले यो आक्रमण जित्यो भने के हुन्छ ?

वाशिङटनको दृष्टिकोणबाट इरान विरुद्धको युद्ध जित्नु र आईमेकलाई स्थापित गर्नुले धेरै लक्ष्यहरू एकैसाथ पूरा गर्नेछ । यसले चीनको मुख्य ऊर्जा आपूर्तिकर्तालाई कमजोर बनाउनेछ, एक प्रमुख ब्रिक्स–सम्बद्ध खेलाडीलाई सीमित गर्नेछ र खाडीको निर्यातलाई अमेरिकी–सम्बद्ध पूर्वाधारमार्फत मोड्नेछ जहाँ वित्त, बीमा र मापदण्डहरू डलरमा आधारित हुनेछन् ।

यसले पेट्रोडलरलाई जोगाउन मद्दत गर्छ, प्रतिद्वन्द्वीहरूको ऊर्जा सार्वभौमसत्तालाई खण्डित गर्छ र ऊर्जा सुरक्षालाई अमेरिकाले मूल्य तोक्न र निगरानी गर्न सक्ने अधिकारमा परिणत गरेर सहयोगीहरूको निर्भरतालाई अझ गहिरो बनाउँछ ।

त्यस्तो संसारमा ब्रिक्स प्लसका लागि समानान्तर युआन वा स्थानीय मुद्रामा आधारित ऊर्जा प्रणाली निर्माण गर्न गाह्रो हुनेछ किनकि मुख्य पाइप र बन्दरगाहहरू पश्चिमी बैंक र नियमहरूमा बाँधिएका हुनेछन् । सस्तो रुसी ग्यासबाट पहिले नै काटिएको युरोप अमेरिकी–स्वीकृत मध्यपूर्वी मार्गहरूमा अझ बढी बाँधिनेछ जसले कृत्रिम अभाव र स्थायी सुरक्षा जोखिमको वातावरणमा एकाधिकार शुल्क तिर्नुपर्नेछ ।

चीनले उच्च ऊर्जा लागत, बढ्दो उत्पादन लागत र कमजोर खाडी आपूर्ति मार्गहरूको सामना गर्नुपर्नेछ, ठ्याक्कै त्यही समयमा जब उसले आन्तरिक आर्थिक समस्याहरूसँग लड्दै आफ्नै प्रविधि र औद्योगिक सुधारका लागि पैसा जुटाउने प्रयास गरिरहेको हुनेछ ।

यो अमेरिकी जीतको परिदृश्य हो भने अमेरिकी हारको संस्करण धेरै फरक देखिन्छ ।

अमेरिकी हारका स्पष्ट परिणामहरू तत्काल र परिवर्तनकारी हुनेछन् । पहिलो, आईमेक रातारात समाप्त हुनेछ । एक लचिलो इरानले ढुवानीलाई खतरामा पार्न वा क्षेत्रीय पूर्वाधारमा आक्रमण गर्न पर्याप्त सैन्य र राजनीतिक क्षमता कायम राख्छ ।

उसले आईमेकलाई नियन्त्रणको माध्यमबाट जोखिमको माध्यममा परिणत गरिदिनेछ । लगानीकर्ताहरूले यस कोरिडोरलाई स्थायी युद्ध क्षेत्रभित्र देख्नेछन् । बीमा शुल्क बढ्नेछ, जहाजहरूले बाटो मोड्नेछन् र चीन–सम्बद्ध मार्गहरूको स्वच्छ र सुरक्षित विकल्पको रूपमा देखाइएको यो चित्र अर्को एउटा अति–सैन्यीकृत वाचा मात्र साबित हुनेछ जसले कहिल्यै प्रतिफल दिँदैन र यसलाई लगानी अयोग्य एवं व्यापारिक रूपमा अप्रासंगिक बनाउनेछ ।

दोस्रो, पेट्रोडलरको पतन नाटकीय रूपमा तीव्र हुनेछ । अमेरिकी सैन्य पराजयले यो प्रमाणित गर्नेछ कि उसले अब खाडी देशहरूको सुरक्षाको ग्यारेन्टी दिन सक्दैन । यसले गर्दा उनीहरूले डलरको प्रयोग घटाउने प्रयासलाई दोब्बर बनाउनेछन्, युआन र अन्य गैरडलर मुद्रामा तेलको व्यापार गर्नेछन् र ब्रिक्स प्लससँगको सम्बन्ध अझ गहिरो बनाउनेछन् ।

ब्रिक्स र समग्र ग्लोबल साउथका लागि यो नतिजा अल्पकालमा महँगो भए पनि वास्तवमा दीर्घकालीन बहुध्रुवीयताको पक्षमा बलियो हुनेछ । यसले अमेरिकी नियन्त्रणका नाकाहरूबाट टाढा जान विविधीकरणको प्रयासलाई तीव्र बनाउनेछ ।

एशियातर्फ बढी रुसी पाइपलाइन र समुद्री प्रवाह, गहिरो चीन–इरान र चीन–खाडी ऊर्जा सम्झौता र गैरडलर भुक्तानी प्रणालीहरूको थप प्रयोग हुनेछ । आईमेक एक स्थिर साम्राज्य–करिडोर बन्न असफल हुनु नै यस कुराको प्रमाण बन्नेछ कि किन अमेरिकी–नियन्त्रित पूर्वाधारमा बढी निर्भर हुनु एक रणनीतिक जोखिम हो, सुरक्षा नीति होइन ।

यसैबीच, युरोप दुवै अवस्थामा चेपुवामा पर्नेछ ।

एक निर्णायक अमेरिकी विजयले यसलाई अमेरिकी–केन्द्रित प्रणालीमा अझ गहिरो गरी बाँध्नेछ जहाँ ऊर्जा र प्रतिबन्ध नीतिहरू वाशिङटनमा बनाइनेछन् र युरोपले त्यसको बिल तिर्नेछ । एक भद्रगोल गतिरोध वा स्पष्ट अमेरिकी असफलताले युरोपेली राजधानीहरूलाई एउटा अप्ठ्यारो प्रश्नको सामना गर्न बाध्य पार्नेछ ।

सुरक्षित हुन नसक्ने अमेरिकी करिडोरमा दाउ लगाइरहने वा सावधानीपूर्वक विविधीकरणको ढोका फेरि खोल्ने जसमा बीआरआई र ब्रिक्स ऊर्जा कूटनीतिसँगको छनौटपूर्ण संलग्नता समावेश छ ।

चीनका लागि इरान र आईमेकलाई दोहोरो हतियारको रूपमा प्रयोग गर्ने अमेरिकी प्रयास असफल हुनु पीडादायी भए पनि सामना गर्न सकिने कुरा हो । बेइजिङको विविधीकरण अर्थात् रुसी तेल र ग्यास, अफ्रिकी र ल्याटिन अमेरिकी आपूर्ति, रणनीतिक भण्डार र घरेलु नवीकरणीय ऊर्जा यस्तै प्रकारको झट्काका लागि नै निर्माण गरिएको थियो ।

उसले अझै पनि उच्च मूल्य र कम नाफाको सामना गर्नुपर्नेछ तर ऊ संरचनात्मक रूपमा काटिने छैन । डलरभन्दा बाहिर व्यापार हुने प्रत्येक ब्यारल र दबाबमा बनाइएका प्रत्येक वैकल्पिक बाटाहरूले वाशिङटनले रक्षा गर्न खोजेको मौद्रिक शक्तिलाई नै कमजोर बनाउनेछन् ।

सरल भाषामा भन्नुपर्दा, वाशिङटनले ठूलो जीत हासिल गर्यो भने आईमेक एक नवीकृत र अझ कठोर अमेरिकी साम्राज्यको आधार बन्नेछ जहाँ पेट्रोडलर मजबुत हुनेछ, ब्रिक्स खण्डित हुनेछ र चीन चेपुवामा पर्नेछ ।

त्यसो भएन भने इरान र करिडोरको युद्धले अमेरिकी सीमा मात्र उजागर गर्ने छैन । यसले ग्लोबल साउथलाई यस्तो संसारतर्फ छिटो धकेल्नेछ जहाँ कुनै पनि एकल शक्तिले एक्लै ऊर्जाको नक्सा कोर्न सक्ने छैन ।

तत्कालको प्रश्न यो हो कि कसको पूर्वाधार सुरक्षित रहनेछ र के इजरायल वा अमेरिकाले आणविक हतियारको प्रयोगसम्मको स्थिति निम्त्याउनेछन् ।